• १० मंसिर २०८१, सोमबार

सर्वौषधि ‘जीवन विज्ञान’

blog

‘जीवन विज्ञान’का सद्गुरुद्वय एलपी भानु शर्मा र रमेश नेपाल सूर्य उदाएदेखि अस्ताएसम्म ज्ञान र योग–ध्यानको धारो खोलेर शिष्यलाई सुख, शान्ति र समृद्धिमा लैजान अथक प्रयास गरिरहनुभएको छ । जीवन विज्ञानमा सबै वर्ग, उमेर, जाति, लिङ्ग, धर्म र सम्प्रदायका व्यक्तिहरूले ध्यानबाट आत्मिक लाभ लिइरहेका छन् । ‘जीवन विज्ञान’ कुनै धर्म–सम्प्रदाय होइन, यो त ज्ञान र ध्यानको अविच्छिन्न प्रवाह हो । 

शास्त्रार्थ गरेर कुनै पनि विषयवस्तुलाई आफ्नो हित अनुकूल व्याख्या गर्ने बुद्धिविलासभन्दा माथि सर्वाङ्गीण रूपमा सुन्दरतम् र समुन्नत तरिकाले जीवन जिउने कला हो – ‘जीवन विज्ञान ।’ जीवन सम्भावना र अवसरको खानी हो । चुनौती र समस्यामा पनि अवसर र समाधान देख्न सक्ने सामथ्र्य जीवन विज्ञानका ध्यानका कार्यक्रमले प्रदान गर्छन् । जीवन विज्ञान वाद, सिद्धान्त, दर्शन, धारणा, मान्यता र विश्वासभन्दा अलग भोगाइ, अनुभव, खुसी, उमङ्ग तथा अध्यात्म र विज्ञानको दस्ताबेज हो ।  यहाँ शारीरिक स्वास्थ्यका लागि योगाभ्यास, मानसिक स्वास्थ्यका लागि प्राणायाम र आत्मिक शान्तिका लागि ध्यानका गहिरा सूत्रहरूको प्रयोग गरिन्छ । ‘जीवन विज्ञान’ ले आश्वासन दिँदैन, सान्त्वना–ढाडस र सहानुभूति पनि दिँदैन । मेहनतबिना चमत्कार हुने स्वैरकल्पना पनि गर्दैन । उपलब्ध ज्ञानलाई व्यावहारिक रूपमा लागु गरेर आचरण बदल्ने कुरामा भने सहज प्रेरणा र हौसला दिन्छ । 

आफ्नो व्यक्तित्वमा देखिएका आलस्य, अकर्मण्यता, अधीरता, घृणाभाव, द्वेष जस्ता नकारात्मक वृत्तिहरू विविध पृष्ठभूमि, सङ्गत र परिवेशबाट आर्जन गरेका मेरा आफ्नै कमाइ हुन् भन्ने दृष्टिगोचर गरी यथाशीघ्र ध्यान साधनाका बलले निराकरण गर्दै दया, प्रेम, करुणा, अहिंसा जस्ता सद्गुणहरूले सुसज्जित हुन प्रेरणा दिइन्छ । जीवन विज्ञान स्वतन्त्रताको विज्ञान हो । व्यक्ति स्वतन्त्र भएर जन्मिन्छ र आजीवन स्वच्छन्द रहन चाहन्छ । स्वतन्त्रताभन्दा प्रिय कुरा सायदै जीवनमा केही होला ? सच्चा साधक गुरुमुक्त हुन्छ, प्रकाशित हुन्छ । त्यस कारण जीवन विज्ञानको साधक पूर्ण रूपमा आजाद हुन्छ । ज्ञान ग्रहण र अनुसरणका क्रममा गुरुबाट निर्देशित योगका केही नियमको पालना गर्न अनुशासनमा रहनु कर्तव्य भए पनि त्यसलाई नियमसङ्गत र कुनै निश्चित मापदण्डका आधारमा शिष्यमा यिनै गुण र प्रवृत्ति हुनै पर्छ भन्ने कुनै ठोस मान्यता एवं बाध्यकारी सर्त यहाँ छैन । व्यक्ति साधनाको दौरान जुनसुकै स्थानमा खुला रूपले जान सक्छ र पुनः लामो अन्तरालमा प्रेमपूर्वक स्वागतका साथ यहाँ प्रवेश गर्न सक्छ । 

गुरुदेवबाट प्राप्त प्रेमसहितको स्वतन्त्रताले शिष्यलाई बेइमान हुनै नसक्ने गरी इमानदार, अपवित्र बन्नै नसक्ने गरी पवित्रताको जीवन्त अनुभूति हुन्छ । स्वतन्त्र हुँदा व्यक्तिले जीवनलाई निकै नजिकबाट हेर्छ, यात्राको आरोह, अवरोह, खुसी, दुःख, सङ्घर्ष, ठक्कर, कसैको रोकावटबिना प्रत्यक्ष रूपमा भोग्न पाउँछ । गल्ती भए पनि गुनासोको सुविधा नहुँदा तत्काल त्यो भूलबाट नै सिक्छ – के सही, के गलत ? न्याय के हो ? अन्याय के हो ? पाप के हो ? धर्म के हो ? आफ्नो को हो ? विरानो को हो ? प्रेम के हो ? घृणा के हो ? छुट्याउन सक्ने क्षमता बढ्छ, जसबाट व्यक्तिमा विवेकको जन्म हुन्छ – अब उसलाई कसैले गुलाम बनाउन सक्दैन । 

आफ्नो अहङ्कार र निजी स्वार्थपूर्तिका निम्ति प्रयोग गर्ने हिम्मत कसैले गर्न सक्दैन । इज्जत, प्रतिष्ठा, लोभ, मान–सम्मानको प्रलोभन देखाएर डरत्रासको सुनियोजित घेरामा कसैले बन्धक बनाउन सक्दैन । वास्तवमा जाग्रित चेतनाको मानिस मालिक हुन्छ । यो स्वनिर्णयको भूमिका शिष्यले स्वतन्त्रताबाट प्राप्त गर्दछ । मेरो जीवनको प्राधिकार मै हुँ । मेरो जीवनमा घट्ने राम्रा–नराम्रा, शुभ–अशुभ परिदृश्यका लागि म आफैँ जिम्मेवार छु । मेरा उल्झनहरूको समाधान गर्न अरू कोही आउँदैन । अन्ततः म आफैँ सच्चिनु पर्छ भन्ने मानसिकताको दिगो तयारी ‘जीवन विज्ञान’ ले स्ववचनका माध्यमद्वारा प्रभावकारी ढङ्गले सञ्चरण गर्दै आएको छ ।

अध्यात्मको साधकमा मूलभूत रूपमा सदैव एउटा जिज्ञासा रहेको हुन्छ – प्रयास कति गर्ने ? समर्पण कति गर्ने ? यो अहम् प्रश्नमा ‘जीवन विज्ञान’ का संस्थापकद्वयबाट निःसृत ज्ञान अत्यन्तै सान्दर्भिक र घतलाग्दो छ । परमात्माको मौन कानुनमा यहाँ सित्तैमा केही पाइँदैन, पाइयो भने पनि त्यसको कुनै मूल्य हुँदैन, अर्थहीन हुन्छ । धनार्जनमा मेरो पसिना भिजेको छैन भने त्यो ग्रहण गर्नु पाप हो । कुनै सम्बन्धमा मेरो प्रेमको लगानी मिसिएको छैन भने त्यो धोका हो । प्रत्येक कर्म गर्दा चाहे त्यो व्यायाम होस् या व्यवसाय, ध्यान होस् या धनार्जन – शतप्रतिशत प्रयास गर्नु पर्छ, जसरी सय डिग्रीमा मात्र पानी उम्लिन्छ । हरेक प्रक्रियामा पूरै प्रयासले मात्र व्यक्तिभित्रको प्रतिभा, साहस र शक्ति अतिरिक्त बलका रूपमा निस्कन्छ । जति प्रयोग गर्न, जति उत्खनन गर्न खोज्यो, आफूभित्रको ऊर्जा र क्षमता त्यति नै गुणात्मक भएर बढ्छ । थोरै प्रयासले थोरै सफलता र धेरै प्रयासले बढी नै सफलता प्राप्त हुन्छ । ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’, महाकवि देवकोटाको झैँ महान् लक्ष्य लिएर त्यसलाई चुम्न शिष्यले शतप्रतिशत प्रयास जारी राख्नु पर्छ । 

‘ऐश्वर्य विज्ञान’ र ‘समृद्धि विज्ञान’ ले आत्मिकसँगै भौतिक जीवनमा पनि कसरी सफलता हासिल गर्ने भनेर सिकाउँछन् । मनुष्ययोनि कर्मयोनि हो । यो योनिमा कुनै पनि कुरा हासिल गर्न ठूलो मूल्य चुकाउनु पर्छ, नयाँ सिर्जनात्मक बाटोमा हिँड्नु पर्छ । आफ्नो मार्ग पहिचान गर्न नसकेर लाखौँ युवा गन्तव्यहीन भएको परिप्रेक्ष्यमा यी कार्यक्रमले आफू वास्तवमा के बन्न जन्मेको हो भनेर मार्ग पहिल्याउन सिकाउँछन् ।

प्रत्येक व्यक्ति प्रत्येकभन्दा फरक छ । सबैसँग आ–आफ्नै क्षमता र सिप हुन्छन् । अरूसँग नक्कल नगरी आफू कुन कर्म गर्दा चम्किन सकिन्छ, त्यो विधाको छनोटपछि कसरी काम गर्ने, कसरी दीर्घकालीन योजना बनाउने, योजनालाई खण्डीकृत गरी मासिक लक्ष्य कसरी निर्धारण गर्ने, कसैसँग प्रतिस्पर्धा नगरी म आफ्नो खुबीमा कसरी अब्बल बन्न सक्छु ? यावत् विषयमा यी कार्यक्रममा जानकारी गराइन्छ । 

त्यस्तै ‘तनाव विसर्जन क्रिया’ र ‘खुसी विज्ञान’ अर्का महत्वपूर्ण कार्यक्रम हुन् । तनाव विसर्जन गर्न समस्याको मूल जरोमै पुगेर ‘जीवन विज्ञान’ ले उत्कृष्ट ढङ्गले समाधान दिएको छ । तनाव व्यवस्थापनपछि व्यक्तिभित्रको अपार खुसी छचल्किएर बाहिर निस्किन्छ । जस्तोसुकै विषम परिस्थितिमा पनि खुसी हुन सक्नु नै जीवनको सार्थकता र महान् उपलब्धि हो । 

सातदिने ‘चक्र विज्ञान’ अर्को बहुउपयोगी कार्यक्रम हो । हामीसँग मूलाधार, स्वाधिष्ठान, मणिपुर, अनाहत, विशुद्धि, आज्ञा र सहस्रार गरी सात चक्र छन् । मूलाधार चक्र शारीरिक स्वास्थ्यसँग सम्बन्धित छ । यो चक्र स्वस्थ हुँदा व्यक्ति एकदमै क्रियाशील हुन्छ । खुसियाली र प्रफुल्लताको केन्द्र स्वाधिष्ठानलाई मानिन्छ । यो चक्र मानसिक स्वास्थ्यसँग केन्द्रित छ । मणिपुर चक्र प्राणिक स्वास्थ्य प्राप्त गर्ने आधार हो, जहाँ व्यक्ति आत्मविश्वास, आँट र साहसले भरिपूर्ण हुन्छ । 

अनाहत चक्र भावनात्मक स्वास्थ्यको आधार हो, जुन स्वस्थ हुँदा व्यक्ति प्रेमल र सहयोगी हुन्छ । विशुद्धि चक्रले बौद्धिक स्वास्थ्यको काम गर्छ । स्मरण शक्ति र ज्ञानको दायरा फराकिलो बनाउन यसले सहयोग गर्छ । आज्ञा चक्र आत्मिक स्वास्थ्यसँग निकट छ । दृढता, अठोट र सङ्कल्पमा अभिवृद्धि गर्ने काम आज्ञा चक्रले गर्दछ । सहस्रार चक्र परम् स्वास्थ्य प्रदान गर्ने शक्ति केन्द्र हो, जहाँ व्यक्ति परम् आनन्दको स्थितिमा उपलब्ध हुन्छ । चक्र भनेको ऊर्जाकेन्द्र हो । जसरी विद्युत्गृहमा विद्युत् उत्पादन गरिन्छ, त्यो शक्तिले आफैँ केही गर्दैन, अरूलाई क्रियाशील गराउँछ । जस्तै : विद्युत् भए पनि बल्ब नभए आफैँ उज्यालो हुँदैन, विद्युत् शक्तिले उपकरणलाई सक्रिय बनाउने काम गर्छ । हाम्रो शरीरमा भएका सात मूल उपकरण या चक्र; जसले हाम्रो जीवनलाई दिशा दिन्छन्, ती उपकरणलाई सक्रिय बनाउने काम शक्तिले गर्दछ । 

चक्रको काम हामीभित्र रहेको शक्तिलाई हाम्रो जीवनमा चाहिने विभिन्न आयाममा त्यसलाई रूपान्तरण गर्ने र त्यो शक्तिलाई क्रियाशील बनाउने हो । यी सात वटा शक्ति केन्द्रलाई राम्रोसँग काममा लगाउनका लागि आठौँ शक्ति (सुदर्शन चक्र) जसले सारा ब्रह्माण्ड चलाउँछ । यी सात वटा चक्रसँग सुदर्शन चक्रको सम्बन्ध बनाउनासाथ सबै चक्र सदैव स्वस्थ रहन्छन् र मनुष्य पूर्ण रूपमा स्वस्थ हुन्छ ।

यस्तै बोध विज्ञान, लय विज्ञान, सत् विज्ञान जस्ता कार्यक्रमहरू ध्यानका अत्यन्तै गहिरा र उत्कृष्टतम विधि हुन्, जहाँ ध्यान समाधिका गुह्य र रहस्यात्मक ज्ञानको सर्वोत्कृष्ट प्रयोग गरिन्छ । दुई आँखा बन्द गर्दा नै आनन्द आउन थालेपछि आन्तरिक गुफा (अन्तरआकाश) मा सजगताका साथ साधक प्रवेश गर्दै जान्छ । प्रारम्भमा आएका विचारका बाढीलाई बिनाकुनै मूल्याङ्कन चुपचाप स्वागतका साथ चेतनबाट अवचेतन मन या भौतिकबाट सूक्ष्म मनलाई छिचोल्दै जान्छ । यसरी विविध प्रकारका भावको अतिक्रमणलाई पनि नियाल्दै महसुस गरिरहँदा शिष्य जब अचानक निर्विचार अवस्थामा पुग्छ । त्यो शून्यतामा जहाँ ब्रह्माण्डीय ऊर्जा मात्र व्याप्त छ, जहाँ मन छैन, समय छैन, शरीर छैन, निराकार छ, जागृति छ, केवल आफू हुनुको बोध मात्र शेष छ । यो अनुभूतिपश्चात् मेरो परिचय के हो ? म किन यहाँ छु ? मेरो वास्तविक घर कुन हो ? म कहाँ पुग्नुपर्ने हो ? जस्ता आत्यन्तिक प्रश्न प्रामाणिक उत्तरको खोजीमा घनीभूत रूपमा उठ्न थाल्छन् । तत्पश्चात् लौकिक जीवनबाट अलौकिकतर्फ, नाशवान् वस्तुबाट अविनाशी तत्व अनि इन्द्रिय सुखबाट अतिन्द्रिय सुखमा आफैँभित्र शिष्यको ध्यान आकृष्ट हुन थाल्छ । 

लयविज्ञानको साधनामा आफू हुनुको बोधमा डुब्दै जाँदा सूक्ष्म मनमा अवस्थित वासना, लोभ, डर, इष्र्या, मोह, अहङ्कार आदि कहिले अग्निका रूपमा त कहिले शीतलताको लहरमा एउटा अनौठो कम्पन–तरङ्गका रूपमा महसुस हुन्छ । तत्क्षण ॐ रूपी परमात्माको ऊर्जाले आफूलाई पूरै नुहाइदिँदा सूक्ष्म मनका दूषित वृत्तिहरू, विगतमा गरेका गल्ती, पश्चातापका रापतापहरू, सङ्कलित कर्मबन्धनका विकारहरू आँखाबाट आँसुका रूपमा अविरल बहन थाल्छन् । यो क्षण व्यक्ति अत्यन्तै पवित्र, कञ्चन, प्रेमल, निर्मल र करुणामयी बन्छ । यति बेला अव्यक्त आनन्दको पराकाष्ठामा पु-याएर सत्यको बोध गराउने उनै सद्गुरुदेवप्रति अहोभाव र कृतज्ञतासहित शिष्यको गुरुप्रेम अनन्य भक्ति र श्रद्धामा रूपान्तरित हुन्छ । 

सद्विज्ञानको साधनामा सत्यसँग परिचित भइसकेको चैतन्यरूप लयबद्ध समाधिमा बीजब्रह्म ॐ को सङ्गीतमा टिकिरहन्छ । भित्रको सत्यसँग सम्मुख हुँदा बाह्य जीवनका कर्महरू स्वस्फूर्त परिवर्तन हुन्छन् । अब निःसर्त प्रेम, सेवा, दान, निष्काम कर्म र ध्यानमा मात्र शिष्यको मन जान थाल्छ । परमानन्दको अभेद्य–अपरिमेय अनुभूतिमा समग्र जीवन सर्वकल्याणको सेवामा समर्पित गर्न र सबैको सहयोगमा प्रयोग हँुदा शिष्यलाई आनन्द आउन थाल्छ ।  यसै गरी मौन साधनामा चित्तमा गढेर रहेका विकारहरूको समूल नष्ट गरी शिष्यलाई विमुक्त अवस्थामा पु-याइन्छ । अन्तर्मनको अन्तर्यमा पुग्दा पाँचवटै ज्ञानेन्द्रिय एक भई दिव्य अनुभूति घटित हुन्छ । त्यति बेला ‘अहं ब्रह्मास्मि’ बाहेक अरू केही शेष रहँदैन । यसरी भेद ज्ञानको समाप्ति भई आत्मा ब्रह्म चैतन्य हुने योगको तुरीय अवस्थामा मौनबाट पुग्न सकिन्छ ।  

यसै गरी ऊर्जाविज्ञान, ध्यानविज्ञान, ध्यान साधना, नवप्रतिभा विज्ञान (बालबालिकाका लागि), प्रशिक्षक निरन्तर शिक्षा, जीवनशैली विज्ञान, दिव्य संवाद आदि जीवन विज्ञानका उत्तिकै महत्वपूर्ण कार्यक्रमहरू हुन् । सानो समयमा यी सबैको सविस्तार वर्णन गर्न नसकिए पनि कसैलाई कुन कार्यक्रम त कसैलाई कुन कार्यक्रमले आनन्दित बनाउँछ । कोरोना महामारीले ध्यान केन्द्र बन्द रहेका बेला गुरुदेवहरूले डिजिटल प्रविधिबाट सञ्चालन गरेको ‘स्वसंवाद’ कार्यक्रमबाट देश–विदेशका कैयौँले लाभ लिएका थिए । कठिन परिस्थितिमा पनि कसरी सजगतापूर्वक सहज जीवन जिउने भन्ने महाज्ञान गुरुदेवहरूले दिनुभएको थियो ।   

त्यस्तै योग प्रशिक्षक/शिक्षक प्रशिक्षण कार्यक्रममा गुरुदेवहरूले आफूमा रहेको योगविधि शिष्यको पोल्टामा हालिदिनुहुन्छ । यो कार्यक्रमबाट प्रशिक्षित शिक्षक/प्रशिक्षकले बिहान ५ बजेदेखि आ–आफ्नो क्षेत्रका ध्यानकेन्द्रमा गएर दैनिक डेढ घण्टा प्रशिक्षण दिन्छन् । ध्यानका प्रयोगशाला विस्तारसँगै पछिल्लो समय डिजिटल माध्यमद्वारा पनि गुरुको ज्ञान फैलाउने कार्यले तीव्रता पाएको छ । 

त्यस्तै ‘कर्म नै धर्म हो, काम नै राम हो’ भन्ने उक्तिलाई आत्मसात् गर्दै सामाजिक जागरण अभियान र आर्थिक स्वावलम्बनको बाटोमा पनि उनीहरू अगाडि बढेको पाइन्छ । दुःखी मानवको सेवा गर्नु धर्म हो तथापि ध्यानका माध्यमद्वारा हरेक व्यक्तिभित्र विद्यमान आत्मविश्वास, साहस जगाएर स्वनिर्भर बनाइदिनु सर्वोत्तम सेवा हो भन्ने सत्यलाई ध्यानमा राखी योगशिक्षक/प्रशिक्षक महानतम् सेवामा समर्पित भएको पाइन्छ ।

अध्यात्मका साधकको गन्तव्य एउटै भएता पनि त्यहाँसम्म पुग्ने मार्ग व्यक्तिको स्वभाव अनुरूप फरक–फरक हुन्छ । त्यस कारण ‘जीवन विज्ञान’ मा सबै योग (राजयोग, हठयोग, भक्तियोग, कर्मयोग आदि) को सम्मिश्रण गरिएकैले होला, अधिकांशको एउटै मत छ – संसारका धेरै ठाउँमा अभ्यास गर्दा नलागेको ध्यान ‘जीवन विज्ञान’ मा आउँदा लाग्छ । ध्यानका लागि सबैको रोजाइ ‘जीवन विज्ञान’ हुँदै जाँदा काठमाडौँस्थित यसको मूल ध्यानकेन्द्र नै साँघुरो भइसकेको छ । ‘अति सर्वत्र वर्जयेत्’ भनिए झैँ जीवन विज्ञानका आधारभूत नियमहरू (जसमा – खानपान, जीवनशैलीलगायत जीवन व्यवस्थापनसँग सम्बद्ध नियमहरू छन् ।) कठोर छैनन्, प्रेमभाव, सरलता र विशेषतः स्वीकारभावमा आधारित छन् ।