• १० मंसिर २०८१, सोमबार

फिफा महिला विश्वकप : स्पेन र नेदरलन्ड्सबीच पहिलो क्वार्टरफाइनल

blog

प्रि-क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्दै स्वीडेन र अमेरिकाका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, साउन २४ गते । साबिक विजेता एवम् विश्वकपको सफल टोली अमेरिका र दुई पटकको विजेता जर्मनी  घर फर्कँदा फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । 

यसपटक अमेरिका प्रिक्वार्टरफाइनलबाट घर फर्किन बाध्य बन्यो भने जर्मनी समूह चरणमै रोकियो । चार पटकको कीर्तिमानी विजेता अमेरिका प्रिक्वार्टरफाइनलमा स्विडेनसँग सडनडेथमा ५–४ गोलले स्तब्ध बनेको थियो । 

यस्तै दुई पटकको विजेता जर्मनी पनि समूह चरणबाटै घर फर्कियो । जर्मनी पहिलो पटक विश्वकपको समूह चरणबाट बाहिरिएको हो । अष्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गरेको जारी विश्वकपमा सहभागी ३२ टोलीमध्ये अब आठ टोलीबिच क्वार्टरफाइनलमा प्रतिस्पर्धा हुनेछ । 

अगस्ट ११ तारिखबाट सुरु हुने क्वार्टरफाइनलको पहिलो खेलमा स्पेन र नेदरलन्ड्स भिड्नेछन् । सोही दिन अर्को क्वार्टरफाइनल खेलमा जापानले स्विडेनको सामना गर्नेछ । यस्तै अगस्ट १२ तारिख अष्ट्रेलिया र फ्रान्स तथा इङ्ल्यान्ड र कोलम्बियाबिच प्रतिस्पर्धा हुनेछ ।

सेमिफाइनल खेल अगस्ट १५ र १६ तारिख हुनेछ । सेमिफाइनलमा पराजित टोलीबिच अगस्ट १९ मा तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ भने फाइनल खेल अगस्ट २० तारिख हुनेछ । एजेन्सी