• ७ वैशाख २०८१, शुक्रबार

वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नुपर्छ: पूर्व राष्ट्रपति भण्डारी

blog

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी । फाइल तस्बिर

काठमाडौं, साउन १३ गते । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले बाघको सङ्ख्या बढेसँगै वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नतर्फ ध्यानार्कषण गराउनुभएको छ । 

आज विश्व बाघ दिवसको शुभकामना दिँदै उहाँले बाघको सङ्ख्यासँगै मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट मानिसको मृत्यु हुने घटना वृद्धि भएकोप्रति चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले दिवसका अवसरमा वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नतर्फ सम्बद्ध पक्षको ध्यानार्कषण गराउनुभयो ।

“बाघ विचरण गर्ने वन क्षेत्रको विस्तार, बाघका लागि आहारा हुने वन्यजन्तुको सङ्ख्या वृद्धि गर्न घाँसे मैदानको विस्तार र मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने समुदायमा सचेतना अभिवृद्धिका साथै वैकल्पिक जीविकोपार्जनका उपायको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षले ध्यान पुर्‍याउनु पर्दछ”, शुभकामना सन्देशमा उल्लेख छ ।

 पूर्व राष्ट्रपति भण्डारीले बाघको संरक्षण नेपालको पर्यटन प्रवर्द्धन  एवं  आर्थिक विकासका लागि महत्त्वपूर्ण भएको भन्दै संरक्षणका उचित उपाय अवलम्बन गर्न र त्यसलाई निरन्तरता दिन आह्वान गर्नुभयो ।

नेपालले लक्ष्यभन्दा बढी बाघको सङ्ख्या वृद्धि गरी हाल तीन सय ५५ पुर्याउन सफल भएको जनाउँदै उहाँले बाघको संरक्षणमा सम्बद्ध सबैलाई थप प्रेरणाका लागि शुभकामनासमेत व्यक्त गर्नुभयो । 

“विश्वका १३ देशमा मात्र पाइने पाटेबाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले सकारात्मक पहिचान निर्माण गर्नु गौरवको विषय हो”, शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “यस अवसरमा म वन्यजन्तु संरक्षणसँग सम्बद्ध निकाय, सङ्घसंस्था, समुदाय र संरक्षणकर्मीलाई हार्दिक बधाई दिन चाहन्छु ।” रासस