काठमाडौँ, साउन २३ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वर्षाका कारण क्षतिग्रस्त भएका सडक र पुल तत्काल निर्माण गरेर नागरिकको जनजीवन सहज बनाउन निर्देशन दिनुभएको छ ।
उहाँले अविरल वर्षापछि भौतिक पूर्वाधारका क्षेत्रमा भएको क्षतिको विवरण तत्काल सङ्कलन गर्न र तत्काल पुनःनिर्माणमा शुरु गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । सोमबार अपराह्नदेखि परेको अविरल वर्षाले देशका विभिन्न ठाउँमा मानवीय र भौतिक क्षति भएको छ ।
उहाँले देशभरका सडक, पुल र यातायातका क्षेत्रमा भएको विवरण तत्काल सङ्कलन गर्न निर्देशन दिनुभएको छ । अविरल वर्षापछि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग भासिएको छ । ठाउँठाउँमा पहिरो गएको सडक विभागले जनाएको छ । सडक भासिएपछि आवतजावत पूर्णरुपमा बन्द भएको छ ।
मन्त्री ज्वालाले भीमदत्त सडकको तत्काल पुनःनिर्माणमा जुट्न र यातायात छिटो सञ्चालन गर्न सडक विभागलाई निर्देशन दिनुभयो । निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको उत्तरतर्फको मूल गेट नजिकै पहिरो जाँदा बुटवल–पाल्पा सडक अवरुद्ध बनेको छ । अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन मन्त्री ज्वालाले सम्बन्धित क्षेत्रका निर्देशकहरुलाई निर्देशन दिनुभएको छ ।
मकवानपुरको बाग्मती गाउँपालिका सिग्रेमा पहिरोमा परी सन्तमाया स्याङ्तानको निधन भएका थियो । बाढी र पहिरोका कारण क्षतिग्रस्तमध्ये अहिले पनि चार राष्ट्रिय राजमार्ग ठप्प रहेको सडक विभागले जनाएको छ । रासस