• २० असोज २०८१, आइतबार

सुरु भयो तिम्बुङ पोखरी यात्रा

blog

फिदिम, साउन २० गते । उच्च पहाड, एकै छिनमा ड्याम्म कुहिरोेले ढाक्ने त एकै छिनमै हावा चलेर कुहिरो उडाइ लाने । एकान्त स्थल स्वच्छ वातावरण अनि चौँरी र भेडाको दुधसँगै दुधजन्य परिकार पाइने लेकाली गोठ । साँच्चिकै सुन्दर छ तिम्बुङ पोखरी ।

पाँचथरको याङवरक र ताप्लेजुङको सिदिङमा गाउँपालिकाको सङ्गम स्थलमा पर्ने यो पोखरी समुद्री सतहदेखि चार हजार ३८० मिटर उचाइमा छ । आसपासमा शिव पोखरी, सूर्य कुण्ड, दुध कुण्ड, हाँस पोखरी, मयुर पोखरी र नीर पोखरी गरी अठार वटा पोखरी छन् भने कुम्भकर्ण हिमालको वरिपरि १७८ कुण्ड माला उनिएजस्तै देखिन्छन् ।

प्राकृतिक सुन्दरता रमणीयता, पशुपन्छी रङ्गीचङ्गी फूल, अनेकौँ जडीबुटी आदिले यहाँको वातावरण झनै मनमोहक देखिन्छ । साउन लागेसँगै सुन्दरता र प्राकृतिक साजसज्जाले भरिपूर्ण तिम्बुङ पोखरी जान उत्तम हुने स्थानीय वडाध्यक्ष देउकुमार योङ्हाङ बताउनुहुन्छ  ।  

ऐतिहासिक, धार्मिक, जैविक विविधताले सम्पन्न तिम्बुङ पोखरी पाँचथर सदरमुकाम फिदिमबाट मेची राजमार्ग र निर्माणाधीन मध्यपहाडी लोकमार्ग प्रयोग गरेर च्याङथापु जान सकिन्छ । यसबाहेक झापाबाट इलामको फिक्कल पशुपतिनगर, सन्दकपुर र फालौट भएर पनि यहाँ पुग्न सकिन्छ । मोटर बाटो सुविधा भएका स्थानबाट कम्तीमा दुई दिन पैदल यात्रापछि यहाँ पुगिन्छ ।

हरेक वर्ष जेठदेखि असोजसम्म, स्वदेशी तथा विदेशी पर्यटक भ्रमणका लागि आउने साउन र भदौ महिनालाई यहाँ जान उत्तम मानिन्छ । पोखरीका आसपासमा पर्यटकका लागि सुविधायुक्त होटल नभए पनि यहाँ पर्यटकको सुविधाका लागि केही होमस्टे र ठुला ठुला चौँरी गोठ छन् । यहाँ जाने पर्यटकले फालौट वा च्याङ्थापु जहाँबाट गए पनि याकलाई भारी बोकाएर लैजान सक्छन् ।  

तिम्बुङ पोखरीमा असोजदेखि वैशाख महिनासम्म हिउँ पर्ने गरेकाले पुग्न कठिनाइ हुन्छ । यहाँ जाने उपयुक्त मौसम भनेको वैशाखदेखि असोज पहिलो सातासम्म हो । साउन महिनामा पर्ने नागपञ्चमीदेखि भदौको जनैपूर्णिमा हुँदै श्रीकृष्ण जन्माष्टमीलगायतका पर्वमा त यहाँ जाने भक्तजनको भिड लाग्छ । यो बेला केञ्जोसहितका जडीबुटी ढकमक्क फुल्ने भएकाले तिम्बुङ पोखरी जान उपयुक्त हुने स्थानीय सामाजिक अभियन्ता कृष्ण प्याकुरेल बताउनुहुन्छ ।

तिम्बुङ पोखरीबाट निस्केको मूलपानी इवा खोलाको उत्पत्ति स्थल हो । यो पोखरीको पानी सङ्लो र पारदर्शी छ । पोखरीमा तीर्थयात्रीले चढाएको पैसा र अन्य वस्तु पिँधमा मान्द्रोमा बिस्कुन फिँजाएझैँ स्पष्ट देखिन्छ । मौसम सफा भएका बेला कञ्चनजङ्घा र कुम्भकर्णसहित विभिन्न हिमश्रृङ्खलाको मनमोहक दृश्य, अग्ला पहाड र थुम्का भारत र सिक्किमका विभिन्न ठाउँ देख्न सकिन्छ । साउन भदौमा पोखरीकोे छेउछाउमा फुल्ने केञ्जोले त्यहाँको वातावरण सुगन्धित र मनमोहक पार्छ ।

योसँगै विभिन्न प्रजातिका लालीगुराँस चिमल, माइकोपिला, सुनाखरी, पाँचऔले, हडचुर, पदमचाल कालो र सेतो विखमा, कुड्की, पाखनबेत, बुढोओखती, भैरुङ्पाती, सुनपाती, सिक्पाजस्ता वनस्पति र भालु, कस्तुरी, वनभेडा, बँदेल, रेडपान्डा र हिउँ चितुवा आदि दुर्लभ प्रजातिका वन्यजन्तु पाइने स्थानीय प्याकुरेलले बताउनुभयो । करिब तीन सय वर्षअघि भेडीगोठ सार्दै उच्च पहाडी र हिमाली क्षेत्रमा भेडा पाल्ने व्यवसायीले भेडीगोठ सार्दै जाने व्रmममा यो पोखरीमा पहिलो पटक पुगेर तिम्बुङ पोखरी पत्ता लगाएको भन्ने जनश्रुति छ ।

बुढापाकाहरूका अनुसार पृथ्वीमा ठुला ठुला घटना दुर्घटना हुने बेलामा तिम्बुङ पोखरीमा बन्दुक पड्के जस्तोे आवाज आउँछ । लिम्बू भाषामा बन्दुकलाई तिम्मक भनिन्छ । घटनाको बन्दुक पड्केको आवाजमा जनाउ दिने भएकाले यसलाई लिम्बू भाषामा तिम्मक नामकरण गरिएको जनश्रुति छ । पछिल्लो समयमा अपभं्रश भएर तिम्बुङ पोखरी हुन गएको भाषाका जानकारहरू बताउँछन् ।

यस क्षेत्रको विकासका लागि ताप्लेजुङ र पाँचथर तर्फबाट प्रयास भइरहेका छन् । पोखरीसम्म पुग्ने घोडेटो बाटो निर्माण भएको छ । दुवै स्थानीय तहको पहलमा एकीकृत विकास योजना बनाउने तयारी भइरहेको याङवरक गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङ्याले बताउनुभयो ।

Author

राधा लुइटेल