बोमलाल गिरी
नवलपुर, साउन २२ गते । नवलपुरका विभिन्न स्थानमा बसोबास गरिरहेका अल्पसङ्ख्यक माझी, मुसहर र बोटे समुदायले आफूहरूका लागि वैकल्पिक रोजगारीको व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेका छन्। आफूहरूको पुख्र्यौली पेसा माछा मार्ने भए पनि उक्त व्यवसायबाट जीवन गुजारा गर्न कठिन भएको गुनासो गर्दै वैकल्पिक व्यवस्थाको माग गरेका हुन्।
वैकल्पिक पेसा तथा व्यवसायको व्यवस्था गरिदिए आफूहरू आफ्नो पुख्र्यौली पेसा छोड्न तयार रहेको भनाइ उहाँहरूको छ। नारायणी नदीमा माछा मार्नका लागि इजाजतपत्र (लाइसेन्स) चाहिने र इजाजतपत्र भएकालाई पनि चितवन राष्ट्रिय निकुञ्जले दुःख दिने गरेको गुनासो उहाँहरूको छ।
“लाइसेन्स नहुनेलाई त माछा मार्न जान पनि कठिन छ, भएकाले पनि अनेक दुःख, कष्ट भोग्नुपरेको छ”, कावासोती–१३, नयाँबस्तीका मनबहादुर मुसहरले भन्नुभयो, “आर्मीले कि माछा देऊ, नभए जाल देऊ भन्छन्, माछा नदिए जाल नै खोसेर लगिदिन्छन्।”
यहाँको नयाँबस्तीमा ३५ घरधुरी मुसहर बस्ती छ। ३५ घरधुरीका ३० जना युवा माछा मार्न जान्छन्। स्थानीय वीरबहादुर मुसहरका अनुसार छ जनाको मात्र माछा मार्ने लाइसेन्स छ।
“भाइहरूको पढाइलेखाइ केही छैन, अरू सिप पनि छैन। जानेको भनेकै माछा मार्ने मात्र हो। लाइसेन्स दिए त अलि सजिलो हुने थियो। खै किन हो सरकारले लाइसेन्स नै नदिएर गलत गरिरहेको छ,” वीरबहादुरले भन्नुभयो।
कावासोती नगरपालिकाका चार वटा वडाका ३२ जनाले इजाजतपत्रका लागि आवेदन दिएकोमा १४ जनाले मात्र लाइसेन्स पाएका छन्। स्थानीय होमबहादुर माझीका अनुसार करिब एक हजार छ सयको हाराहारीमा माझी मुसहर रहेका छन्।
बोटे समुदायको सङ्ख्या करिब एक हजार आठ सय रहेको बताइन्छ। सबैको पुख्र्यौली पेसा माछा मार्ने हो। स्थानीय एक सहकारीको अध्यक्षसमेत रहेकी मनरजनी मुसहरले सरकारसँग आफूहरूका लागि वैकल्पिक व्यवस्था गरिदिन आग्रह गर्नुभयो।
“हामीहरूको पुख्र्यौली पेसा माछा मार्ने हो तर सरकारले अरू कुनै व्यवस्था गरिदिए पुख्र्यौली पेसा छोड्न तयार छौँ,” मनरजनीले भन्नुभयो। तरकारी खेती, बङ्गुर पालन, होटल तथा सरकारी कार्यालयमा रोजगारी उपलब्ध गराई वैकल्पिक व्यवसाय दिनुपर्ने माग उहाँको छ।
निकुञ्ज कार्यालयले माछा मार्नका लागि १० वटा सर्त निर्धारण गरेको छ। जसमा माछा मार्ने समय बिहान ६ देखि साँझ ५ बजेसम्म हुने, तोकिएको नदी र खण्डमा माछा मार्दा प्लास्टिकको जाल प्रयोग गर्न नपाइने, साउनदेखि चैतसम्म मात्र माछा मार्ने र अनुमतिपत्र नभएको व्यक्तिले माछा मार्न नपाने सर्त राखेको छ।