• ८ मंसिर २०८१, शनिबार

पाँच मुक्तक

blog

छोराछोरी पाउन धेरै, देवीदेउता भाकेँ मैले

खुसी बाँड्न नातागोता, इष्टमित्र डाकेँ मैले

कर्म गरेँ सन्तान भन्दै, खुट्टा लाग्ने बनाइदिएँ

बुढेसकालमा छोडी गए, वृद्धआश्रम ताकेँ मैले... ।

  

अहिले म जिउँदै हुँदा, भोक भोकै पार्छस् भने

हेला घृणा गरी हरपल, मेरा आँशु झार्छस् भने

म मरेपछि मेरो नाममा, दान धर्म नगर्नू छोरा

बाबु भन्न सर्म मानी, अहिले जिउँदै मार्छस् भने । ।

  

कमाइ ल्याउँछु भन्दै छोरो, विदेशतिर गएको छ

दुलही नाति सहर पसे, घरै रित्तो भएको छ

गरिखानु कसोगरी, हातपाउ चल्न छोडिसके

कहाँ पोखूँ जिन्दगीले, कति व्यथा सहेको छ... ।

   

छोराबुहारी पर सर्छन्, हाम्रो हातपाउ बसेदेखि

बोलाउँदा नि आँखा तर्छन्, हाम्रो हातपाउ बसेदेखि

सायद वाक्क लाग्यो होला, बुढा बाबुआमा पाल्नुपर्दा

कहिले मर्छन् जस्तो गर्छन्, हाम्रो हातपाउ बसेदेखि... ।

  

सारै मुटु दुख्यो आज, सायद चिरा परेको छ 

जति रोक्न खोज्छु आँशु, उति उति झरेको छ

सन्तानले फालेको बाबु, अलपत्र भेटेपछि

अब कहिल्यै बाबु बन्दिनँ, मेरो रहर मरेको छ... । 

सामाखुसी, काठमाडौँ