• १० मंसिर २०८१, सोमबार

पुरुष र महिला फुटबलमा पुरस्कार बराबरी

blog

फाइल तस्बिर ।

काठमाडौं, साउन २० गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय टोलीका पुरुष र महिला खेलाडीलाई समान पुरस्कार दिने भएको छ ।

एन्फाको शुक्रबार राति सम्पन्न कार्यसमिति बैठकले पुरुष र महिला खेलाडीलाई समान पुरस्कार दिने निर्णय गरेको हो । बैठकले राष्ट्रिय टोलीको खेलका क्रममा घाइते भएका खेलाडीको सम्पूर्ण उपचार खर्च ब्यहोर्ने निर्णय पनि गरेको छ । 

यस्तै बैठकले आगामी असोज ४ देखि १३ गतेसम्म हुने साफ यू–१९ च्याम्पियनसिपको संयोजकको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का दिनुका साथै प्रतियोगिताको टिकट मूल्य भिआइपीतर्फ तीन सय र साधारणतर्फ एक सय रुपियाँ तोकेको छ ।

बैठकले थ्री नेसन्स लिगका विजेताले पाउनुपर्ने पाँच हजार अमेरिकी डरले दामासायी रूपमा वितरण गर्ने, सङ्घको विशेष  साधारण सभा भदौ २४ र नियमित साधारण सभा असोज २९ गते गर्ने, महिला फ्रेन्चाइज लिगको  ब्रोर्डकास्टिङ र डिजिटल अधिकार नेपाल स्पोर्ट्स प्रालि तथा फुटसल लिगको मार्केटिङ, बोर्डकास्टिङ र डिजिटल अधिकार डिजिफ्लाइ ब्रान्डिङ एजेन्सी प्रालिलाई दिने लगायत विभिन्न १९ वटा निर्णय गरेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक कार्यसमितिमा बहुमत नपुग्ने देखेपछि अध्यक्ष पङ्कजविक्रम नेम्वाङले करिब चार घण्टापछि मात्र सुरु गर्नुभएको थियो ।