• १३ असोज २०८१, आइतबार

मुलुकको अवस्था परिवर्तनमा नेतृत्व अलमलियो : अध्यक्ष तिमिल्सिना

blog

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, साउन १२ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वर्तमान राजनीतिक नेतृत्व मुलुकको अवस्था परिवर्तन गर्न अलमलिएको बताउनुभएको छ । निरङ्कुशताका अनेक जन्जाललाई तोड्दै राजनीतिक नेतृत्वले सुन्दर सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याए पनि नेपाली जनताको अवस्था परिवर्तन गर्नमा नेताहरु अल्मलिएको उहाँको भनाइ छ ।

‘योङ प्रोफेशनल फेलोसिप नेपाल –२०२३’ ले शुक्रबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा आज उहाँले आफूहरु र अघिल्लो पुस्ताको जीवन मुलुकको व्यवस्था परिवर्तनको आन्दोलनमा बितेको उल्लेख गर्नुभयो । युवापुस्ताले मुलुकको अवस्था परिवर्तन गर्ने कामको जिम्मेवारी लिनुपर्ने उहाँको भनाइ छ । 

नेपाल स्वर्गजस्तो भएको र त्यसको अवस्था परिवर्तनको जिम्मेवारी युवापुस्ताले लिनुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ छ । उहाँले युवा पुस्तालाई नेतृत्वदायी भूमिकामा ल्याउन आफूले पहलकदमी लिँदैआएको जिकिर गर्दै त्यसलाई निरन्तरता दिइरहने प्रतिबद्धता जनाउनुभयो । 

अध्यक्ष तिमिल्सिनाले युवा पुस्तालाई लागूपदार्थको दुर्व्यसन, सामाजिक सञ्जाल र सञ्चार माध्यमको सिको गर्दै हुने आपराधिक गतिविधिबाट मुक्त राख्दै सुसंस्कृतियुक्त, सभ्य र सहयोगी युवापुस्ता तयार गर्नु आजको मुख्य सवाल रहेको बताउनुभयो । उहाँले युवापुस्तालाई सूचना र प्रविधि विकाससँग भित्रिएको नकारात्मक प्रभावमा पर्न नदिन पनि सचेत गराउनुपर्ने बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले विश्वले चाहेको परिवर्तनको संवाहक युवापुस्तालाई बनाउने काममा उत्प्रेरकको भूमिका निर्वाह गराउने काममा सबैको साथ र सहयोग आवश्यक रहेको चर्चा गर्नुभयो ।