• ८ मंसिर २०८१, शनिबार

आग्रह पुरुषको प्रकृतिसँग (कविता)

blog

म तिम्रो सिर्जनाका पाण्डुलिपिहरू 

वरिपरि छर्दछु

ती हस्तलिखित केरमेट 

प्रत्येक अक्षरहरूमा 

तिमी सल्बलाइरहेको देख्छु 


यसो गरिरहँदा म आफूलाई 

तिमीसँगै पाउँछु 


सधैँ सधैँ म बेलीको फूल टिपेर 

तिम्रा अक्षरसामु राखिदिन्छु 

किनकि

मलाई विश्वास छ 

ती अक्षरहरूमा आज पनि तिमी जीवित छौ 

बर्सेनि फुल्ने तिनै बेलीभित्र रहेर 

तिमी मलाई भन्दै छौ 

“लौन मलाई समेट 

लौ न मलाई देखाऊ 

नदेखिएर तिम्रै वरिपरि रहेको मलाई 

लौ न एकपल्ट प्रमाणित गरिदेऊ 

कि म मरेको छैन, म ज्युँदै छु 

मेरो शरीर पो नासियो त 

आत्मा त काहाँ मर्छ र ? 

त्यसैले 

वर्षौंदेखि म त यिनै अक्षरहरूमा 

थन्केर बसेको छु 

तिम्रो बगैँचामा फुल्ने 

हरेक ऋतुका यिनै फूलहरूमा 

आशा बनेर आउँछु 


लौ न मलाई आफ्नो कोखबाट

मान्छे बनाएर उभ्याऊ

किनकि 

मलाई मान्छे हुने रहर पुगेको छैन 

मलाई फेरि एकपल्ट 

मान्छेको भीडमा उभिएर 

आफ्नो कविता सुनाउने रहर छ 

मलाई यी पाण्डुलिपिबाट लिपिबद्ध भएर 

पुस्तक बन्ने रहर छ 


लौ न नानी 

कोख तिमीसँगै छ 

मलाई राख्ने सिञ्चित गर्ने 

अनि सृष्टि गर्ने 

तिम्रो कोखबाट जन्मिएर 

यो आँगनमा खेल्न रहर छ 

बामे सर्दै सर्दै 

ससाना केटाकेटी भए ठाउँ 

पुग्ने रहर छ 

तेलकासा, लुकामारी 

हराभरा, हराभरा तोरीको फूल

यति यति पानी... भन्दै 

हिलोमा लतपत हुने रहर छ 


लौ न मलाई 

तिम्रो कोखमा बास देऊ

किनकि

म आइसकेको छु

हो ! म बिस्तारै भ्रूणबाट 

ठुलो हुँदै हुँदै गइरहेछु 

तिम्रो ‘गर्भमा’

मलाई स्वस्थ पूर्ण जन्माउन

तिमी कत्ति पनि कसर नछोड



म पर्खिरहेछु 

तिम्रो आँखाबाट फेरि एक पटक 

यो संसारलाई हेर्न

सबैलाई भेटन 

अनि 

सबैसामु पुग्न 

मलाई लेराउ, मलाई जन्माऊ 

मलाई जन्माएरै छोड है । 


मीनभवन, काठमाडौँ