• २० वैशाख २०८१, बिहिबार

पूर्वाधारलाई प्राथमिकतामा राखेका छौँ

blog

महोत्तरी जिल्लामा पर्ने बर्दिबासको छुट्टै परिचय छ । पूर्वपश्चिम राजमार्गमा विकास भएको यो सहर यातायातको केन्द्र बनेको छ । पछिल्लो समय व्यापारिक, पर्यटनको विकास हुँदै गएपछि सहर विस्तारको क्रम तीव्र छ । स्थानीय तहको गत निर्वाचनमा नेपाली कांग्रेसले सुरुमा उम्मेदवार बनाए पनि पछि खोसेपछि प्रह्लाद क्षेत्री स्वतन्त्र उम्मेदवारका रूपमा नगर प्रमुख पदमा विजयी बन्नुभयो । यसले उहाँलाई चर्चाको शिखरमा पु-यायो । नगरको विकासका लागि सबै पक्षसँग सहयोग र सहकार्य गर्ने उद्घोषका साथ अगाडि बढ्नुभएका नगर प्रमुख प्रह्लाद क्षेत्रीसँग नगर क्षेत्रमा भएका विकास र प्रगतिबारे गोरखापत्रका रवीन्द्र उप्रेतीले गर्नुभएकोे कुराकानीको सम्पादित अंश :

चुनावमा तपाईंको नारा थियो ‘भाषणमा हैन काममा विश्वास राख्छौँ, भनेर हैन गरेर देखाउँछौँ’ । नगर प्रमुखको दायित्व सम्हालेको वर्ष दिनभन्दा बढी भइसकेको छ, के के गरेर देखाउनुभयो ? 

हामीले विकासका विभिन्न आधारमध्ये पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेका छौँ । त्यसमध्ये सडक पनि एक हो । सडकले नगरको समृद्धि र प्रगतिलाई सहज बनाउँछ । बर्दिबासको ग्रामीण भेगमा स्तरीय मार्ग र योजनाबद्ध सडकको विकास उपेक्षित हुँदै आएको गुनासोलाई सम्बोधन गर्न १४ वटै वडाका एक÷एक वटा सडकलाई कालोपत्रे गरेका छौँ । सिन्धुली जिल्लाको सीमासँग जोडिएका सडक नै नभएका कालापानीदेखि पर्साइधाप क्षेत्रलाई आठ किमी सडकले जोड्ने काम पनि भएको छ । राजाबासलाई बिपी राजमार्गमा जोड्ने रातु खोला र बर्दिबास–८, लोप्चन टोल नजिकको जङ्गहा खोलामा पुल निर्माणका लागि यसै आर्थिक वर्ष टेन्डर खोल्ने तयारीमा जुटेका छौँ । यो वर्ष दिनको अवधिमा कच्ची पक्की गरी २५ किमी सडक, चार वटा विद्यालयमा गरी १२ कोठे शैक्षिक भवन निर्माण, ७८ जना नगर शिक्षक भर्ना, प्रतिस्पर्धामा प्रधानाध्यापक नियुक्ति गरी कार्यसम्पादन सम्झौता, ५९ वटा कृषि इनार र डिप बोरिङलगायत विकासका समग्र क्षेत्रलाई समेट्ने गरी काम भएका छन् । 

बर्दिबासको अव्यवस्थित जग्गा पञ्चायत कालदेखि कै चुनावी मुद्दा हो । तीन पुस्तादेखि बसोबास गर्दै आएका व्यक्तिले धनीपुर्जा पाएका छैनन् । यो समस्या समाधानमा तपाईंको ध्यान गएको छ कि छैन ? 

हामी जनभावनासँग खेलवाड गर्दैनौँ । ऐन, कानुन र यथार्थको धरातलमा टेकेर यो अव्यवस्थित बसोबासको समस्या समाधान गछौँ  । हामी सही व्यक्तिलाई धनीपुर्जा दिन हामी प्रयासरत छौँ । भूमि व्यवस्था ऐनमा सुकुमवासी, अव्यवस्थित बसोबासीलाई सहरी क्षेत्रमा पौने आठ धुर, ग्रामीण र सहरोन्मुख क्षेत्रका सुकुमवासीलाई एक कट्ठा र अव्यवस्थित बसोबासीलाई दुई कट्ठा १९ धुर तथा कृषि प्रयोजनका लागि बढीमा डेढ बिघा मात्र जग्गा पाउने व्यवस्था छ तर यहाँ यो हदबन्दीभन्दा धेरै जग्गा हकभोग गरेको देखिएको छ । हामी कानुनविपरीत जान सक्दैनौँ । कानुनको पालना गर्दा धेरैले हदबन्दीभन्दा बढी भएका जग्गा छाड्नु पर्ने हुन्छ । जनताले पुस्तौँदेखि उपभोग र बसोबास गर्दै आएको जग्गा कुनै पनि बहानामा खोसिनु हुँदैन भन्ने हाम्रो मान्यता हो । यो अवस्थालाई सहजीकरण गर्दै ऐलानी जग्गालाई यकिन गरी नगरपालिकाले अस्थायी निस्सा दिने व्यवस्था मिलाउँदै छ । यसका लागि ऐन बनाउन भर्खरै ‘ऐलानी जग्गाको विवरण सङ्कलन तथा अभिलेखीकरण र व्यवस्थापनसम्बन्धी विधेयक, २०८०’ लाई नगर सभाले सर्वसम्मत स्वीकृत गरेको छ । 

बर्दिबास पर्यटनको मुख्य केन्द्र बन्न सक्छ । पर्यटनले नगर र नगरवासीको आर्थिक समृद्धिमा महŒवपूर्ण योगदान दिन सक्छ । पर्यटन प्रवर्धनका लागि तपाईंको सोच के छ ? 

सडक सञ्जाल राम्रो रहेको बर्दिबासमा निकट भविष्यमै रेल पनि आउँछ । यसले यहाँको आवागमनमा थप वृद्धि हुने छ । यो होटलको हब पनि हो तर पर्यटकीय स्थल कम छन् । आगन्तुकलाई कम्तीमा पनि एक रात बसाउन बर्दिबासमा फन पार्क, बिपी राजमार्गको छेउमा पर्ने पाटुको ३२ बिघा नदी उकास जग्गामा ताल निर्माण जस्ता कामलाई नीतिगत रूपमा अगाडि बढाएका छौँ । माई स्थान र टुटेश्वरनाथलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न कालोपत्रे सडक, पोखरी सौन्दर्यीकरण जस्ता काम भएको छ । पूर्वपश्चिम राजमार्गदेखि प्राचीन शिवालय टुटेश्वरसम्मको छ किमी सडक पनि यसै आर्थिक वर्षभित्र कालोपत्रे गर्ने तयारी पुरा भएको छ । पर्यटकीय गन्तव्यको पहिचान, तिनको संरक्षण संवर्धनका लागि बर्दिबासस्थित होटल तथा पर्यटन व्यवसायी सङ्घसँगको सहकार्यमा काम अगाडि बढाइएको छ । 

तपाईंले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभएको थियो । अहिले बर्दिबास अस्पतालमा सेवासुविधा बढे पनि बेथिति बढेको गुनासो छ । समग्र स्वास्थ्य क्षेत्रलाई कसरी सुधार गर्नुहुन्छ ?

स्वास्थ्यको कुनै विकल्प हुँदैन, यो निर्विकल्प सेवा हो । त्यसैले हामी आउँदा लथालिङ्ग अवस्थामा रहेको स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर सुधारको प्रयास ग¥यौँ । बर्दिबास अस्पतालमा विशेषज्ञ सेवा सुरु ग¥यौँ । स्वास्थ्य बिमा, निःशुल्क शववाहन सेवा, सुत्केरीलाई थप पोषण भत्ता र निःशुल्क एम्बुलेन्सको सेवा पनि सुचारु छ । अस्पताललाई सुविधासम्पन्न बनाउन दुई करोडभन्दा बढीको स्वास्थ्य सामग्री प्रदान गरिएको छ । १४ वटै वडाका १९ ठाउँमा आधारभूत स्वास्थ्य सेवाको विस्तार गरिएको छ । बिजलपुरा र दुर्गम क्षेत्र खयरमारामा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ । 

कृषि क्षेत्र अधिकांश जनताका जीवनको आधार हो तर सिँचाइको अभावमा जमिन बाझिँदै छ, उत्पादन कम छ नि ।

अनावृष्टिको प्रभाव बर्दिबासको मात्र नभएर समग्र मधेश प्रदेशकै हो । सिँचाइ सुविधा भएका क्षेत्रमा तुलनात्मक रूपले समस्या कम देखिएका छन् । टुटेश्वरलगायत बाँकी सुक्खा क्षेत्रमा पनि कस्तो सिँचाइ सुविधा दिने भन्ने विषयमा किसानसँग छलफल भइरहेको छ । सुक्खापीडित किसानलाई के कस्तो सेवा सुविधा र राहत दिन सकिन्छ सङ्घ र प्रदेशसँग परामर्श अगाडि बढेको छ । यसका साथै ‘लम्पी स्किन’ रोगबाट सबैभन्दा बढी बर्दिबासका किसान प्रभावित भए । नगरपालिकाले तीन लाख रुपियाँ बजेट छुट्याएर ‘लम्पी स्किन’ प्रभावित चौपायाको उपचारको व्यवस्था मिलाइएको छ ।