• १३ साउन २०८१, आइतबार

अनिष्टबाट जोगाउन झाँक्री मेला

blog

जयमान बुढामगर

रुकुमपूर्व, साउन १३ गते । अग्लो पहाडको फेदीमा छ रुकुमपूर्व भूमे गाउँपालिका–१ को लुकुम गाउँ । बोलिचालीमा मगर खाम भाषा रहेको यस गाउँमा ढुङ्गा र माटाले बनाइएको बाक्ला घर छन् । यसै गाउँमा हरेक वर्षको साउन महिनाको पहिलो सातामा एक दिन झाँक्री मेला लाग्ने गरेको छ । 

धामी–झाँक्री रूढिवादी र अन्धविश्वासी जीवन पद्धति नै हो । तर यहाँका लागि भने मौलिक संस्कृति पनि हो । गाउँछेउको पूर्वतिर अवस्थित चौतारामा अग्ला धुपीसल्लाका रूख छन्, तिनै धुपीसल्ला भएका ठाउँमा भेला हुन्छन् गाउँभरका झाँक्री । साउनको १ र २ गते छाडेर आउने सोमबार, मङ्गलबार र शनिबारमध्ये एक दिन यो मेला आयोजना गर्ने प्रचलन रहेको स्थानीयवासीले बताएका छन् । त्यसको अलवा झाँक्रीले तिथिमिति अनुसार साइत हेरेर पनि झाँक्री मेला लाग्ने गरेको छ । यस पटक मेलाको साइत बिहीबार परेको थियो । 

परापूर्वकालमा ‘काना सुरपाङ्गे’ नामक प्राकृतिक भूतको आत्मा रहेको बताइएको छ । उक्त आत्माले यो ठाउँ भएर आवतजावत गर्ने मान्छेलाई सताउने गरेको किंवदन्ती छ । स्थानीय रुजिधन घर्तीमगरले धेरै नै सताउन थालेपछि दिक्क भएर त्यसबेलाका रामजाली घर्तीमगरले सो भूतको आत्मालाई माटोमा छोपेको र त्यसबाट ब्युँझिन नदिन प्रत्येक वर्ष झाँक्रीको मेला आयोजना गर्ने गरिएको जानकारी दिनुभयो । 

उहाँले गाउँलाई अनिष्टबाट जोगाउन हरेक वर्ष झाँक्री मेला लाग्ने गरेको बताउनुभयो । सामूहिक झाँक्रीको मेलाबाट गाउँलाई अनिष्टबाट जोगाउन चारैतर्फबाट तन्त्रमन्त्र गर्ने गरेका छन् ।  

लुकुम गाउँमा मात्रै करिब ७० जना झाँक्री छन् । यी सबै झाँक्री एकै साथ झाँक्री मेलामा नाच्ने गरेका छन् । झाँक्रीको आफ्नै पोसाक र ढ्याङ्ग्रो भाँडासहित नाच्ने गरेकाले यसलाई रोचक मेला मानिँदै आएको छ । मेला हेर्न स्थानीयवासीका साथै बाहिरबाट पनि उत्तिकै दर्शक आउने गरेका छन् ।