• ११ मंसिर २०८१, मङ्गलबार

औसत सिकाइ उपलब्धिमा देवचुली उत्कृष्ट

blog

मीना कंडेल

कावासोती, साउन ९ गते । नवलपुरको देवचुली नगरपालिका औसत सिकाइ उपलब्धिमा उत्कट भएको छ । एसईई परीक्षा २०७९ मा नवलपुरको आठ स्थानीय पालिकामध्ये देवचुली नगरपालिका उत्कृष्ट हुन सफल भएको हो । 

शिक्षा विकास तथा समन्वय इकाई, नवलपुरले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २.७३ औसत जिपिए सहित देवचुली नगरपालिका उत्कृष्ट भएको शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख रुद्र शर्माले जानकारी दिनुभयो । योसँगै क्रमशः कावासोती नगरपालिकाले २.६४ जिपिए सहित द्वितीय र मध्येबिन्दु नगरपालिकाले २.५१ जिपिए सहित तृतीय हुन सफल भएका छन् ।

नवलपुरका चार नगरपालिकामध्ये गैँडाकोटको औसत सिकाइ उपलब्धि अरू पालिकाकोभन्दा कमजोर छ । माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईमा गैँडाकोट नगरपालिकाको औसत सिकाइ उपलब्धि २ दशमलव ३० रहेको छ । यो देवचुली, कावासोती, मध्येविन्दु नगरपालिका र विनयीत्रिवेणी गाउँपालिकाकोभन्दा औसत सिकाइ उपलब्धि कम हो । 

गैँडाकोट नगरपालिका सामुदायिक विद्यालयतर्फ औसत सिकाइ उपलब्धिमा तेस्रो स्थानमा रहेको छ । संस्थागत विद्यालयतर्फ गैँडाकोट नगरपालिका औसत सिकाइ उपलब्धिमा पहिलो स्थानमा रहेको छ । दोस्रोमा देवचुली र तेस्रोमा मध्येविन्दु रहेको शिक्षा विकास तथा समन्वय इकाई नवलपुरको रिपोर्टमा उल्लेख गरिएको छ । 

यस वर्षको माध्यमिक शिक्षा परीक्षामा नवलपुरबाट छ हजार पाँच सय ६१ विद्यार्थी सहभागी भएका थिए । जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी ७७ वटा सामुदायिक विद्यालय, ५० वटा संस्थागत विद्यालय, ८ वटा प्राविधिक धारका विद्यालय, ३ वटा संस्कृत विद्यालय र १ वटा खुल्ला विद्यालय गरी एक सय ३९ विद्यालय रहेको शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख शर्माले बताउनुभयो