• १३ साउन २०८१, आइतबार

एक्लै हिँडेर गन्तव्यमा पुगिँदैन, टिम बनाऔँ : कांग्रेस नेता भण्डारी

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी ।

काठमाडौँ, साउन ९ गते। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले एक्लै हिँडेर गन्तव्यमा नपुग्ने भन्नुहुँदै टिम बनाएर अघि बढ्नुपर्ने बताउनुभयो। ४१ औँ बिपी स्मृति सप्ताहको अवसरमा आयोजित वर्तमान राजनीतिक चुनौती र नेपाली कांग्रेसको दायित्व विषयक विचार गोष्ठीमा बोल्नुहुँदै उहाँले देशलाई सम्पन्न गराउन यसको आवश्यकता रहेको धारणा राख्नुभयो। 

उहाँले भन्नुभयो, “बिपीको नाम जपेर मात्रै भोलि हामीले परिणाम ल्याउन सक्दैनौँ। नयाँ–नयाँ शक्तिहरू आएका छन्। नेपालीलाई सम्पन्न गराउन, नेपालको जलस्रोत, कसरी जनतासँग जोड्ने भन्ने कुरा केन्द्रीय समितिमा छलफल हुनपर्दैन ? कुनै एक्लै हिँडेर गन्तव्यमा पुगिँदैन, टिम बनाएर सँगै हिँड्नुपर्छ। गुरुराज घिमिरे हुनुहुन्छ, महामन्त्री विश्वप्रकाश शर्माले समर्थन गरेर कति राम्रोसँग बोल्नुभयो।”

उहाँले महामन्त्रीद्वयले सभापतिसँग पनि यसबारे कुरा गर्नुपर्ने बताउनुभयो। उहाँले बिपीसँगै गणेशमान, किसुनजीको नाम जप्ने मात्रै नभएर व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो।

“गगनजी, विश्वजीसँग अत्यन्तै ठुलो जोस, जाँगर छ। हामी तपाईँको पछाडि छौँ, सहयोगी छौँ। तपाईंहरुसँग हामी छौँ । बिपी कोइराला त एक्लै पुग्न सक्नुभएन”, उहाँले भन्नुभयो, “बिपी नारा होइन, भाषण होइन, गफ होइन, बिपी जयन्ती व्यवहार हो।”