• १० मंसिर २०८१, सोमबार

पनौतीका भित्तेचित्र

blog

काभ्रेपलाञ्चोक जिल्ला, पनौती नगरपालिका, खोपासीमा भएको लिच्छवि संवत् ५२० को अभिलेखमा शिवदेव र अंशु बर्माले द्वारोद्घाटन र कैलाश यात्राका समयमा खोपासी क्षेत्रबाट जनैपिच्छे पचास वटा सेता जातका माटो अर्थात् कमेरो केन्द्रमा पु-याउनुपर्ने थिति बसालेका थिए । कमेरो सेतो रङको माटो हो, विभिन्न मन्दिर देवस्थल तथा घर रङ्गाउन, सिँगार्न यसको उपयोग गरिन्थ्यो । लिच्छविकालका विभिन्न अभिलेखमा रङका बारेमा उल्लेख भएको पाइन्छ ।

संवत् ५२० को यो अभिलेख पनौती क्षेत्रको सबैभन्दा पुरानो अभिलेख हो । यस अभिलेखमा रेखाद्वारा निर्मित फूलहरूले सिँगारिएको धर्मचक्रको कलात्मक चित्र अङ्कित भएको छ । यस अभिलेखबाट चित्र, रङ र रङसित सम्बन्धित विषयको उपयोग पनौती क्षेत्रमा प्राचीन समयदेखि नै थियो भन्न सकिन्छ । साथै साँढे अङ्कित चित्र भएको लिच्छविकालीन मुद्रा पनि खोपासी र लायकुमा भेटिएको छ । 

मल्लकालमा पनौती क्षेत्र भक्तपुर राज्य अन्तर्गत पर्दथ्यो । भक्तपुरको विभिन्न मठ, मन्दिर, दरबारका भित्तामा विभिन्न देवदेवी तथा धर्म परम्परा समेटिएको भित्तेचित्र थिए र छन् । १८ इन्च उचाइ, कम्मरको भाग ९.५ इन्च र कम्मरको गोलाइ १५ इन्च भएको चार हजार वर्ष पुरानो प्राचीन नारी मूर्ति पनौती क्षेत्रमा विसं २०७७ सालमा फेला परेको थियो । हाल राष्ट्रिय सङ्ग्रहालय, छाउनीमा यस मूर्तिलाई राखिएको छ ।आर्ष वाङ्मय र लिपि विकासको महत्व नामक स्तम्भमा अर्जुन विरक्ति लेख्नुहुन्छ, “आर्ष वाङ्मय उत्तरापन्थ नेपालबाटै वैदिक चिह्न स्वर र लिपिहरू संसारमा चलेका छन् । सम्पूर्ण चिह्न, लिपि, सङ्केतादि सम्पूर्ण भाषा आदिको उत्थान हुनुले वैदिक चिह्न र सङ्केत स्वरबाट ब्रह्माण्डको नेतृत्व भएको छ ।” यसले नेपाली रेखा र रेखाचित्रको प्राचीनताको जानकारी दिलाउँछ । यसकै डोबमा पनौती लम्केको देखिन्छ ।

हरेक माघ महिना पनौतीमा साँखु र भक्तपुरबाट माधवनारायण लाने प्रचलन छ । माधवनारायणले ताःस्वां (१०८ थरिका फूल) लिन यात्रा गराइएको मानिन्छ । १०८ थरिका फूलले रङ्गीन पनौतीको सङ्केत गर्दछ । पनौती विविध जातजाति र बहुसांस्कृतिक विविधताले भरिपूर्ण भएको नगर हो । विविध जातजातिले आ–आफ्नो पर्व र उत्सवमा चित्रहरू लेख्ने वा कोर्ने वा रङ भर्ने गरिएको पाइन्छ । विभिन्न देवस्थल, सतल र घरमा हाल पनि चित्र अङ्कित रहेको पाइन्छ । जनकलाल शर्माद्वारा लिखित ललित–कला र साहित्य नामक पुस्तकको भूमिकामा सूर्यविक्रम ज्ञवालीले “घरका विविध भागमा नेवार सिकर्मीले काठको जो अङ्कन गरेको हुन्छ, त्यसको प्रशंसा जति गरे पनि थोरै हुन्छ । घरको मूलढोकामा अङ्कन गर्ने चलन थिएन । त्यसका दुईपट्टि भित्तामा लिउनलाई चित्रकारद्वारा नाना धार्मिक चित्र लेखाउने चलन थियो” भनी उल्लेख गर्नुभएको छ । साँच्चै दुईपट्टि भित्तामा लिउनलाई चित्रकारद्वारा चित्र लेखाउने प्रचलन पनौतीमा जीवन्त देख्न सकिन्छ ।

लेखक रत्नप्रसाद अनामणि श्रेष्ठका अनुसार “निजी घर, भवन, पाटी, सतल, मन्दिर तथा विहारहरूमा सुन्दर कलात्मक विभिन्न देवी देवताका चित्र प्राकृतिक रङले कोरिएको पाइन्छ ।” पनौतीका निजी घर, भवन, सतल र मन्दिरमा रङले पोतिएको चित्र भेट्न र हेर्न सकिन्छ । मुकेश मल्ल र ज्ञानेन्द्र विवश, नेपाली परम्परागत शिल्पकला (सङ्गोष्ठी प्रतिवेदन) प्रतिवेदनमा उल्लेख गर्नुहुन्छ, “अनेक जातजातिका मौलिक पहिचानका रूपमा रहेका पहिरन, गरगहनामा शिल्पकलाको पक्ष अत्यन्त प्रबल रहेको पाइन्छ । तिनमा देख्न सकिने वा रहँदै आइरहेका सूक्ष्म बुट्टा–बनोटका रङ, रेखा, लता–लहरा अनेकौँ सुन्दर अनि सन्तुलित आकृतिहरू हेर्दा लाग्छ, हाम्रा पुर्खा शिल्पकलामा साँच्चै साह्रै नै धनी थिए ।” 

चित्ताकर्षक पनौती र यस वरपर देखिएका, भेटिएका शिल्पकला नियाल्दा यहाँको पुर्खाले कलाकारितामय पनौती बनाउन सफल भएको सहजै भन्न सकिन्छ । पनौतीको इतिहासको चित्र यी कलाकर्मले अँध्यारोमा ज्योति झैँ छर्लङ्ग देखाउँछ । ऐतिहासिक र प्राकृतिक गन्धमाला पर्वत अर्थात् कुञ्ज पर्वतको फेदीमा पवित्र शचीतीर्थ छ । उक्त तीर्थमा लीलावती र रुद्रवती नदीको सङ्गममा कलाकारिताले भरिएको एउटै ढुङ्गामाथि अवस्थित पुरातात्त्विक  पनौती अश्मनगरलाई नियाल्दा सौन्दर्योपासकको मन उद्वेलित हुन पुग्दछ । मन्दिरै मन्दिरले शोभयमान देखिने यो नगरमा अष्टमातृका र अष्टभैरवका मूर्तिले सजिएको आकर्षक टुँडालहरूले सोन्दर्य थपिरहेको छत्रशैलीमा निर्मित ब्रह्माणी (ब्रह्मायणी) मन्दिर छ ।

मातृसत्तात्मक नेपालको प्राचीनताको प्रतीक अजिमा र कुमारीले सिँगारिएको पनौती चित्रमय इतिहासमा उच्च स्थानमा छ । पनौतीमा मनाइने पर्व र विभिन्न जात्रामा चित्रात्मक शैली प्रयोग हुने गरेको पाइन्छ । चाइनाको ‘हन्ड्रेड केभ’ नामक गुफामा पनौतीको नमबुद्ध (नमोबुद्ध) को चित्र बनाएर सजाई राखिएको छ । यो गुफा विश्वविख्यात छ । यस चित्रले पनौती र नमबुद्धलाई संसारभर चिनाउन मद्दत गरेको छ । 

इन्द्रेश्वर, भालेश्वर र धनेश्वर तीन वटा किराँतकालीन चौँसट्ठी ज्योर्तिलिङ्ग पनौती भेगमा छन् । यी ज्योर्तिलिङ्गको आसन कमलको फूलको रहेको छ । शिलामा कुँदिएको कमलको फूलको चित्र र जललहरीमा भएको नागको चित्र पनौतीको महìवपूर्ण शिलाचित्र हुन् । विद्यालय निर्माण गर्न २०÷२५ फिटको थुम्को सम्याउँदा कुशादेवी विहारमा भेटिएको माटाको थाली र उक्त थालीमा कोरिएको चित्र अति प्राचीन भएको पुरातत्वका कर्मचारी बताउँछन् । पनौती इन्द्रेश्वर प्राङ्गणको सङ्ग्रहालयमा रहेको मध्यकालीन समयको तन्त्रका ग्रन्थमा विभिन्न पक्षलाई उजगार गर्ने चित्र छन् । कलाविद् मीनबहादुर शाक्यको भनाइ अनुसार सन् ९९८ का नेपाली शासक नरेन्द्रदेवको पालादेखि नै नेपालमा ग्रन्थचित्रको सुरुवात भइसकेको थियो । लिच्छविकालीन र मध्यकालीन समयका हितीहरूमा पनि कलात्मक चित्र पनौती क्षेत्रमा पाइन्छन् । पनौतीमा पाइएका ६५ वटा शिलालेखमा चित्रकलाको भरपूर उपयोग भएको पाइन्छ । पनौती भेगमा रहेका काठ, धातु र प्रस्तरमा भएको विभिन्न समयका चित्रात्मक कला नेपाली कलाका उच्चतम नमुना हुन् ।

बनेपा, धुलिखेल, पाँचखाल, भकुन्डेबेँसी, बल्थली, ललितपुर, भक्तपुर आदिले घेरिएर रहेको महत्वपूर्ण ऐतिहासिक र सांस्कृतिक नगर हो पनौती । सातौँ शताब्दीतिर हुयनसाङले नेपाली घरका भित्तामा चित्र रहेको उल्लेख गरेका छन् । पनौतीका कैयौँ घरका भित्तामा चित्र अङ्कित भएको वर्तमानमा पनि देख्न सकिन्छ । विभिन्न सामाजिक उद्देश्य दर्साउन भित्तामा चित्र लेख्ने प्रचलन पनौतीको प्राचीन कलाकारिता हो ।

चन्द्रागिरि सतुङ्गलको वैष्णवी मन्दिर, काठमाडौँ कुमारीघरका भित्तेचित्र, भक्तपुरको तलेजु मन्दिर, भक्तपुरको ब्रह्मायणी मन्दिर, बनेपाको चण्डेश्वरी, पशुपतिको जयवागेश्वरी मन्दिर, स्वयम्भूको शान्तिपुरको भित्तेचित्र, उग्रचण्डी नालाको भित्तेचित्र, मुस्ताङको झोङ गुफा, मेरापिक हिमालको ड्रागनको चित्र, नृसिंह मठ खोपासी, पनौतीकै त्रिवेणी घाट सतलका जस्तै पनौती ब्रह्मायणी मन्दिरको भित्तेचित्र अनुसन्धानकर्ता र पारखीका लागि विशेष स्वाद हुन् ।

भारत ‘कटक स्टेट’ की राजकन्या जङ्गबहादुर कुँवर राणाकी चौथो महारानी जसलाई गङ्गा महारानी भनेर चिनिन्छ । उनै महारानीद्वारा निर्मित त्रिवेणीघाटको सत्तल र सत्तलमा रहेको दस अवतार र कृष्णलीलाका चित्रले पनि पनौतीलाई शोभायमान बनाइरहेको छ । शैव भूमिमा वैष्णव प्रकृतिका चित्रकलाको उपयोग हुनु धार्मिक सहिष्णुताको मनोरम नमुना हो । यस चित्रकलाले पनौतीको विगतका सामाजिक पक्षलाई सहजै बुझाउँछ । 

ब्रह्मायणी मन्दिरमा क्रमशः संवत् ८१८, संवत् ८२०, संवत् ८३६, संवत् ८४१, संवत् ८९७ र संवत् ९५० का शिलालेख पाइएका छन् । मिति नखुलेका अभिलेख र तोरण पनि मन्दिरमा छन् । ती शिलालेखमा ब्रह्मायणी देवीको गुणगान गाउनुका साथै मन्दिरमा चढाइएका सामग्री अनि देवल निर्माणका वर्णन पाइन्छन् । पनौती क्षेत्रको ऐतिहासिक अवस्थितिबारे शिलालेखले जोडदार बोलेको छ । मन्दिरभित्र त्रैलोक्य मल्लको समयकालको नेस ७८९ को अभिलेखको अधिकांश भाग खण्डित रहेको छ । इतिहासकार केदारनाथ प्रधानका अनुसार “मध्यकालीन संस्कृति र कलाकौशलको दृष्टिमा भक्तपुरपछि पूर्वतिरका बस्तीहरूमा पनौतीलाई अग्रणी मान्न सकिन्छ ।” यो अग्रणी स्थानमा ब्रह्मायणी देवी विराजमान हुनुहुन्छ । शैव आदर्शमा जीवन्त रहेको यो देवीको जात्रा कहिलेदेखि चल्न थाल्यो भन्न सकिन्न तर प्रत्येक ज्येष्ठ पूर्णिमाको दिन पनौतीको जात्रा हुने गर्दछ । ज्यापुन्ही जात्राका रूपमा चिनिएको यस जात्राको सांस्कृतिक महत्व विशेष रहेको छ । द्वादशी, त्रयोदशी, चतुर्दशी र ज्येष्ठ पूर्णिमासम्म चल्ने यस जात्राको महत्वपूर्ण देवी ब्रह्मायणी हुन् । यस कारण यस जात्रालाई ब्रह्मायणी जात्रा पनि भनिन्छ । 

जात्रा आफैँ एक कला हो । कलामा कलाकारिताको प्रयोग अनिवार्य हुन्छ । त्यसकै प्रतीकका रूपमा ब्रह्मायणी मन्दिरमा चित्रकलाको प्रयोग भएको पाइन्छ । मन्दिरमा भएको भित्ते चित्रले धार्मिक, सांस्कृतिक पक्षको उजागर गरेको छ । मध्यकालीन पनौतीको कलात्मक विशेषता भित्ते चित्रले दर्साएको छ । पमारी टोलमा रहेको द्येःछे (ब्रह्मायणीको घर) का भित्तामा (ब्रह्माणी, महेश्वरी, कौमारी, वाराही, वैष्णवी, इन्द्राणी, नारसिंही र महालक्ष्मी) मातृका गणको चित्रले शोभयमान गराएको छ ।

महेश्वरी महेश्वरकी शक्ति, कौमारी स्वामी कार्तिकेयकी शक्ति, वैष्णवी विष्णुकी शक्ति, बाराही बराहकी शक्ति, नारसिंही नृसिंहकी शक्ति, इन्द्राणी इन्द्रकी शक्ति र ब्रह्माणी ब्रह्माकी शक्ति मान्ने गरिन्छ । मातृका गणद्वारा मानिसका विभिन्न अङ्ग प्रत्यङ्गको रक्षा गर्ने तान्त्रिक मत रहेको हुनाले लोकमा पूजनीय भएका हुन सक्छन् । 

मातृकाको द्वारपाल सिंहिनी र ब्याघ्रिनी, अष्टभैरव, भैरवी, बेताल र तिनले प्रयोग गर्ने आयुधहरूका चित्र छन् । चित्र जीर्ण भए पनि यस चित्रले पनौतीको आधुनिक चित्रकलामा आफ्नो छाप छोड्न सफल भएको छ । घरको भित्ताको आधार मान्ने हो भने यो चित्र राणाकालीन समयको हो । न्यु आर्ट सर्कलका उपाध्यक्ष तथा चित्रकार नरेश सैँजूका अनुसार “त्रिवेणीघाट ब्रह्मायणी पीठभित्र भित्तामा रहेको ब्रह्मायणीको चित्र ११ औँ देखि १३ औँ शताब्दीको हो । यो चित्र भक्तपुरको ब्रह्मायणी पीठको चित्रभन्दा पुरानो शैलीको छ । यसको उचित प्रसार गर्न सकिएन ।” मातृका गणका टुँडालले सजिएको यो मन्दिर तीन तले नेपाली शैलीमा छ । बिनाजग नै यो मन्दिर ठडिएको जनविश्वास छ । ब्रह्मायणी पीठमा भएको चित्रको समयसीमाबारे मतहरू फरक फरक छन् । भक्तपुरको ब्रह्मायणी पीठमा भक्तपुरवासीले नयाँ बनाएको नवदुर्गाको मुकुण्डोहरूको दर्शन गर्ने परम्परा छ । 

आषाढ कृष्ण अष्टमीको दिन मुकुण्डोलाई सेतो कपडामा बेरी ब्रह्मायणी मन्दिरमा लाने र मुकुण्डोको अन्तिम दाहसंस्कार गरिन्छ । “पनौतीको ब्रह्मायणी जात्रा र भक्तपुरको ब्रह्मायणी जात्रामा केही समानता भेटिए पनि स्थान परिवेशका आधारमा केही फरक हुन पुगेको छ” भनी स्थानीय संस्कृतिविद् शिव जङ्गम बताउनुहुन्छ ।

ब्रह्माणी अर्थात् ब्रह्मायणी ब्रह्माको शक्ति हुन् । कमण्डलु बोकेको हाँसमाथि बसेको गरगहनाले शोभित भएकी देवीले रक्षा गरून् । ‘ब्राह्मी हंसमारुढा सर्वाभरणभूषिता’ भनी कोमल चण्डीमा उल्लेख छ । ‘शुक्तं ब्रह्माणी ! मे रक्षेच्छाया’ हे ब्रह्माणी ! तिमीले मेरो वीर्यको रक्षा गर ।यस्तै भद्रकालीले घाँटी, वाराहीले आयु, वैष्णवीले धर्म, इन्द्राणीले गोत्र र कुलक, महालक्ष्मीले छोराछोरी, भैरवीले मेरी पत्नीको रक्षा गरून् भनी कोमल चण्डीमा उल्लेख छ । यी र यस्ता विशेषता बोकेका कारण मातृका गण पुजिए र सम्मान स्वरूप चित्रहरू बनाउने कार्य भयो । ब्रह्माणीले आफ्नो कमण्डलुको जल छर्केर शत्रुको बल र पराक्रम नष्ट गर्ने गर्छिन् । 

अनादिकालदेखि मातृका गण, देवी वा स्त्री तत्वलाई प्रधानता मान्ने प्रचलन वर्तमानसम्म पनि यथावत् रहेको पाइन्छ । शाक्य सम्प्रदाय वा धर्मका रूपमा यस प्रचलनलाई लिने गरिन्छ । वर्तमान समाज मातृसत्ताबाट नै विकास भएको प्रतीकका कारण देवी, स्त्री, माता आदिलाई शक्तिका रूपमा पुज्ने प्रणालीको विकास भएको हुनु पर्छ । सिन्धुघाँटीको सभ्यतामा अनेक स्त्रीका मूर्ति प्राप्त भएका छन् । देवीहरूलाई उग्रदेवी, सम्यमदेवी र कामदेवीका रूपमा चित्रण गरिएको पाइन्छ । “तन्त्रशास्त्रमा शक्तिको महिमालाई सर्वोपरि मानिएको छ । तान्त्रिक उपासनामा यन्त्र र मन्त्रको प्रचुरता पाइन्छ । यन्त्र देवताको शरीर र मन्त्र आत्मा हुन्” (कल्पना श्रेष्ठ, काठमाडौँ उपत्यकाको सांस्कृतिक परम्परा) । 

श्रीयन्त्र जडित पनौतीको ब्रह्मायणी पीठ काठमाडौँ, कमलादीको पासिको अजिमा (ब्रह्मायणी), ललितपुर सानेपाको ब्रह्मायणी, भक्तपुर तौलाछेँको ब्रह्मायणीभन्दा पद्धति र प्रणालीमा फरक छ । महाकाली, महालक्ष्मी र महासरस्वतीमध्ये ब्रह्मायणीलाई महासरस्वतीका रूपमा लिइन्छ । पनौतीको सांस्कृतिक वैभवमा चित्रकलाले थप योगदान थपेको छ ।