• २२ पुस २०८१, सोमबार

ऊर्जा विकासको कार्य योजना अन्तिम चरणमा : मन्त्री बस्नेत

blog

काठमाडौं, साउन २३ गते । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले ऊर्जा क्षेत्रको विकासको रोड म्याप र कार्ययोजना बनाई रहेको बताउनुभएको छ । मङ्गलबार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा बोल्नुहुँदै यस्तो बताउनुभएको हो ।

मन्त्री बस्नेतले विद्युत् उत्पादक व्यवसायीहरु तथा सांसदहरुको समेत मागलाई व्यवस्थित रुपमा सम्बोधन गर्ने गरी मन्त्रालयले ऊर्जा विकासको कार्य योजना बनाएर अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले मन्त्रालयले बनाएको ऊर्जा विकासको रोड म्याप र कार्य योजना कार्यसँगै विद्युत् उत्पादन र खपतका समस्या सम्बोधन हुने जानकारी दिनुभयो ।

मन्त्री बस्नेतले विद्युत् उत्पादकहरुले एउटा फाइल पास गर्नका लागि सात वटा मन्त्रालय धाउनु पर्ने अवस्थामा समन्वय गरी काम गर्ने बताउनुभयो । उहाँले ऊर्जा मन्त्रालयले फाइल पठाउँदा वन र  विद्युत् विकास विभागले तयारी नपुगेको भन्दै फाइल केही समय होल्ड गर्न भन्ने जानकारी आफूलाई आएको बताउनुभयो ।

उत्पादन भएको विद्युतको आन्तरिक खपत हेर्दा नेपालको उत्पादन दुई हजार ८६४ रहेको भन्नुहुँदै मन्त्री बस्नेतले आगामी एक वर्षमा चार हजारमाथि पुग्ने जानकारी दिनुभयो । उहाँले मुलुकको अर्थतन्त्रको अवस्थाले विद्युत् उत्पादनको क्षमता निर्धारण गर्ने हुँदा सरकारको प्रक्षेपन र उत्पादन क्षमता बढाउने भनेर मात्रै नहुने अवस्था रहेको बताउनुभयो ।

उहाँले मुलुकको कुल गार्हस्थ उत्पादन (जिडिपी)को वृद्धिलाई ७.२ मा स्थिर राख्न सक्यौं भने आगामी १० वर्षको १२ हजार विद्युत् उत्पादन गर्न सक्ने अवस्था रहेको बताउनुभयो ।  उहाँले अर्थतन्त्रलाई स्टेवल बनाउन सक्यौं भने विद्युतकाे आन्तरिक खपतको क्षमता पनि १२ हजार पुग्ने दाबी गर्नुभयो । उहाँले आन्तरिक खपतभन्दा बढी भएको विद्युतलाई व्यापार गर्नुको विकल्प नरहेको बताउनुभयो ।

मन्त्री बस्नेतले वर्तमान अवस्था, सम्भावना, आवश्यकताहरु र अहिले विकसित हुँदै गएको अवस्थालाई ध्यान दिएर यसको व्यवस्थापन गर्ने नीति र मोडालिटी बनाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।

उहाँले सरकारले २५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने गरी उर्जा विकासको रोडम्याप र एक्सन प्लान्ट बनाइरहेको बताउनुभयो । उहाँले सरकारले अब लक्ष्य मात्रै राख्दैन कुन–कुन आयोजनाबाट २५ हजार मेगावाट विद्युत् उत्पादन हुन्छ त्यस्ता आयोजनाहरुको लिष्ट तयार पर्ने जिकिर गर्नभयो ।

उहाँले २५ हजार  मे.वा. भार धान्न सक्ने पूर्वाधार, ट्रान्समिसन लाइन र सबस्टेशनहरुको निर्माण र विद्युत् उत्पादनका लागि लगानीको वातावरण बनाउन काम गर्ने बताउनुभयो ।