गर्छु नसकिने कार्य म
नभएको कोखमा जन्मिन्छु म ।
अर्पण प्रणय म कामिनी अज्ञानकन
लिन्छु चुम्बन लोपिएको रस अधरलाई ।
नजन्मेको छोरालाई माया गर्छु म,
मेरो रगतमा बन्दी भएकी
दुहिता अजातकन ।
नसुनेको सङ्गीत लाग्छ मधुर
नखिचिएको तस्बिर सुन्दर
नभएको मित्र अँगाली हिँड्छु म ।
म नभएको ठाउँ रमाइलो हुन्छ
र भोलिको उषा सबभन्दा गुलाफी
नदेखेको सपना सुन्दरतम
पर्सिको पूर्णिमा चहकिलो
नदेखेको स्वर्ग झिलिमिली
उठाउँछु बाहु कातर म
नभएको स्वर्गमा,
नभएको देवताकन
अन्धो नयनबाट
नचुहुने आँसु
चुहाउँछु म
नभएको खाडलमा गाडिन्छु म
नभएको मृत्युमा सेलाउँछु म
नगर्ने काम गरिहिँड्छु म ।
साभार : विश्वेश्वरप्रसाद कोइरालाका कविता (पृष्ठ ८६) लेखक तथा सम्पादक हरिप्रसाद शर्मा (साझा प्रकाशन,२०५९)