काठमाडौं, साउन २४ गते । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी देखिएका थप समस्या समाधान गर्न नियमावलीको अन्तिम खाका (ड्राफ्ट) पूरा भइसकेको र आगामी मन्त्रिपरिषद् बैठकमा पेस हुने बताउनुभएको छ ।
बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको राय आइसकेपछि नियमावलीको अन्तिम खाका मन्त्रिपरिषदमा पेस हुने बताउनुभयो ।
गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘नेपाली वास्तविक नागरिकहरूले नागरिकता पाउन सक्नेहरूलाई नागरिकता दिने अवसर खुला भएको छ । अब धेरै समस्या त्यति बाँकी छैनन् । यसलाई हामीले नियमावलीमार्फत हल गर्दछौँ । नियमावलीको सम्पूर्ण खाका पूरा भइसकेको छ, हामी यही वा अर्को हप्ता क्याबिनेट लैजाँदैछौँ । त्यसमा कानुन मन्त्रालयको अन्तिम राय बाँकी छ ।’’
मन्त्री श्रेष्ठले नागरिकता पाउने नेपालीहरूले नागरिकता नपाउँदा परेको दुःखलाई सम्बोधन गर्नका लागि नै नागरिकता ऐन आएको जानकारी दिनुभयो । उहाँले नेपाली महिलाले विदेशी बाबुसँग विवाह गरेको अवस्थामा तिनका सन्तानले वंशजको नागरिकता पाउनुपर्छ भन्नेकुरा संविधान र कानुनसँग मेल नखाने भन्दै नियमावलीमा त्यसलाई व्यवस्था गर्न नसकिने बताउनुभयो ।
‘‘नेपालमा दुई वटा कोणबाट नागरिकताको विवाद हुँदै आयो, एउटा त जेनियुन, जसले नागरिकता पाउनुपर्ने हो, तिनले पनि दुःख पाउने, उनीहरूले नागरिकता नपाउने, नागरिकता नपाउँदा जीवन नै बरबाद हुनेकुरा हल गर्नका लागि नागरिकता ऐन आएको छ । अब ती समस्या रहँदैनन्, त्यसलाई कम्प्लिट गर्ने काम नियमावलीबाट हुन्छ ।,’’ गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘ नेपाली नागरिक महिलाले विदेशी बाबुसँग विवाह गरेको अवस्थामा तिनका सन्तानले वंशजको नागरिकता पाउनुपर्छ भन्नेकुरा अहिले संविधान र कानुनसँग मेल खाँदैन । त्यसकारण नियमावलीमा त्यसलाई व्यवस्था गर्न सकिँदैन । यसलाई सरलीकृत गरिएको छ । पहिला अङ्गीकृतको लागि पनि निस्सा चाहिन्थ्यो, अहिले स्वघोषणा भए पुग्छ ।’’
उपप्रधानमन्त्री श्रेष्ठले अङ्गीकृतका लागि पहिला निस्सा चाहिनेमा अहिले स्वघोषणा भए पुग्ने दाबी गर्नुभयो ।