• ८ मंसिर २०८१, शनिबार

पहाडी जीवन (कविता)

blog

टलल टलल टल्के स्वच्छ सेता हिमाल !

सरर सरर हावा गर्छ रे अङ्कमाल !!

खलखल पसिनाले भिज्न पाउन्न ज्यान ।

गरम जतिसुकै होस् कत्ति चाहिन्न फ्यान 


छङछङ झरनाले मोहनी नै लगायो ।

मग मग मग बास्ना फूलको मग्मगायो !

चिरिबिरी चिडियाले प्रातमा गीत गाई

फरर फरर नाच्छन् पङ्ख राम्रा फिँजाई । ।


उकुस मुकुस कैल्यै हुन्न गर्मी चढेर ।

लुग लुग लुग काम्ने हुन्न जाडो बढेर

न गरम छ न जाडो ठिक्कको घामपानी ।

अति उचित पहाडी लाग्छ यो जिन्दगानी । ।


झलमल बिजुलीकास सौर्यका ज्योति बाले ।

सडक अब सबैका गाउँमा पुग्न थाले । ।

फलफूल तरकारी अन्न फल्छन् अनेक ।

कुन चिज कम होला दालबाली हरेक । ।


अमृतसरि छ मीठो मूलको खान पानी ।

नजर गर गिरीका भित्र छन् रत्नखानी । । 

सुरगण यहिँ बस्ने लालसा गर्न थाले ।

हुन त पृथिवि नै हो १ स्वर्ग झैँ भैदिनाले । ।


फरक फरक भाषा, सभ्यता धर्म राम्रा ।

किसिम किसिमका छन् चाड संस्कार हाम्रा । ।

यहिँ रहन चहान्छन् स्वर्गमै पौडिएका । ।

किन मनुज तराईतर्फ नै दौडिएका ?? 

(मालिनी छन्द)

रुरुक्षेत्र–५, गुल्मी