• १४ मंसिर २०८१, शुक्रबार

चाइना रेलवे परियोजनामा पोखरा महानगरको साथ

blog

चिनियाँ टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग छलफलपछि लिइएको सामुहिक तस्बिर । तस्बिर : सन्तोष सुवेदी

सन्तोष सुवेदी

कास्की, साउन २० गते । बहुचर्चित काठमाडौँ–केरुङ अन्तर्देशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनलाई तीव्रता दिइरहेको चिनियाँ टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग छलफल तथा अन्तरक्रिया गरेको छ । विस्तृत रेलमार्गको अध्ययनका लागि तथ्याङ्क सङ्कलन गरिरहेको टोलीले पोखरा महानगरपालिकाका प्रमुख आचार्यसँग छलफल गरेको हो ।

पोखरा महानगरपालिकाका प्रमुख आचार्यले परियोजनाको अध्ययन तथा निर्माणका क्रममा आउने कुनै पनि प्रकारका समस्याहरूको समाधानका लागि आफूहरू तयार रहेको बताउनुभयो ।  ‘‘यो परियोजना अगाडि बढ्यो र अध्ययन तथा निर्माणका दौरानमा हाम्रो महानगरभित्र कुनै अवरोधहरू सिर्जना भएको खण्डमा तत्काल समाधान गरिनेछ । स्थानीय सरकारको तर्फबाट विकासका सवालमा समन्वयात्मक भूमिका रहन्छ’ उहाँले भन्नुभयो । पर्यटन क्षेत्र पहिलो प्राथमिकता रहेको भन्दै प्रमुख आचार्यले पर्यटनको क्षेत्रमा लगानी बढाउन सकिने टोलीलाई सुझाउनुभयो ।

सो क्रममा चिनिया टोलीले रेलमार्गका अलावा पोखराको औद्योगिक विकासको सम्भावना र जनशक्ति उपलब्धतासहित परिचालनका विषयमा चासो राखेको थियो । कोरोना भाइरसको सङ्क्रमण पूर्व र पश्चात् चिनियाँ पर्यटकको पोखरा आवागमनको दरका विषयमा समेत टोलीले जिज्ञासा राखेको थियो । चाइना नेपाल इकोनोमिक कोरिडोरको विकासका लागि चिन सकारात्मक रहेको टोलीले जनाएको छ ।

हरित सहरी विकास र बृहत्तर पोखराको अवधारणा केन्द्रित विकासका नयाँ सम्भावनाको सवालमा समेत चिनियाँ चासो रहेको थियो । प्रमुख आचार्यले आफूहरू पोखराको दिगो भविष्य निर्माण गर्ने दीर्घकालीन गुरुयोजना निर्माणको चरणमा रहेको बताउनुभयो । दिगो पर्यटन विकासका विभिन्न परियोजनाहरू सञ्चालनको क्रममा रहेका उहाँले बताउनुभयो । पोखरा–काठमाडौँ  रेलमार्ग निर्माणले गति लिए पोखराको पर्यटन र समग्र अर्थव्यवस्थामा सकारात्मक प्रभावहरू देखिने उहाँले बताउनुभयो ।

चीन सरकारको चाइना रेलवे सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेडका प्राविधिकहरू सम्मिलित टोलीले अध्ययन पश्चात् तीन वर्षमा विस्तृत सम्भाव्यता प्रतिवेदन तयार गरी पेस गर्ने जनाएको छ । टोलीका अनुसार पहिलो एक वर्षमा सर्भे सम्पन्न गरी डेढ वर्षभित्र फिल्डमा पुगेर सर्भे र म्यापिङ गरिनेछ । आगामी एक वर्षभित्र इन्जिनियरिङ अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिएर बुझाउने छ ।

काठमाडौँमा कार्यालय समेत खोलेरै काम सुरु गरेको चिनियाँ टोलीले हाल रेलमार्गको स्थलगत अवलोकनसहित अध्ययनको काम गरिरहेको छ । सन् २०१९ को अक्टोबरमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा केरुङ–काठमाडौँ, काठमाडौँ–पोखरा र पोखरा–लुम्बिनी रेलमार्गको डिपिआरका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।