काठमाडौं, साउन २३ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले स्थानीय सरकारले गरेका केही कमीकमजोरीलाई लिएर सङ्घीयताबारे नकारात्मक टिप्पणी नगर्न आग्रह गर्नु भएको छ ।
मङ्गलबार काठमाडौँमा आयोजित अन्तरक्रियामा बोल्नुहुँदै मन्त्री मोदीले प्रदेश वा स्थानीय सरकारले काम गर्ने सिलसिलामा भएका कमजोरीले सङ्घीयता कमजोर नहुने बताउनुभयो ।
व्यवस्था र परिस्थिति सबै नयाँ भएको र अनुभव पनि नभएको अवस्थामा कमजोरी हुनु स्वाभाविक रहेको मन्त्री मोदीको भनाइ छ । उहाँले केही व्यक्ति र समूह सङ्गठित रूपमा साना साना कमजोरीलाई देखाएर व्यवस्था कमजोर बनाउन लागि परेको पनि बताउनुभयो ।
मन्त्री मोदीले पछिल्लो समयमा केही राजनैतिक पूर्वाग्रह राख्ने व्यक्तिहरूले प्रधानमन्त्रीलाई पनि मुछ्ने प्रयास गरेको बताउनुभयो । स्थानीय तह, प्रदेश र सङ्घको पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकाल सुरु भइसकेकाले विगतको अनुभव र कमजोरीहरू अहिलेका लागि मार्गदर्शक हुनेहुँदा नकारात्मक टिप्पणी नगर्न उहाँले आग्रह गर्नुभयो ।
यस्तै, कार्यक्रममा मन्त्री मोदीले धेरै ठुलो दबाबको सामना गरेर काम गर्नु परेको बताउनुभयो । काठमाडौँ उपत्यका भित्र वर्षौँदेखि बसिरहेका (मन्त्रीको भाषामा अखडा जमाएर बसेका) कर्मचारीहरूलाई उपत्यका बाहिर पठाएको जिकिर गर्नुभयो ।
काठमाडौँ उपत्यका बाहिर कहिल्यै नगएकाहरू अहिले बाहिर जानु परेपछि फर्किन निरन्तर दबाब दिइरहेको जिकिर उहाँको छ । बाहिर गएका कर्मचारीले मन्त्रीलाई दबाब दिन नकारात्मक समाचार पनि लेखाएको बताउनुभयो । मन्त्री मोदीले इतिहासमा कसैले नगरेको काम आफूले गरेको ठोकुवा गर्नुभयो ।
मन्त्री मोदीले नेपालमा कार्यान्वयनको चरणमा रहेको सङ्घीय शासन व्यवस्था बिस्तारै स्थिर र स्थायित्व हुँदै गएको बताउनुभयो । यसलाई सबैले मिलेर सहयोग गर्न आग्रह गर्नुभयो । सङ्घीयता कार्यान्वयन र अभ्यासको पहिलो पाँच वर्ष सङ्क्रमणकाल जस्तै भएकाले उल्लेख्य केही नदेखिएको भए पनि केही नै नभएको भन्न नहुने मन्त्र मोदीले बताउनुभयो । अहिले धेरै क्षेत्रमा नवीन र उदाहरणीय काम सुरु भएको र सङ्घीयता कार्यान्वयनको अबको दोस्रो चरण पहिलोभन्दा परिवर्तनकारी, अर्थपूर्ण रहने मन्त्री मोदीको भनाइ छ । उहाँले आगामी दिनमा जनमानसमा रहेको सङ्घीयताप्रतिको संशय पनि हट्ने विश्वास गर्नुभयो ।