• ३० वैशाख २०८२, मङ्गलबार

सुरक्षाका लागि छोरी बीमा कार्यक्रम

blog

बाँकेको जानकी गाउँपालिका । तस्बीर : गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, साउन ११ गते । बाँकेको जानकी गाउँपालिकाले बालिका शिक्षालाई प्रोत्साहन गर्न छोरी बीमा कार्यक्रमको सुरुवात गरेको छ । यसबाट मातृ तथा शिशु मृत्युदरमा कमी ल्याउन सहयोग पुग्ने बिश्वास लिइएको गाउँपालिकाले जनाएको छ । 

अध्यक्ष कल्याण कोष कार्यक्रम अन्तर्गत छोरी बीमा कार्यक्रम ल्याइएको हो ।  यो कार्यक्रम अन्तर्गत गत बर्ष साउन १ गतेपछि जन्मेका छोरीहरुको बीमा सुरु गरिएको छ । गत आर्थिक वर्ष २०७९–८० मा २०० जना छोरीको बीमा गरिएको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाङ्गीले जानकारी दिनुभयो । 

डाङ्गीले भन्नुभयो, ‘यो कार्यक्रम बालबिवाह न्यूनीकरण र विद्यालयमा छात्रालाई टिकाइ राख्न समेत उपयुक्त देखिएको छ ।’ गाउँपालिकाका अनुसार  गत बर्ष साउन १ गतेपछि जन्मिएका छोरीको एक लाख रुपियाँको बीमा गरिएको छ । बीमाबापत बार्षिक पाँच हजार रुपियाँका दरले २० बर्षसम्मको प्रिमियम रकम गाउँपालिकाले जम्मा गर्नेछ ।  

बाल विवाह न्यूनीकरणका लागि यो कार्यक्रम ल्याइएका कारण २० बर्ष नपुग्दैं विवाह गरेमा बीमाबापतको रकम सम्वद्ध बालिकाले पाउन नसक्ने र रकम पालिकामै फिर्ता हुने ब्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । 

यसबाट विहेबारी २० बर्षपछि हुने भएकाले आमा र बच्चा दुबैको स्वास्थ्य सुरक्षा हुने विश्वासका साथ कार्यक्रम अघि सारिएको गाउँपालिकाका अध्यक्ष छब्बन खाँले जानकारी दिनुभयो । 

अध्यक्ष खाँले भन्नुभयो, ‘मधेसी र मुस्लिम समुदायमा कम उमेरमै विवाह गर्ने प्रचलन रहेकाले त्यसलाई रोक्न दीर्घकालिन रुपमा लाभदायक हुन्छ ।’ छोरी बीमा कार्यक्रमपछि भ्रुण हत्या रोकिने र आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षामा पनि टेवा पुग्ने पालिकाले जनाएको छ । 

यसबर्ष गाउँपालिकाले छोरीबीमा कार्यक्रमका लागि २० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । छोरी जन्मिएको ३५ दिनभित्र वडा कार्यालयमा घटना दर्ता भएलगत्तै वडा कार्यालयमार्फत पालिकाबाट छोरीहरुको बीमा गर्ने गरिएको छ । छोरी बीमा कार्यक्रम सुरु भएपछि वडाका टोलवस्तीमा सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।