काठमाडौं, साउन २८ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासन कायम गर्न र सेवा प्रवाहलाई गुणस्तरीय बनाउन अब कुरा होइन काम गर्नुपर्ने बेला आएको बताउनुभएको छ । मन्त्रालय मातहतका सबै निकायलाई हरेक महिनाको प्रगति विवरणको ‘रिपोर्ट कार्ड’ बनाएर पेस गर्न पनि उहाँले निर्देशन दिनुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७९/०८० को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समितिको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो निर्देशन निर्देशन दिनुभएको हो । हाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत आम सञ्चार, सूचना प्रविधि, दूरसञ्चार, चलचित्र, मुद्रण र हुलाक सेवा गरी छ क्षेत्र तथा विभिन्न १८ वटा संस्थान र निकाय रहेका छन् ।
आफूले प्रधानमन्त्रीसँग हरेक महिना मन्त्रालयको प्रगति विवरण रिपोर्ट कार्डको रूपमा पेस गर्ने कार्य सम्पादन सम्झौता गरिसकेको उल्लेख गर्दै मन्त्री शर्माले भन्नुभयो, ‘‘मेरो कार्य सम्पादन भनेकै तपाईँहरूका क्षेत्र र निकायहरूबाट हुने हो, त्यसैले मन्त्रालय मातहतका सबै क्षेत्र र निकायलाई हरेक महिनाको प्रगति विवरण रिपोर्ट कार्डको रूपमा पेस गर्न आग्रह गर्दछु ।’’
गत आर्थिक वर्षमा मन्त्रालयको पुँजीगत खर्च ६० प्रतिशत पुग्न नसकेकोप्रति असन्तुष्टि व्यक्त गर्दै मन्त्री शर्माले आफैले बनाएका योजनाहरू किन कार्यान्वयन हुँदैनन् ? भनेर प्रश्न गर्नुभयो । ‘‘हामी जिम्मेवारीमा बसेका मान्छेहरूको पन्छिने बानी छ, यो राम्रो होइन । हरेक निकाय र जिम्मेवार अधिकारीहरूले आत्मसमीक्षा गरेर प्रगतिको मूल्याङ्कन गर्नुपर्छ ।,’’ मन्त्री शर्माले भन्नुभयो, ‘‘अरू कुनै कारण वा कसैले गर्दा भएन भन्न पाइँदैन । हामीले सबैले कसको कति कमजोरी हो खोजी गरौँ तर चालु आर्थिक वर्षमा बहानाबाजी गरेर पुँजीगत खर्च नबढाउने छूट हामी कसैलाई छैन ।’’
मन्त्री शर्माले हरेक निकायले आफूले गरेका कामलाई दस्तावेजीकरण पनि निर्देशन दिनुभयो । ‘‘हामीले निश्चित समय तोकेर काम गर्ने गरी माइलस्टोन बनाउँछौँ, ती त आधार मात्रै हुन् ।,’’ उहाँले भन्नुभयो, ‘‘माइलस्टोन मात्र पूरा गर्नुपर्छ भन्ने छैन, त्यसबाहेक पनि थुप्रै सिर्जनात्मक काम गर्न सकिन्छ, ती सबै कामको दस्तावेजीकरण गर्नुहोस्, त्यसका आधारमा तपाईँको थप मूल्याङ्कन पनि हुन्छ ।’’
पहिले आम सञ्चार क्षेत्रका काम बढी हुने बेलामा सञ्चार मन्त्रालय सरकारको प्रचार मन्त्रालयको रूपमा मात्र रहने गरेको भए पनि अहिले सञ्चारभन्दा बढी सूचना प्रविधिको काम थपिएकाले अब काम गर्ने र प्रचार गर्ने दुवै दायित्व यो मन्त्रालयसँग रहेको उहाँले स्पष्ट गर्नुभयो । अब सूचना प्रविधि नै नेपालमा सबैभन्दा धेरै राजश्व सङ्कलन गर्ने क्षेत्र बन्ने उल्लेख गर्नुहुँदै उहाँले यसका लागि पूर्वाधार र जनशक्ति विकासमा विशेष ध्यान दिनुपर्ने बेला आएको बताउनुभयो ।
‘‘अब आम सञ्चार क्षेत्रले प्रभावकारी प्रचार र सूचना प्रविधिको क्षेत्रले देशको समृद्धिका लागि डिपार्चर गर्नुपर्छ ।,’’ मन्त्री शर्माले थप्नुभयो, ‘‘सूचना प्रविधि क्षेत्रको विकासका लागि आवश्यक पर्छ भने नयाँ संरचना भए पनि बनाएर जाऔँ तर अब नेपालको डिपार्चर गर्ने क्षेत्र नै यही हो, यसमा ढिलासुस्ती गर्नु हुँदैन ।’’
मन्त्री शर्माले कर्मचारीहरूलाई राजनीतिक नेतृत्वसँग खुलेरै छलफल गर्न र पाएको जिम्मेवारी कार्यान्वयन गर्न पनि आग्रह गर्नुभयो ।
‘‘म के पाउँछु भने धेरै कर्मचारी साथीहरूले मन्त्रीका कुरा नकाटौँ भनेर जे भने पनि हुन्छ भन्ने तर काममा जागर नलगाउने प्रवृत्ति छ । सुझाव दिँदा पनि अड्कलेर दिने चलन छ ।,’’ मन्त्री शर्माले भन्नुभयो, ‘‘मन्त्रीहरूले ल्याएका सबै योजना सही हुन्छन् भन्ने हुँदैन, सही भए दृढताका साथ समर्थन गरेर कार्यान्वयनमा लैजानुपर्छ, नभए यो मिल्दैन यसरी जाऔँ भनेर मन्त्रीलाई उचित राय सल्लाह दिनुपर्छ ।’’
राजनीतिक र प्रशासनिक नेतृत्वबिच तालमेल मिलेन भने विकास निर्माण र सेवा प्रवाहले गति नलिने स्पष्ट गर्दै उहाँले यसमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।
बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. अनिता शाह ढुङ्गानाले अनुगमन र मूल्याङ्कन प्रणालीलाई बलियो बनाउनुपर्नेमा जोड दिँदै सूचना प्रविधिलाई एप्लिकेशनभन्दा इकोसिस्टमको रूपमा विकास गर्ने गरी कार्यक्रम बनाउन मन्त्रालयलाई आग्रह गर्नुभयो । अर्थ मन्त्रालयको ८० बुँदे अवधारणा पालना गरेर अघि बढ्न आग्रह गर्दै उहाँले १६ औँ राष्ट्रिय योजनाबाट सूचना प्रविधिको क्षेत्रमा डिपार्चर गरेर जानुपर्ने र अब एआई प्रविधिको प्रयोगलाई पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
मन्त्रालयका सचिव कृष्णबहादुर राउतले पुँजीगत खर्च बढाउन संस्थागत क्षमता विकासमा जोड दिनुभयो । पुँजीगत खर्च बढेसँगै सेवा प्रवाहले पनि गति लिने भएकाले विगतको अवस्थाबाट पाठ सिक्दै चालु आर्थिक वर्षमा पुँजीगत खर्च बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
बैठकमा मन्त्रालयअन्तर्गत सबै क्षेत्र र निकायका प्रमुखहरूले रिपोर्टिङ गर्नुभएको थियो भने कार्यक्रम सहजीकरण मन्त्रालयका सहसचिव एवम् योजना तथा प्रशासन महाशाखा प्रमुख बाबुराम भण्डारीले गर्नुभएको थियो ।