• १२ पुस २०८१, शुक्रबार
blog

भाइबहिनीहरू, तपाईंहरूलाई थाहा छ, पारिजात के हो ? पारिजात एउटा यस्तो फूल हो जुन रातिमा मात्र फुल्छ र बिहान सबै झर्छ । अनि यो एउटा मात्र फूल हो जुन भुइँमा झरे पनि भगवान्लाई चढाउन सकिन्छ तर आज हामी फूल पारिजातको बारेमा होइन, साहित्यकार पारिजातको जीवनीका बारेमा केही जानौँ है त । भाइबहिनीहरू, पारिजातको वास्तविक नाम विष्णुकुमारी वाइबा हो । उनको पिता केएन वाइबा र माता अमृता मोक्तानले उनको नाम विष्णुकुमारी राखे पनि लामाले चेकुडोल्मा ‘तारा रानी’ राखिदिएका थिए ।

उनको जन्म दार्जिलिङको लिङगियाँ चिया बगानमा विसं १९९४ वैशाखमा भएको थियो । उनका बुवा कालुसिंह वाइबा भारतीय सैनिक सेवामा आबद्ध थिए भने पछि सैनिक सेवा छाडेर एक चिकित्सक भए, आमा अमृता मोक्तान एक गृहिणी थिइन् । पारिजातको बाल्यकाल त्यति राम्रो थिएन । सानैमा आमाको मृत्यु भएकाले उनले मातृ स्नेहको अनुभव गर्न पाइनन् । सानैदेखि उनी बिरामी भइरहन्थिन् । उनलाई हाडजोर्नी रोगले आक्रमण गरेको थियो । 

उनी अटेरी, जिद्दी र एकलकाँटे थिइन् । उनी ६ कक्षा पढ्दादेखि नै गाँजा र चुरोट खाने गर्थिन् । उनका बुवा उनलाई डाक्टर बनाउने इच्छा थियो तर उनी भने नाच्न, गाउन, लेख्न, डुल्न, बरालिन, खेल्न मन पराउँथिन् । पारिजातले ९ कक्षासम्म दार्जिलिङमा नै पढिन् पछि काठमाडौँ डिल्ली बजारस्थित पद्मकन्या विद्यायममा भर्ना भई एसएलसी त्यहीँबाट पास गरिन् । उनले आइए र बिए पद्मकन्या कलेजबाट पास गरिन् । बुवाको संरक्षण र रेखदेखमा काठमाडौँ बसी अध्ययन गर्दा २०२९ सालमा उनको बुवाको मृत्यु भयो । 

भाइबहिनीहरू, परिजातले बिए पास गरेपछि मदन मेमोरियल स्कुलमा अध्यापन सुरु गरिन् । त्यहाँ पढाउँदा पढाउँदै उनी बिरामी हुन थालिन् र स्कुल छाड्न बाध्य भइन् । स्कुल छाडेपछि उनी बाथरोगले कुँजिइन् खाटमा सुतीसुती उनले साहित्य रचना गर्न थालिन् । उनको साहित्यिक यात्रा २०१३ सालमा ‘धरती’ पत्रिकामा कविता प्रकाशन गरी सुरु भएको थियो । उनी पीडाले छटपटाएको बेला लेखेको उपन्यास ‘शिरीषको फूल’ नै उनलाई चर्चित बनाउने उपन्यास बन्यो । उनले ‘शिरीषको फूल’ को लागि विसं २०२२ मा मदन पुरस्कार पाइन् । यस उपन्यासको अनुवाद ‘द ब्लु मिमोसा’ अमेरिकाको मेरिल्यान्ड विश्वविद्यालयको पाठ्यक्रममा समेत समावेश गरिएको छ । उनका अन्य चर्चित उपन्यास ‘महत्ताहीन’, ‘बैँसको मान्छे’, ‘तोरीबारी बाटा र सपनाहरू’, ‘परिभाषित आँखाहरू’, ‘अनिँदो पहाडसँगै’ रहेका छन् । 

भाइबहिनीहरू, पारिजात भावुक र कल्पनाशील स्वभावकी थिइन् । उनी पानीमा रुझ्दै रुझ्दै घुम्न, वन जङ्गल चहार्न, जङ्‌गली फूलहरू टिप्न मन पराउँथिन् उनी संवेदनशील, अन्तर्मुखी र कोमल हृदयकी थिइन् । पारिजातलाई वर्षा ऋतु, गुराँसको फूल र हरियो रङ विशेष मन पथ्र्यो ।

बाथ रोगका कारण एमए पढ्दा पढ्दै विसं २०५० वैशाख ५ गते बिहान ४ बजे उपचारका क्रममा वीर अस्पतालमा उनको मृत्यु भयो । मृत्युपछि उनको तस्बिर अङ्कित तीन रुपियाँको हुलाक टिकट प्रकाशनमा आयो । त्यसै गरी ठाउँ ठाउँमा पारिजातका सालिक बने । उनका अनगन्ती समालोचना, संस्मरण र जीवनीका कृति प्रकाशनमा आए । उनको मृत्यु भए पनि उनका कृतिले उनलाई सधैँ जीवित राखिरहने छन् ।

पारिजातले समाज सेवामा पनि धेरै जसो समय बिताएकी थिइन् । उनले ‘बचेराबास’ नाम गरेको सामाजिक संस्था स्थापना गरेकी थिइन् । त्यस संस्थामार्फत उनले कारागारमा रहेका आमाबाबुका बालबालिकाको सेवा गरिन् । उनी वामपन्थी दल सम्बद्ध ‘अखिल नेपाल महिला सङ्घ’ को 

अध्यक्षसमेत बनिन् । औपचारिक हिसाबले पद्मकन्या क्याम्पसबाट बिएसम्मको अध्ययन गरेकी उनले विश्व साहित्यको स्वअध्ययन गरिन् ।   

Author

मीनु गौतम