• ९ साउन २०८१, बुधबार

गाउँ रित्तिँदै खेतीयोग्य जमिन बाँझो हुँदै

blog

होमराज रानाभाट

गैँडाकोट, साउन २२ गते । गाउँबाट विस्थापित भई सहर पस्ने क्रम बढेसँगै पूर्वी नवलपरासीको कतिपय गाउँबस्ती रित्तिन थालेका छन्। यहाँको ६० प्रतिशत बासिन्दा स्थायी रूपमै गाउँ छाडेर सहर केन्द्रित भएका छन्। 

रोजगारीको सिलसिलामा २० प्रतिशतले गाउँ छाडेका छन्। बाँकी २० प्रतिशतको मात्रै गाउँमा बसोबास रहेको बुलिङटार गाउँपालिका–३ का वडाध्यक्ष विष्णुवीर जर्घामगरले बताउनुभयो। गाउँमा बस्ने पनि ज्येष्ठ नागरिक रहेका छन्। 

बुलिङटार र बौदीकाली गाउँपालिकाका ६० प्रतिशत बासिन्दा गाउँ छाडेर सहर केन्द्रित भइसकेको दाबी उहाँको छ।  यो क्रम बढिरहेको छ। समयमै रोक्न नसक्ने हो भने अबको पाँच/सात वर्षमा गाउँ पूरै रित्तिन सक्ने देखिन्छ। 

समाजशास्त्री प्राध्यापक शालिकराम कोइराला स्थानीय पालिकाले गाउँ केन्द्रित नीति तथा कार्यक्रम ल्याउन नसक्दा गाउँबाट पलायन हुनेको सङ्ख्या बढेको बताउनुहुन्छ। पूर्वी नवलपरासीको पहाडी क्षेत्रका दुई गाउँपालिकामध्ये बुलिङटारको जनसङ्ख्या २०६८ सालको जनगणना अनुसार १९ हजार १२२ रहेको थियो। २०७८ को जनगणानामा घटेर १४ हजार ६३७ को हाराहारीमा पुगेको छ। सो गाउँमै स्थायी रूपमा बसोबास गर्नेको सङ्ख्या चार हजारको हाराहारीमा रहेको बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारीले बताउनुभयो।  

उता बौदीकाली गाउँपालिकाको २०६८ सालको जनगणनामा १९ हजार रहेको जनसङ्ख्या अहिले २०७८ सालमा आइपुग्दा १० हजारको हाराहारीमा पुगेको गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो।  बौदीकाली गाउँपालिकाले गाउँ फर्कनेलाई घर, २५ हजार नगद र निःशुल्क शिक्षा दिने घोषणा गरे पनि फर्किनेको सङ्ख्याभन्दा गाउँ छाड्नेको सङ्ख्या बढ्दै गएको छ। हुप्सेकोटको वडा नं २, ५, ६ र विनयीत्रिवेणी गाउँपालिकाको वडा नं ३ मा ८० प्रतिशतले गाउँ छाडेका छन्। 

हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदम रानामगरले गाउँ छाडेर सहर केन्द्रित हुनेको सङ्ख्या दिनप्रतिदिन उत्तिकै बढिरहेको जानकारी दिनुभयो। ती वडाबाट बसाइँसराइ गरेर सुगम ठाउँमा गएको पाइन्छ।

गाउँको भन्दा सहरको वातावरण सुविधायुक्त भएकाले सहरमा झर्नेको सङ्ख्या बढेको प्राध्यापक शालिकराम कोइरालाको बुझाइ छ। गाउँमा बाटो पुगेको छ, विद्यालय खुलेका छन् तर ती सबै छाडेर भएको जग्गा जमिन पनि बाँझै छाडेर सहर पस्नेको लर्को लागेको छ, उहाँले भन्नुभयो, “हामी सबै सुविधा र अवसरको खोजीमा छौँ।” 

कतिपय रोजगारीको खोजीमा बिदेसिने, कोही अध्ययनका लागि त कोही अन्य अवसरका लागि गाउँ छोडेर सहर जान थालेका छन्। स्वास्थ्य, शिक्षा, रोजगारीलगायतका सेवासुविधा खोज्दै पहाडी भेगबाट राजमार्ग केन्द्रित हुनेको सङ्ख्या पनि त्यत्तिकै रहेको गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी बताउनुहुन्छ।

पछिल्लो दस वर्षको अवधिमा जिल्लाका ग्रामीण भेगबाट सहरी क्षेत्रमा बसाइँसराइ बढेपछि बुलिङटार र बौदीकाली गाउँपालिकाको जनसङ्ख्या ऋणात्मक देखिएको छ। बौदीकाली गाउँपालिका र बुलिङ्टार गाउँपालिकाको जनसङ्ख्या पछिल्लो दस वर्षको अवधिमा घटेको छ भने हुप्सेकोट गाउँपालिकाको जनसङ्ख्या पनि घट्दो क्रममा रहेको छ। 

मुख्य राजमार्गले छोएका गैँडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु नगरपालिका र विनयीत्रिवेणी गाउँपालिकाको जनसङ्ख्या पछिल्लो दस वर्षमा ह्वात्तै बढेको छ। जिल्ला सदरमुकाम रहेको कावासोती नगरपालिकाको जनसङ्ख्या वृद्धि दर जिल्लामा सबैभन्दा बढी छ। राष्ट्रिय जनगणना–२०७८ 

अनुसार ३.१७ प्रतिशत वार्षिक वृद्धि भई ८६ हजार ८२१ पुगेको छ। २०६८ सालमा जनसङ्ख्या ६२ हजार ४२१ रहेको थियो।