• ११ मंसिर २०८१, मङ्गलबार

पहिरोको उच्च जोखिममा विद्यालय, भौतिक संरचना भत्किँदा लाखौँको क्षति

blog

पहिरोले क्षति पुर्‍याएको भूमे गाउँपालिका–३ टकसार आधारभूत विद्यालय झुम्लाबाङ । तस्बिरः जयमान बुढामगर

जयमान बुढामगर
रुकुमपूर्व, साउन १० गते ।
जिल्लाको भूमे गाउँपालिका–३ स्थित टकसार आधारभूत विद्यालय झुम्लाबाङ पहिरोको उच्च जोखिममा परेको छ । निरन्तर रूपमा वर्षा भइरहेका कारणले भिरालो जमिनमा अवस्थित उक्त विद्यालय पहिरोको उच्च जोखिममा परेको हो । बाल विकासदेखि कक्षा ८ सम्म पठनपाठन भइरहेको यस विद्यालयमा १३३ जना विद्यार्थी रहेका छन् ।

विद्यालयका प्राधानाध्यपक होमजङ्ग रानामगरले विद्यालय भवनको छेउछेउका जमिन भासिने र पहिरो जाने क्रम बढ्दै गएपछि विद्यालय पहिरोको उच्च जोखिममा परेको बताउनुभयो । पाँच विद्यालय भवनमध्ये चार वटामा विद्यालयको कार्यालयसहित पठनपाठन भइरहेको प्रअ रानामगरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पठनपाठन भइरहेको चार भवन पुराना हुन्, भने एक भवन भर्खरै निर्माण गरिएको हो ।”

भूमे गाउँपालिका र सङ्घीय सरकारको साझेदारीमा ४० लाख रुपियाँ बजेटमा निर्माण गरिएको पक्की एक तलको तीनकोठे विद्यालय भवन पहिरोले पूर्ण रूपले क्षति पुर्‍याएको प्रअ रानामगरले बताउनुभयो ।


उहाँले नव निर्मित भवनको माथिबाट आएको पहिरोले भवनको घारी भाग पूर्ण रूपले क्षति भएको जानकारी दिनुभयो । साथै विद्यालय भवनलाई सुरक्षित राख्नुका लागि यस अघि लगाइएको ग्याविन वाल पनि पहिरोले बगाइसकेको छ । नव निर्मित भवन र ग्याविन वाल गरी ७०/७५ लाख रुपियाँ हाराहारीको विद्यालयका संरचनामा क्षति पुगेको रानामगरको भनाइ छ । बाँकी चार विद्यालयको भवन पहिरोले क्षति नगरे पनि पहिरोको उच्च जोखिममा रहेको छ । विद्यालय परिसरको तल र छेउ भागबाट निरन्तर रूपमा पहिरो जाने क्रम रोकिएको छैन । 

पहिरो हेर्दै पढ्दै गर्नु परेको विद्यार्थीहरु बताउछन् । विद्यार्थीहरु भन्छन्, “बर्खा लागेपछि पानी परेको परै छ । जमिन भासिएर खसिरहन्छ । पढ्दा, पढ्दै पहिरो आउँछ कि भनेर  डराइडराइ पढ्ने गरेका छौँ ।”


विद्यालयको सुरक्षा र क्षति पुगेको भौतिक संरचना पुनर्निर्माणका लागि वडादेखि गाउँपालिका–शिक्षा विकास तथा समन्वय इकाइ–जिल्ला प्रशासन र जिल्ला समन्वय समितिसम्म गुहार मागेको विद्यालयले जनाएको छ ।

विद्यालय पहिरोको उच्च जोखिम रहेको विद्यालयबाट खबर प्राप्त भए पश्चात् सोमबार जिल्ला समन्वय समिति प्रमुख मेघबहादुर श्रेष्ठ, निमित्त समन्वय अधिकारी रविन्द्र बुढाक्षेत्री, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख तिलक गौतम, वडाध्यक्ष प्रशुराम बुढामगर र असिष्टेण्ट सव–इञ्जिनियर लक्ष्मण बुढामगर लगायतको टोली विद्यालयको स्थलगत निरीक्षण गर्नुभएको हो ।

जिसस प्रमुख श्रेष्ठले भन्नुभयो, “विद्यालयको स्थलगत निरीक्षण गर्‍यौँ । पहिरो रोकथाम र क्षति पुगेको भौतिक संरचना पुनर्निर्माणका लागि प्राविधिकलाई प्राविधिक मूल्याङ्कन गर्न लगाएका छौँ ।” प्राविधिकको मूल्याङ्कन पश्चात् सम्बन्धित निकायमा पहिरो रोकथाम तथा संरचनाको पुनर्निर्माणका लागि अनुरोध गर्ने प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।