• ५ जेठ २०८१, शनिबार

बाढीग्रस्त कागबेनीका विद्यार्थीको पठनपाठन अन्यौल

blog

बाढी पसेको विद्यालयक्षेत्र । फाइल तस्बिर

अमृतप्रसाद पौडेल

म्याग्दी, भदौ २ गते। साउन २८ गते राति आएको बाढीले क्षति पुगेको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीको जनशान्ति माध्यमिक विद्यालयको पठनपाठन कहिले सुरु हुने भन्ने अन्यौल भएको छ।

बाढीले भवनलगायतका भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएकोले पठनपाठन बन्द भएको शिक्षक प्रेम गौतमले जानकारी दिनुभयो। कागखोलामा आएको बाढीले जनशान्ति माध्यमिक विद्यालय, बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको ४ नम्बर वडा कार्यालय, प्रहरी चौकी, बैंक, धर्मशाला, गुम्बा, मन्दिर, सडक तथा मोटरेवल पक्की पुल, झोलुङ्गे पुल तथा काठको अस्थायी पुल बगाएको थियो। 

एक सय ९० जना विद्यार्थी आवासीय सुविधासहित अध्ययन गर्ने जनशान्ति माध्यमिक विद्यालयको खेलमैदान, कक्षाकोठा र छात्राबास भवनमा क्षति पुगेपछि पठनपाठन अवरुद्ध भएको हो। 

गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ का अध्यक्ष प्रमेश गुरुङले विद्यार्थीको पठनपाठन कहिलेबाट गर्ने कुनै टुंगो नरहेको बताउनुभयो। विद्यालय व्यवस्थापन समितिले बैठक बसेर २०८० भदौ ८ गतेसम्म विद्यालयमा पठनपाठन गर्न सक्ने अवस्था नरहेकोले त्यो समयसम्म बिदा दिने र त्यसपछि अन्य विकल्पको बारेमा विचार गर्ने जानकारी दिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले बताउनुभयो।

बाढीले विद्यालयको साढे दुई रोपनी करेसाबारी र शिक्षकले आवासका रूपमा प्रयोग गरेको भवनसमेत भत्काएको छ।