• ७ वैशाख २०८१, शुक्रबार

म्यानेजमेन्ट पढेर बिरुवा उमार्दै अर्याल दम्पती

blog

फर्ममा बिरुवाको रेखदेख गर्दै अर्याल दम्पती । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, साउन १४ गते । कपिलवस्तु नगरपालिका –६ तिलौरीका अर्याल दम्पतीलाई बिरुवा बेच्न भ्याइनभ्याइ छ । वर्षायाम सुरु भएसँगै फूल र फलफूलका बिरुवा लगाउने समय भएपछि माग बढेको छ । 

केही मानिस गाउँमै रहेको इन्द्रावती कृषि फर्ममा बिरुवा लिन आउँछन् । त्यहाँ आउने ग्राहकलाई अर्जुन अर्यालले बिक्री गर्नुहुन्छ । अर्जुनका पत्नी फर्म सञ्चालक इन्द्रा अर्याल भण्डारीले गाडीमा बिरुवा राखेर बिक्री गर्दै आउनुभएको छ ।   

म्यानेजमेन्ट विषयमा स्नातक गरेका अर्जुन मार्केटिङ गर्दा चित्त नबुझेर रोजगारीका लागि बनारस पुग्नुभएको थियो । रोजेजस्तो काम नभेटिएपछि फलफूलका बिरुवा उत्पादन गर्ने फर्ममा काम गर्नुभएको थियो । 

कम्पनीले उहाँलाई दुई महिनामै नेपालको वीरगन्जमा रहेको शिवशक्ति बायोटेक्निकल प्रालि खटेको थियो । त्यसपछि उहाँ नेपालगन्जको पशुपतिनाथ बायोफरेष्ट्रीमा दुई वर्ष काम गर्नुभयो । करिब नौ वर्षको अनुभवका साथ २०७६ मा फर्म सञ्चालन गर्नुभएको थियो ।

दश हजार रुपियाँमा आँप, लिची र कागतीको तीनसय बिरुवा खरिद गरी व्यवसाय सुरु गरेको उहाँले बताउनुभयो । अर्को वर्ष नर्सरी स्थापना गरी बिरुवा उमार्न सुरु गर्नुभएको थियो । अर्जुनले भन्नुभयो, “अहिले १५० भन्दा धेरै प्रजातिका फूल, फलफूलका बिरुवाहरु उत्पादन गरिएको छ । स्थानीय बजार र जिल्ला बाहिरबाट माग हुन लागेको छ ।’ 

एउटा फलफूलकाे बिरुवा १ सय ५० देखि ६ सय रुपियाँसम्म बिक्री हुन्छ । हाइब्रिड सयपत्री फूलका बेर्ना ३ रुपियाँमा बिक्री भएको छ । आँप, सुन कागती, लिची, एरिका कागती, एभोकाडो, तराईमा फल्ने स्याउ, ड्रागन फ्रुट, ताइवानी मेवा टिस्यु कल्चर गरेका केरालगायतका फलफूलका बिरुवाको माग छ । 

बिजु, कलमी, एयर लेयरिङ, गुठी र टिस्यु कल्चर गरी बिरुवा उत्पादन भएको इन्द्राले बताउनुभयो । फर्मका ग्रिननेट, फूल स्ट्याण्ड, फूलदानी निर्माणका लागि कृषि ज्ञान केन्द्र कपिलवस्तुले ५० प्रतिशत अनुदान दिएको कार्यालय प्रमुख डा. रविन्द्र चौवेले बताउनुभयो । गत आर्थिक वर्षमा ज्ञान केन्द्रले २ लाख ५१ हजार रुपियाँ अनुदान दिएको थियो ।