• १३ असोज २०८१, आइतबार

सुन प्रकरणबारेमा एमालेले संसदमा कुरा उठाउने

blog

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को आज बसेको संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरु ।

गोरखापत्र अनलाइन

काठमाडौं, साउन १० गते । नेकपा (एमाले) संसदीय दलको बैठकमा विमानस्थलमा पछिल्लो समय भेटिएको एक क्विन्टल सुन प्रकरण सम्बन्धमा छलफल भएको छ । छलफलअनुसार संसद् बैठकमा एमालेले त्यसबारेमा कुरा उठाउने र सरकारको जवाफ माग गर्नेभएको छ । सांसद रघुजी पन्तले बानेश्वरस्थित संसद् भवन परिसरमा पत्रकारसँग कुरा गर्दै आज बैठकमा सो विषयमा छलफल भएको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “जुन सुन पक्राउ परेको छ । पटक–पटक सुन पक्राउ भइरहेको छ । त्यसको गम्भीरतापूर्वक छलफल हुनुपर्छ । भरियालाई होइन, सुन ल्याउने मुख्य मान्छेको जगसम्म पुग्नुपर्छ । सुन प्रक्रियामा जो–जो संलग्न छ, त्यसलाई कारबाही हुनुपर्छ ।” उहाँले एक सय किलोग्राम सुन प्रकरणको वास्तविक दोषीलाई कारबाही हुनुपर्ने एमालेको माग गरिरहेको बताउनुभयो । 

“कम्पनीका मालिकहरू, त्यसको पछाडि को को छ ? पत्ता लगाउन सकेको छैन । मन्त्री खाली ठुला कुरा गर्दै हिँड्नु हुन्छ । दोषीलाई कारबाही हुनुपर्छ ।” उहाँले यस विषयमा एमालेले संसदमा आवाज उठाउने जानकारी दिनुभयो । 

नयाँ बानेश्वरस्थित संसद् भवनमा आज सो दलको बैठक बसेको थियो । पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा सुन प्रकरण गम्भीर विषय भएकाले त्यसलाई गम्भीरतापूर्वक उठाउने निर्णय भएको सांसद पन्तले जानकारी दिनुभयो ।