• २३ पुस २०८१, मङ्गलबार

नेपाली कांग्रेसको नवीन प्रयास, नीतिगत प्रतिस्पर्धाका लागि अवधारणापत्र आह्वान

blog

ललितपुर, साउन २९ गते । नेपाली कांग्रेसले युवालाई नीतिगत कार्यमा प्रतिस्पर्धात्मक रूपमा संलग्न गराउन अवधारणापत्र मागेको छ। कांग्रेसले युवालाई नीति निर्माण र छलफलमा सक्रिय रूपमा संलग्न गराउने, युवा र नीति निर्माण प्रक्रियाबिचको खाडल हटाउने उद्देश्यले नीति निर्माणसम्बन्धी प्रतिस्पर्धाका लागि सामूहिक रूपमा अवधारणापत्र आह्वान गरेको हो। 

सहमहामन्त्री जीवन परियारले सानेपास्थित कांग्रेस पार्टी मुख्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा नीति निर्माण रचनात्मक र प्रतिस्पर्धात्मक सहभागिता (पोलिसी ह्याकाथन) का लागि दुई वटा अवधारणापत्र माग गरिएको बताउनुभयो। 

उहाँले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा कांग्रेस केन्द्रीय कार्यालयले ‘गिग इकोनोमी’ र जलवायुसम्बन्धी कार्य ‘क्ल्याइमेट एक्सन’ मा पोलिसी ह्याकाथन आयोजना गरेको बताउनुभयो। उहाँका अनुसार पोलिसी ह्याकाथनमा सहभागी युवाले दुई वटा विषयमा नीतिगत मुद्दालाई पहिचान र सम्बोधन गर्न नवीन समाधान खोजी गर्ने अभिप्रायले कार्यक्रम आयोजना गरिएको हो। 

सहमहामन्त्री परियारले कार्यक्रममा विचार मन्थन गर्ने, आफूले उठान गरेका विषयको अवस्था विश्लेषण, नीतिगत समस्या र चुनौती, समाधानका उपाय समावेश हुने बताउनुभयो। 

उहाँका अनुसार नीतिविज्ञ, प्राज्ञ, अनुसन्धानकर्ता, प्राविधिक, डिजाइनर र स्वदेश वा विदेशमा बस्ने नेपाली विद्यार्थीलगायत विभिन्न पृष्ठभूमिका ४० वर्ष उमेरसम्मका तीनदेखि पाँच जनासम्म नेपाली नागरिकले टोली बनाएर भाग लिन सक्ने छन्।

उहाँले जलवायु परिवर्तनको असरबाट बढी जोखिममा परेकाले जलवायु परिवर्तनका कारण उत्पन्न अतिवृष्टि अनावृष्टिलगायतका अप्रत्यासित र अन्तरसम्बन्धित चुनौतीका कारण उत्पन्न जलवायुसम्बन्धी असरका सन्दर्भमा विमर्श हुने बताउनुभयो। 

कांग्रेसले जलवायु परिवर्तनका जोखिम न्यूनीकरण गर्न, यसका बाधा पार गरेर र प्रभावकारी कार्यान्वयन गर्न नीतिगत खाडल के छ र कस्ता रणनीति बढाएर नेपालले कसरी जलवायु वित्त पहुँच बढाउन सक्छ भन्ने सन्दर्भमा अवधारणापत्र मागेको छ। 

कसरी दिने आवेदन ?

राष्ट्रिय सभा सदस्य एवं कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आवेदकले दुई विषयमध्ये कुनै एकमा अवधारणापत्र पेस गर्नुपर्ने छ। उत्कृष्ट १० वटा नीतिपत्रलाई छनोट गरी निर्णायकले विजेता घोषणा गर्ने छन्। उहाँले शनिबारदेखि खुलेको आवेदन भदौ ३ गते बन्द हुने बताउनुभयो। उहाँका अनुसार भदौ ५ गते फाइनलका लागि १० टोली छनोट गरिने छ।

मुख्यसचिव पौडेलका अनुसार फाइनल भदौ ९ गते कांग्रेस केन्द्रीय कार्यालय सानेपामै हुने छ। उहाँले प्रथमलाई तीन लाख रुपियाँ, दोस्रोलाई एक लाख ५० हजार रुपियाँ र तेस्रो हुनेलाई ५० हजार रुपियाँ प्रदान गर्ने बताउनुभयो।