• ११ असोज २०८१, शुक्रबार

आजै पुनः बस्ने गरी सकियो शीर्ष नेताको बैठक

blog

काठमाडौं, साउन २२ गते । संसद् अवराेध खुलाउन सभामुख देवराज घिमिरेको कार्यकक्षमा बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठक सकिएको छ ।  सभामुख घिमिरेले संसद्को अवरोध हटाउनेबारे छलफल गर्न शीर्ष नेताको बैठक बोलाउनुभएको थियो ।

सभामुखका सञ्चार विज्ञ शेखर अधिकारीले सोमबार बिहान सभामुख घिमिरेको कार्यकक्षमा बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठक सकिएको जानकारी दिनुभयो ।  सञ्चार विज्ञ अधिकारीका अनुसार आजै अपराह्न पुनः बस्नेगरी बैठक सकिएको हो ।

यसैगरी, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले शीष नेताबीच संसद सुचारु गर्ने विषयमासकारात्मक रुपमा छलफल भएको बताउनुभएको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले भन्नुभयो, “सङ्घीय संसदको बैठक अवरुद्ध भएको छ । शीर्ष नेताहरु बसेर छलफल भएको छ । सम्मननीय सभामुखज्युको पहलमा सम्मननीय प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री एवम् प्रमुख विपक्षी दलको नेता, पार्टी सभापतिबीचको छलफल पुनः ३ः३० बजे बस्ने गरी टुङ्गिएको छ ।”

उहाँले संसद सुचारुका लागि सहमति हुनुपर्ने विषयमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हाउस चल्नुपर्छ । महत्त्वपूर्ण कामहरु गर्नुपर्नेछ । हामी सहमतिका साथ चल्नुपर्छ भन्ने कुरा छ । ३ः३० बजे फेरि नेताहरुबीच हाउस चलाउने विषयमा छलफल हुने छ । यसमा हामी सबैको प्रयत्न रहन्छ । सकारात्मक रुपमा छलफल भएको छ ।”

यस्तै, नेकपा (एमाले) सचेतक महेश बर्तौलाले सभामुखको अगुवाइम बसेको शीर्ष नेताको बैठक निष्कर्ष प्राप्त नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सभामुखको अगुवाइमा शीर्ष नेताबीच लामो छलफल गर्‍यौं । तर निष्कर्ष निस्किएन । सुन तस्कर काण्डसँग जोडिएको विषयमा उच्चस्तरीय छानबिन समितिको माग पटक–पटक गर्दै आएका छौं तर सरकार तयार छैन । त्यसकारण संसद अवरोध कायम छ ।”

उहाँले भन्नुभयो, “यो सत्तापक्ष, प्रतिपक्ष, सिङ्गो देशका लागि आवश्यक विषय हो त्यसकारण सरकारले अनावश्यक पोजिसन नलिदा राम्रो हुन्छ । के हुन सक्छ त्यसको आधारमा छलफल गरौं । मेकानिजम्लाई साथमा लिएर अनुसन्धान जरैसम्म पुगोस् । सबैको साझा अभियान हो तस्करलाई कारबाहीमा ल्याउने हो ।”
उहाँले गठबन्धनमा छलफल गर्न एक घण्टा समय माग भएकाले त्यसपछि शीर्ष नेताबीच पुनः छलफल हुने जानकारी दिनुभयो ।

शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस मुख्य सचेतक रमेश लेखक, माओवादी मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका सांसद तथा कार्यव्यवस्था समिति सदस्य रामहरि खतिवडा सहभागी हुनुहुन्छ ।

साउन १० गते बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख विपक्षी दल एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै अवरोध गरेको थियो । त्यसपछिका दुई वटा बैठक बोलाइए पनि सूचना टाँसेर स्थगित भएको थियो ।

त्यस्तै, आज सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक बस्न सकेको छैन भने राष्ट्रिय सभा बैठक साउन २४ गतेसम्मका लागि स्थगित भइसकेको छ ।