• ४ पुस २०८१, बिहिबार

खरका छाना विस्थापित

blog

तिलाचन पाण्डे

तम्घास, साउन १६ गते । गुल्मीमा खरका छाना विस्थापित कार्यक्रमबाट आठ हजार २४९ घरहरूमा जस्तापाता लगाइएका छन्। आगलागी र मनसुनजन्य विपत्बाट बचाइ सुरक्षित आवास निर्माणका लागि आठ हजार २४९ खरका छाना विस्थापित गरी जस्तापाता लगाइएको स्थानीय तहको तथ्याङ्कमा उल्लेख छ।

मुसीकोट नगरपालिकामा करिब एक हजार दुई सय खरका छाना भएका घरमध्ये एक हजार २१ घरमा जस्तापाता लगाएको नगरपालिकाले जनाएको छ। बाँकी १७९ घरमा पनि जस्तापाता लगाउने कार्य अन्तिम चरणमा पुगेको र हालसम्म करिब साढे चार करोड खर्च भएको सूचना प्रविधि अधिकृत समुन्द्रविक्रम रायमाझीले जानकारी दिनुभयो। यस्तै रेसुङ्गा नगरपालिका गुल्मीमा कुल सात सय घरधुरी खरका छाना रहेकोमा सबै घरधुरीमा जस्तापाता लगाइसकिएको नगरपालिकाले जनाएको छ। 

सबै घरधुरीमा जस्तापाता लगाइसकिएकाले अब खरका छानामुक्त नगर घोषणाको तयारीमा रहेको सूचना अधिकारी शङ्करप्रसाद गौतमले जानकारी दिनुभयो। जसका लागि एक करोड रुपियाँ खर्च भइसकेको नगरपालिकाले जनाएको छ। 

रुरुक्षेत्र गाउँपालिका ७४९ घर खरका छाना भएकोमा ७२५ घरमा जस्तापाता लगाइसकेको र बाँकी २४ घरमा जस्तापाता लगाउने कार्य बाँकी रहेको गाउँपालिकाले जनाएको छ। यसै आर्थिक वर्षमा पालिकालाई खरका छानामुक्त घोषणा गर्ने तयारीमा रहेको सूचना अधिकारी कृष्णप्रसाद न्यौपानेले जानकारी दिनुभयो। चन्द्रकोट गाउँपालिकामा भने कुल एक हजार तीन घर खरका छाना भएकोमा ८६४ घरमा जस्तापाता लगाइएको र बाँकी १३९ घरमा जस्तापाता लगाउने अभियान जारी रहेको सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले जानकारी दिनुभयो।

यस्तै इस्मा गाउँपालिकामा ६०५ खरका छाना भएका घर जस्तापाता लगाइएको गाउँपालिकालाई खरका छानामुक्त गाउँपालिका घोषणाको तयारीमा रहेको जनाइएको छ। जसका लागि झन्डै दुई करोड बढी खर्च भएको गाउँपालिकाले जनाएको छ।

मदाने गाउँपालिकाका ७३६ घर खरका छाना भएकोमा सबै घरमा जस्तापाता लगाई गाउँपालिकालाई २०७८ साल फागुन २६ गते खरका छानामुक्त घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत शालीग्राम पन्थीले जानकारी दिनुभयो।

मालिका गाउँपालिकामा एक हजार ४८६ घर खरका छानामा जस्तापाता लगाइएको र खरका छानामुक्त गाउँपालिका घोषणा गर्ने प्रक्रियामा रहेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकालाई खरका छानामुक्त गाउँपालिका घोषणा गर्ने अभियानमा करिब तीन करोड ६५ लाख खर्च भएको गाउँपालिकाले जनाएको छ। यस्तै गुल्मी दरबार गाउँपालिकामा ६४० घर खरका छाना भएकोमा ५५० घरमा जस्तापाता लगाएको र बाँकी ९० घरमा जस्तापाता लगाउने कार्य यस आर्थिक वर्षमा सम्पन्न हुने प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थीले जानकारी दिनुभयो। जसका लागि करिब एक करोड ५० लाख खर्च भएको गाउँपालिकाले जनाएको छ।

कालीगण्डकी गाउँपालिकामा ३१७ घरमा जस्तापाता लगाएको गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले जानकारी दिनुभयो। धुर्कोट गाउँपालिकाले गाउँपालिकाभित्र रहेका एक हजार २४५ घरमा जस्तापाता लगाई खरका छानामुक्त गाउँपालिका घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले जानकारी दिनुभयो । आफू निर्वाचित भएर पदभार ग्रहण गर्दा खरका छानामुक्त गाउँपालिका घोषणा गर्ने पहिलो निर्णय सार्थक भएको पोखरेलले बताउनुभयो। खरका छानामुक्त गाउँपालिका घोषणा भएसँगै आगलागीका घटनामा कमी आउने र मनसुनजन्य क्षतिबाट बच्न सकिने गाउँपालिकाले दाबी गरेको छ।

धुर्कोट गाउँपालिकालाई खरका छानामुक्त गाउँपालिका घोषणा गर्नका लागि कुल १९ करोड २९ लाख ९४ हजार रुपियाँ खर्च भएको गाउँपालिकाले जनाएको छ। जस अन्तर्गत जस्तापाताका लागि एक करोड ८१ लाख ९२ हजार रुपियाँ, सुरक्षित आवासका लागि ७८ लाख ५० हजार, जनता आवासका लागि एक करोड २४ लाख ५१ हजार ८३२, एकीकृत नमुना बस्तीका लागि एक करोड ६२ लाख, भूकम्पपछिको पुनर्निर्माणमा १३ करोड ८३ लाख खर्च भएको पोखरेलले जानकारी दिनुभयो।