• २१ असार २०८१, शुक्रबार

सुरुङ मार्गलाई प्राथमिकता दिन सुझाव

blog

काठमाडौँ, साउन २५ गते । राजमार्गमा जाने गरेको पहिरोका कारण तथा सोको स्थायी निराकरणका लागि सुरुङ मार्गलाई प्राथमिकता दिन सुझाव दिइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रहेको भौतिक पूर्वाधार विकास प्रणाली सुधार कार्यदलले सम्बन्धित क्षेत्रका विज्ञहरूसँग गरेको छलफलमा योसहित सञ्चालनमा रहेका राजमार्गको तत्काल अध्ययन थाल्न तथा नयाँ राजमार्ग निर्माण गर्दा सो क्षेत्रको भौगर्भिक अध्ययन गर्न पनि सुझाव दिएको छ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौगोलिक विकताले सडक निर्माण र सडक सुरक्षाले थपेका चुनौती हल गर्ने सुझाव दिन आग्रह गर्नुहुँदै भन्नुभयो, “सडक गाउँबस्तीमा पु-याउने हो तर हाम्रा धेरै गाउँबस्ती चुरे र महाभारत शृङ्खलामा रहेका छन्, जहाँ सडक विस्तार गर्न र विस्तार गरिएका सडकको सुरक्षा गर्न निकै चुनौती छ।” छलफलमा प्राडा तारानिधि भट्टराई, प्राडा विशालनाथ उप्रेती, प्राडा मेघराज धिताल, पूर्वसचिव वीरेन्द्रबहादुर देउजालगायतले नेपालको भौगर्भिक बनोट जटिल भएकाले नयाँ राजमार्ग निर्माण तथा अहिले सञ्चालनमा रहेका राजमार्गको मर्मतसम्भारमा अन्तर्राष्ट्रियस्तरको ज्ञान तथा प्रविधि प्रयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो। उहाँहरूले भौगार्भिक इन्जिनियरिङलाई विशेष ध्यान दिनुपर्ने, सडकको डिजाइनदेखि निर्माण सम्पन्न भएसम्म  सुपरीक्षण हुनुपर्नेलगायतका सुझाव दिनुभयो।

कार्यदलका संयोजक प्राडा सूर्यराज आचार्यले दीर्घकालीन रूपमा पहिरो जाने विशेषगरी पहाडीखण्डमा अनुसन्धानै गरेर सडकको डिजाइन गर्नुपर्ने र त्यसका लागि सम्बन्धित मन्त्रालयले विज्ञहरूको संयन्त्रै बनाउनुपर्नेलगायतका सुझाव दिनुभएको जानकारी दिनुभयो। प्राडा भट्टराईले पहिरो नियन्त्रणका लागि राजमार्ग वा सडक निर्माणअघि सो क्षेत्रको भौगर्भिक अध्ययन गर्नुपर्ने बताउँदै त्यसका लागि राज्यले भूगर्भविद्लाई स्थायी नियुक्ति दिई उहाँहरूकै प्रत्यक्ष निगरानीमा काम गराउनुपर्ने र कामको जस र अपजस उहाँहरूलाई नै दिनुपर्ने गरी स्थायी संयन्त्र निर्माण गर्न सुझाव दिनुभयो।