काठमाडौँ, साउन २६ गते । नेकपा (एकीकृत समाजवादी)ले पार्टीको महाधिवेशनको मिति र स्थान तोक्न आगामी भदौ ५, ६ र ७ गते काठमाडौँमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
पार्टी गठनको करिब दुई वर्ष भएकाले महाधिवेशन गरी देशभर सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना र रणनीति केन्द्रीय कमिटी बैठकले पारित गर्ने महासचिव घनश्याम भुसालले जानकारी दिनुभयो । पार्टीको महाधिवेशनको निर्णय गर्ने प्रमुख जिम्मेवारी रहेको बैठकमा रिपोर्टिङ÷राजनीतिक प्रतिवेदनमाथि छलफल, समसामयिक परिस्थिति र हाम्रो कार्यभार र विविध विषयमा छलफल गरिनेछ ।
महासचिव भुसालका अनुसार केन्द्रीय कमिटी बैठक अगाडि पोलिटब्युरो बैठक आगामी भदौ ३ र ४ गते राखिएको छ । सबै जनवर्गीय सङ्गठनको कार्यसम्पादनको समीक्षा गरिने उक्त बैठकमा जनताको बहुदलीय जनवादको सान्दर्भिकताबारे बहस गरिनेछ । बैठकको निर्णयलाई मूर्तरूप दिन अनौपचारिक छलफल गरी कार्यान्वयनका लागि शीर्षनेतालाई जिम्मेवारी प्रदान गरिने बताइएको छ । रासस