• ८ वैशाख २०८१, शनिबार

‘कांग्रेसको काँधमा मुलुक र जनताको हितमा काम गनुपर्ने जिम्मेवारी छ’

blog

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक । फाइल तस्बिर

काठमाडौं, साउन १३ गते । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेसलाई मुलुक र जनताको हितमा काम गर्नुपर्ने जिम्मेवारी आएको बताउनुभएको छ ।

नेपाली कांग्रेस भीमदत्त नगर समितिको सम्मेलन उद्घाटनका क्रममा उहाँले जनचाहनाअनुसारको विकास र समृद्धिका लागि कांग्रेस अघि बढेको बताउनुभयो । “देश र जनताको हितमा काम गर्नुपर्ने जिम्मेवारी छ, त्यसका लागि कांग्रेस प्रत्येक ठाउँमा सुदृढ हुन जरुरी छ”, नेता लेखकले भन्नुभयो, “केन्द्रीय कार्यसमितिमात्रै सुदृढ भएर होइन, गाउँ–टोलमा पनि कांग्रेस सुदृढ हुन जरुरी छ ।”

कांग्रेस सुदृढ गर्नकै लागि कांग्रेसले देशभर पालिकास्तरमा सम्मेलन गरिरहेको उहाँको भनाइ थियो । नेपाली कांग्रेस कुनै कारणले कमजोर हुनुपर्ने अवस्था नभएको बताउँदै उहाँले मुलुकमा ठूला परिर्वतन र ऐतिहासिक काम कांग्रेसकै नेतृत्वमा भएको स्मरण गराउनुभयो ।

“दशवर्षे सशस्त्र द्वन्द्वमा जनजीवन अस्तव्यस्त भएका बेला कांग्रेसले वार्ता, संवाद र सहमतिका माध्यमबाट शान्ति ल्यायो”, उहाँले भन्नुभयो, “मुलुकमा आवश्यकता परेका बेला संविधान पनि कांग्रेसकै नेतृत्वमा आएको थियो ।”

उहाँले कञ्चनपुरमा नेपाल–भारत त्रिदेशीय नाका, दोधारा चाँदनी सुक्खा बन्दरगाह, महाकाली करिडोर र मझगाउँ विमानस्थल निर्माणको काम अघि बढेको बताउनुभयो । “विसं २०७४ मा कांग्रेस हार्दा यहाँ महाकाली करिडोरमा पर्ने रुख कटानको निर्माणसमेत हुन सकेन्”, उहाँले भन्नुभयो, “यहाँ अल्झिएका हरेक विकासका काम त्यो बेला अघि बढ्न सकेनन् ।” रासस