• १० मंसिर २०८१, सोमबार

सिटीलाई युइएफए सुपर कप उपाधि

blog

उपाधिसहित सिटीका खेलाडी । तस्बिर : एफपी

काठमाडौं, साउन ३२ गते । युइएफए सुपर कप फुटबलको उपाधि इङ्लिस क्लब म्यानचेस्टर सिटीले जितेको छ । बुधबार राति भएको फाइनल खेलमा सिटीले स्पेनिस ला लिगा क्लब सेभियालाई टाइब्रेकरमा ५–४ गोलले हरायो । 

गत सिजन च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कप जित्दै कीर्तिमानी ट्रेबल उपाधि जितेको सिटीको यो सिजनको पहिलो उपाधि हो । ग्रीसमा खेलिएको प्रतिस्पर्धात्मक फाइन्लमा सेभियाका नेमन्जा गुडेल्जको अन्तिम पेनाल्टी प्रहार बारमा लागेपछि सिटी भाग्यमानी बनेको थियो । 

निर्धारित समयमा सुरुवाती अग्रता सेभियाले लिएको थियो । २५औं मिनेटमा युसुफ एन नेसरीले गोल गर्दै सेभियाको उत्साह जगाउनुभयो । सिटीका कोल पाल्मरले ६३ओं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।

त्यसपछि टाइब्रेरमा धकेलिएको खेलमा सिटीका एर्लिङ हाल्यान्ड, जुलिअन अल्भारेज, माथेओ काभासिक, ज्याक ग्रेलिस र कप्तान केली वाल्कारले गोल गर्नुभयो । 

सेभियाका लुकास ओकाम्पोस, राफा मिर, इभान राकिटिक र गोन्जालो मान्टेइलले गोल गर्नुभयो । नेमान्जाको प्रहार बारमा लागेर फर्किएको थियो । एजेन्सी