• १९ असार २०८१, बुधबार

प्रतिबन्धित कुखुरा र चल्लाको अवैध आयात रोकिएन

blog

नेपाल–भारतको यहाँको मुख्य मानिएको जमुनाहा नाका ।

सिराज खान 

नेपालगन्ज, साउन १४ गते । वर्डफ्लु भित्रिने आशङ्कामा भारतमा उत्पादित चल्ला, कुखुरा र अण्डाको आयातमा प्रतिबन्ध लगाइए पनि भारतबाट अवैध रूपमा ल्याउने क्रम रोकिएको छैन । 

नाकामा तस्करी गर्नेहरूले दिनहुँजसो ठुलो परिमाणमा प्रतिबन्धित चल्ला र कुखुरा भित्र्याइरहेका छन् । विभिन्न सहायक बाटो हुँदै दिनदिनै तस्करले साइकल, मोटरसाइकल, रिक्सा र गाडीमा राखेर चल्ला र कुखुरा भित्र्याइरहेका छन् । 

नेपाली किसान र व्यवसायीको आग्रहमा मुख्य र साइड दुवै नाकामा कडाइ गरे पनि अवैध चल्ला र कुखुरा भित्रिने क्रम भने निरन्तर जारी छ । प्रहरीको सक्रियताले मात्र सो रोक्न नसकिएपछि नेपाली किसान स्वयं नाकामा खटिने गरेका छन् । तर पनि अवैध रूपमा भित्रिने क्रम नरोकिएको उनीहरूको गुनासो छ । 

प्रहरीले नाकामा अहिले निकै कडाइ गरेको जनाए पनि गत बुधवार बिहान कोहलपुरबाट किसानले भारतबाट ल्याइएका एक हजारभन्दा बढी अवैध चल्ला बरामद गरेर प्रहरीलाई बुझाएका थिए । 

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीका अनुसार किसानले नियन्त्रणमा लिएर खबर गरेपछि प्रहरीले कोहलपुर –११ दशगजाबाट दुई दिनअघि मात्र भे १ प ३४१० नम्बरको अटोमा राखेर लैजान लागिएको १६ काटुर्नका एक हजार चल्ला नियन्त्रणमा लिएको थियो। 

डिएसपी तिवारीका अनुसार मीनबहादुर खनालले चलाएको सो अटोबाट उक्त चल्ला बरामद गर्नुका साथै मुगु खप्तयाड गाउँपालिका –३ का प्रवेश शाहीलाई पनि नियन्त्रणमा लिएर चल्ला र दुबैजनालाई पशु सेवा क्वारेनटाइनमा बुझाइएको बताउनुभयो । 

कुखुरा व्यवसायी मञ्च नेपालगन्ज बाँकेका अध्यक्ष धर्मराज पोखरेलले नेपाल–भारत नाका पार गरेर अटोमा राखी यति धेरै अवैध चल्ला कोहलपुर पुगे पनि सुरक्षा निकायको आँखा नपर्नु र किसानले समात्न लगाउनु गम्भीर विषय भएको बताउनुभयो । 

मिलेमतोविना यति धेरै चल्ला कोहलपुर नपुग्ने जनाउँदै जति आग्रह गरिए पनि प्रहरी प्रशासनले रोक्न नसकेको बताउनुभयो । खुला सिमानाका कारण भारतबाट दिनहुँ ठुलो परिमाणमा बोइलर कुखुरा र चल्ला भित्रिँदा कुखुरापालक किसान र मासु व्यवसायी दुवै मर्कामा परेको किसान र व्यवसायीको गुनासो छ ।