• २० असोज २०८१, आइतबार

शिक्षकलाई सरकारी मापदण्ड अनुसार तलब र सुविधा दिन निर्देशन

blog

राधा लुइटेल

फिदिम, साउन १३ गते । शिक्षक र कर्मचारीलाई सरकारी मापदण्ड अनुसारको तलब र सुविधा दिन फिदिम नगरपालिकाले यहाँका संस्थागत विद्यालयलाई निर्देशन सहितको पत्र लेखेको छ ।

संस्थागत विद्यालयका शिक्षक र कर्मचारीले अत्यन्त न्यून तलब र सुविधामा काम गरिरहेको गुनासो प्राप्त भएको भन्दै नगरपालिकाले शुक्रबाार यहाँ सञ्चालन भइरहेका सबै विद्यालयलाई पत्र पठाएको हो ।

प्रमुख प्रशासकीय अधिकृत प्रविणहाङ योङहाङले हस्ताक्षर गरेको पत्रमा संस्थागत विद्यालयका शिक्षक र कर्मचारीलाई सामुदायिक सरह तलब सुविधा, उपलब्ध गराउन, ज्येष्ठताका आधारमा ग्रेड वृद्धि गर्न, सञ्चय कोषको व्यवस्था गर्न, बिरामी तथा अध्ययन बिदाको सुविधा कार्यान्वयन गर्न र उनीहरूको तलब बैङ्क मार्फत भुक्तानी गर्न भनिएको छ ।

नगरपालिकाको शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम १३ को उपनियम २ मा सबै संस्थागत विद्यालयहरूले शिक्षक तथा कर्मचारीलाई सरकारी मापदण्डमा पारिश्रमिक, दसैँ खर्च, लिलामको अवसर, ज्येष्ठता भत्ता उपलब्ध गराउनु पर्ने व्यवस्था छ ।

यस्तै सोही नियमावलीको ३ मा शिक्षक कर्मचारीको लागी नियमित तलबबाट निश्चित प्रतिशत रकम कटाएर सोही बराबरको रकम थप गरी सञ्चयकोषको प्रबन्ध गर्नुपर्ने लेखिएको छ ।

फिदिम नगरपालिका भित्र ४ वटा माध्यमिक र ९ वटा आधारभूत गरी १३ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् ।