• ११ जेठ २०८१, शुक्रबार

एसिया यु–२० रग्बी सेभेन्स यादगार बनाउने नेपालको लक्ष्य

blog

एसिया यु–२० रग्बी सेभेन्समा उपाधि जित्ने लक्ष्यका साथ तयारी गर्दै नेपाली खेलाडी । तस्बिर : गोरखापत्र

काठमाडौं, साउन ३० गते । नेपालले घरेलु मैदानमा आयोजना हुन लागेको एसिया यु–२० रग्बी सेभेन्समा उपाधि जित्ने लक्ष्यका साथ तयारी गरेको छ । आगामी भदौ १ गतेदेखि काठमाडाैँमा महिला र पुरुषको एसिया यु–२० रग्बी सेभेन्स सुरु हुँदैछ ।

उक्त प्रतियोगिताका लागि पछिल्लो डेढ महिनादेखि तयारी गरिरहेको नेपालका दुवै टोलीले उपाधि जित्ने लक्ष्यका साथ तयारीलाई तीव्रता दिइरहेका छन् । यही आयोजनालाई लक्षित गरेर नेपालका दुवै युवा टोलीले पोखरामा ४५ दिनको बन्द प्रशिक्षण पनि गरेका थिए । खेल आयोजना नजिकिएपछि काठमाडौँ फर्किए नेपाली टोलीले पछिल्लो तीन दिनदेखि दशरथ रङ्गशालामा अभ्यास गरिरहेका छन् ।

श्रीलङ्का र क्यानडामा दशकभन्दा बढी समय प्रशिक्षण गरिसकेका अनुभवी प्रशिक्षक सन विजेसिंघले नेपालका दुवै टोलीलाई यसै प्रतियोगिताका लागि तयार गरिरहेका छन् । पुरुषतर्फ नेपाल समूह ‘बी’ मा छ । प्रतियोगिताकै बलियो टोलीका रूपमा हेरिएको हङकङसहित यस समूहमा भारत र मलेसिया छन् । यो समूहमा विजेता बन्दै उपाधिको दाबेदारका रूपमा आफूलाई उभ्याउने लक्ष्य नेपालको छ । त्यसका लागि नेपाली खेलाडीले राम्रो तयारी पनि गरिरहेका छन् ।

महिलातर्फ भने राउण्ड रोविन लिगमा खेल हुनेछ । चार राष्ट्र सहभागी लिगको शीर्ष दुईमा रहँदै नेपाली महिला टोलीले पनि फाइनलमा पुग्ने लक्ष्य लिएको छ । महिलातर्फ २२ प्रारम्भिक टोलीको पोखरामा डेढ महिनाको प्रशिक्षणबाट १५ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो । पुरुषतर्फ पनि २९ सदस्यीय प्रारम्भिक टोलीबाट १६ सदस्यीय नेपाली टोलीले प्रतियोगितामा चुनौति प्रस्तुत गर्दैछ । पुरुषतर्फ पूर्वराष्ट्रिय खेलाडी विराट ऐडी र महिलामा सावित्री पुर्जाले श्रीलङ्काली प्रशिक्षक विजेसिंघेको प्रशिक्षण टोलीमा साथ दिँदै आउनुभएको छ ।

श्रीलङ्काली प्रशिक्षक विजेसिंघेले प्रतियोगिताका तयारीका लागि सङ्घले आवश्यक पक्षमा राम्रो काम गरेको र सोही अनुरूप खेलाडीले पनि मेहनत गरेकाले सुखद नतिजा ल्याउने बताउनुभयो ।

एसिया यु–१८ रग्बी सेभेन्स सफलतापूर्वक आयोजना गरेपछि नेपालसँग खुसी हुँदै एसिया रग्बीले दोस्रो ठुलो आयोजनाको जिम्मेवारी सुम्पिएको हो । विश्व रग्बीको पूर्ण सदस्यता प्राप्त गरेपछि नेपालले एसियाली रग्बीको ठुलो प्रतियोगिता नेपालमा आयोजना गर्दैछ । उक्त आयोजनालाई नतिजामुखी बनाउने नेपाली यु–२० पुरुष रग्बी टोलीका कप्तान रोहन डङ्गोलको विश्वास छ ।

दशरथ रङ्गशालामा नै भएको पछिल्लो यु–१८ संस्करण नेपाली महिला टोलीका लागि त्यति यादगार बन्न सकेको थिएन । छोटो र प्रभावकारी तयारी बिना नै पछिल्लो संस्करण खेलेको नेपाली महिला टोलीले यसपटक पर्याप्त समय पाएका छन् । त्यसैले पनि यसपटक एसिया यु–२० रग्बी सेभेन्स यादगार बनाउने नेपालको महिला यु–२० टोलीकी कप्तान प्रिया तामाङको विश्वास छ ।


उक्त प्रतियोगिताका लागि मङ्गलबारबाट विदेशी टोली नेपाल आएका छन् । प्रतियोगिताको आयोजनाको मिति नजिकिँदै गर्दा नेपालले पनि आफ्नो तयारी अन्तिम चरणमा पुर्‍याएको छ । नेपाल रग्बी सङ्घको अध्यक्ष दीपक देवकोटाले पनि सम्पूर्ण तयारी पूरा भइसकेको बताउनुभयो ।

लगातार एसियाको दुई ठुलो प्रतियोगिता सफलतापूर्वक आयोजना गर्दै एसिया रग्बीमा आफ्नो छाप छोड्ने लक्ष्य नेपाल रग्बी सङ्घको छ । साथै पर्याप्त प्राविधिक जनशक्तिमा कमजोर नेपाल यस प्रतियोगिताबाट त्यसको अभाव केही मात्र पूर्ति गर्ने योजनामा पनि छ । नेपालमा हुने रग्बीको यो ठुलो प्रतियोगितालाई सदुपयोग गर्दै हामी दक्ष प्राविधिकको उत्पादनमा समेत ध्यान दिएर सङ्घले काम गरिरहेको नेपाल रग्बी सङ्घका अध्यक्ष दीपक देवकोटाले बताउनुभयो ।

यो आयोजना लगत्तै नेपाल रग्बी सङ्घ एसियाको अर्को कार्यक्रम नेपालमा भित्र्याउने योजनामा छ । तर त्यसका लागि यो आयोजनाबाट एसिया रग्बी प्रभाव पार्ने सङ्घको विश्वास छ । साथै प्रतियोगितालाई पनि नतिजामुखी बनाउने सङ्घका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो ।

यो प्रतियोगितामा पछिल्लो संस्करण यु–१८ रग्बी सेभेन्सका विजेता संयुक्त अरब इमिरेट्स (युइर्ए) ले प्रतिस्पर्धा गरेको छैन । यद्यपि, यूथको प्रतिस्पर्धामा बलियो मानिएको हङकङ उपाधि जित्ने लक्ष्यका साथ आएको छ । मलेसियाले पनि बलियो दाबेदारी प्रस्तुत गर्ने लक्ष्य बनाएको छ ।