• ११ पुस २०८१, बिहिबार

संसद अवरुद्ध हुँदा जनताको आवाज बन्द भयो : सांसद बेल्वासे

blog

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद गङ्गाकुमारी बेल्वासे ।

काठमाडौं, साउन २६ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद गङ्गाकुमारी बेल्वासेले संसद् अवरुद्ध हुँदा जनताको आवाज बन्द भएको बताउनुभएको छ ।

शुक्रबार राष्ट्रिय सभा बैठकमा बोनुहुँदै सांसद बेल्बासेले लामो समयदेखि संसद् अवरुद्ध हुँदा जनताका आवाज बोल्ने सांसदहरुको आवाज बन्द भएको बताउनुभएको हो । उहाँले संसद् अवरुद्ध हुँदा जनताप्रति उत्तरदायी हुन नसकिएको  जानकारी दिनुभयो । उहाँले सांसदहरुको आवाजलाई बन्द गर्न प्रतिपक्ष दलले भूमिका खेलेको बताउनुभयो । संसद् अवरुद्ध हुँदा जनताका आवश्यकताहरुको सम्बोधन गर्न नसकिएको भन्दै उहाँले प्रतिपक्षलाई विरोधको तरिका बदल्न आग्रह गर्नुभयो ।

‘‘जनताका आवाज बुलन्द गर्ने यो संसद् लामो समयदेखि अवरुद्ध छ । जनताका आवाजहरुलाई बोल्नुपर्ने, कानुन बनाउनुपर्ने र संसदका आफ्ना नियमित कामलाई अगाडि बढाउनुपर्ने संसद् अवरुद्ध हुँदाखेरी हामी जनताप्रति उत्तरदायी हुन सकेका छैनौँ । सरकारप्रति उत्तरदायी हुन सकेका छैनौँ ।  हाम्रो आवाज बन्द गर्ने प्रतिपक्षमा रहेर प्रतिपक्षका साथीहरुले भूमिका खेलिराख्नुभएको छ ।,’’ सांसद बेल्वासेले भन्नुभयो, ‘‘यो राम्रो भइराखेको छैन । सरकारमा हुँदाखेरी संसद् विघटन गर्ने, विपक्षमा भयो भने संसद् अवरुद्ध गर्ने । के तरिका हो यो ? यसरी जनताका आवश्यकताहरुलाई सम्बोधन गर्न पनि सकिन्न । सरकारलाई साथ दिन पनि सकिन्न । सरकारलाई सकारात्मक बनाउनका लागि आलोचना गर्न पनि सकिन्न । यो तरिका बन्द गर्नुपर्‍यो । सदन खुल्नुपर्‍यो । आफ्ना विरोधका आवाजहरु अरु माध्यमबाट राख्नुपर्‍यो । विरोधका तरिकाहरु बदल्नका लागि म प्रतिपक्षलाई विनम्र अनुरोध गर्दछु ।’’

उहाँले डेंगु सङ्क्रमणले भयावह रुप लिइरहेको भन्दै प्रभावित क्षेत्रमा अभियान नै सञ्चालन गरेर रोकथाममा लाग्न सरकारसँग माग गर्नुभयो ।