फडिन्द्र अधिकारी
लेखनाथ, साउन २० गते। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले सीमित, स्रोत साधनमार्फत् समुन्नतिका नयाँ सम्भावना खोजिरहेको बताउनुभएको छ। सरकार गठन भएको शनिबार एक सय दिन पुगेको अवसरमा आयोजित कार्यक्रममा उहाँले अहिलेको प्राथमिकता उत्पादन वृद्धि र जनको समृद्धि भएको उल्लेख गर्नुभयो। वैशाख २४ गते उहाँ मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। ६० सदस्यीय गण्डकी प्रदेश सभामा उहाँ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो। सात सदस्यीय मन्त्रिमण्डलमा अहिले काङ्ग्रेसबाट पाँच र माओवादी केन्द्रबाट दुई मन्त्री सहभागी छन्।
यो अवधिमा सरकारको प्रमुख उपलब्धि नै बजेट भएको उहाँको दाबी छ। मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “सरकार गठन भएको दुई÷तीन दिनपछि नै बजेट बनाउन थालेका थियौँ। एक सय दिनमा करिब ५० दिन त बजेट बनाउनमै खर्च भएको छ।” यसपालि बजेटको सिलिङ घटेको भए पनि गण्डकी सरकारको अर्जुनदृष्टि समृद्धिका मुख्य एजेन्डामा केन्द्रित रहेको जनाउनुभयो। कुल बजेटको आकारमा कमी आए पनि कृषि र स्वास्थ्य बजेट बढ्नु यसैको द्योतक भएको उहाँको भनाइ छ।
यो वर्ष गण्डकी सरकारले कुनै भवन नबनाउने जनाउँदै उहाँले अर्थतन्त्र उकास्दै जनताको समृद्धिका लागि उत्पादनशील क्षेत्रमा लगानी गरिने प्रष्ट पार्नुभयो। पत्रकारको जिज्ञासामा उहाँले चाँडै पोखरामा चीनबाट नियमित अन्तर्राष्ट्रिय उडान हुने सुनाउनुभयो। उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय उडान नभए अन्तर्राष्ट्रिय विमानस्थलको अर्थ हुँदैन। चाँडै हुने आफ्नो चीन भ्रमणमा प्रधानमन्त्रीज्यूले चीनबाट नियमित उडानको घोषणा हुने हामीलाई जानकारी दिनुभएको छ।”
विभिन्न तहका सरकारबिच कार्यालय र बजेट विनियोजनमा दोहरोपना हटाउन प्रदेशले पहल गर्ने भएको छ। बजेटमा दोहोरोपना हटाउन केन्द्रमा एक टास्कफोर्स गठन भई अध्ययन भइरहेको र त्यसको प्रतिवेदन आएपछि ठोस काम हुने मुख्यमन्त्री पाण्डेको भनाइ छ। प्रदेशले बनाएका कार्यालय र निकायको आवश्यकता र प्रभावकारिता अध्ययन गर्न चाँडै एक समिति गठन गरिने उहाँले जानकारी दिनुभयो।
पर्यटन, कृषि, ऊर्जा, खेलकुद र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर वार्षिक विकास कार्यक्रम बनाइएको छ। यस वर्ष गण्डकीले सडकतर्फ ३० लाखभन्दा कम र खानेपानीतर्फ १० लाखभन्दा साना योजनामा बजेट विनियोजन गरेको छैन।
मुख्यमन्त्री पाण्डेले असार १५ मा पोखरामा भएको अन्तर प्रदेश मुख्यमन्त्री बैठक र पहिलो राष्ट्रिय समन्वय परिषद् बैठकलाई उपलब्धिको रूपमा प्रस्तुत गर्नुभयो। गण्डकी सरकारले डायलिसिस सेवालाई प्राथमिकता दिएको छ। सङ्क्रामक तथा सरुवा रोग अस्पताल कास्कीमा २५ शय्याको डायलिसिस केन्द्र स्थापना भएको छ।
यातायात व्यवस्था कार्यालयमा बिहान ८ बजेबाट सेवा आरम्भ भएको छ। अहिले करारका कर्मचारीको नवीकरण नहुँदा प्रभावित भएको यातायात कार्यालयको सेवा केही दिनमै सहज हुने मुख्यमन्त्री पाण्डेको दाबी छ। पशुमा आएको लम्पी स्किन रोग रोकथामका लागि प्रदेश सरकारले ३३ लाखको औषधि किनेर विभिन्न जिल्ला पठाएको छ। प्रदेशमा विपद् व्यवस्थापन र उद्धारका लागि २० सशस्त्र प्रहरीलाई गोताखोर तालिम दिइएको र उद्धारका सामग्री सुरक्षा निकायलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो।
यो अवधिमा नवलपुरको लोकाहाखोला र कास्की तथा तनहुँको पुँडिटारमा बन्ने औद्योगिक क्षेत्रको विस्तृत आयोजना प्रतिवेदन तयार भएको छ। दोस्रो पञ्चवर्षीय योजना निर्माण थालेको गण्डकी सरकारले घरेलु मदिरा ब्रान्डिङ र गाँजा खेतीको सम्भाव्यता अध्ययन गरी औषधीजन्य र उद्योगजन्य उपयोगका लागि कानुन व्यवस्था मिलाउने गृहकार्य गरेको छ।