गोरखापत्र अनलाइन
काठमाडौं, साउन ८ गते । सत्तारुढ दल जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भ्रष्टाचार न्यूनीकरण गर्न निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनु भएको छ । महँगो निर्वाचन प्रणालीले मुलुकमा राजनीतिक भ्रष्टाचारलाई प्रोत्साहन गरेकाले त्यसको सुधार तत्काल गर्नुपर्ने उहाँको भनाइ छ ।
सोमबार काठमाडौँमा आयोजित ‘समाजवादी यात्राको चुनौती : भ्रष्टाचार र दण्डहीनता’ विषयक प्रवचन गोष्ठीमा उहाँले सो कुरा बताउनुभएको हो । मुलुकमा व्याप्त भ्रष्टाचार नै समाजवादी व्यवस्था ल्याउन मुख्य बाधक बनिरहेको उहाँले बताउनुभयो । अध्यक्ष यादवले नेपालजस्तो अल्पविकसित मुलुकमा पनि विकसित देशभन्दा महँगो निर्वाचन प्रणाली हुनु दुखद कुरा भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालजस्तो अल्पविकसित देशमा विकसित पुँजीवादी देशहरूभन्दा महँगो निर्वाचन प्रणाली हुनु राजनीतिक भ्रष्टाचारलाई प्रोत्साहन गर्नु हो । राजनीतिक दलहरू चुनाव लड्दा वा चुनावमा हुने खर्च त्यो पनि त भ्रष्टाचार नै हो ।”
निर्वाचन प्रणाली नबदलेसम्म भ्रष्टाचारको अन्त्य नहुने उहाँले चर्चा गर्नुभयो । “अहिलेको निर्वाचन प्रणाली अत्यन्तै महँगो र खर्चिलो भयो । त्यसकारण निर्वाचन प्रणाली र हाम्रोजस्तो अल्पविकसित मुलुकमा परिश्रम गर्दाखेरी उसले प्राप्त गर्ने ज्याला, मजदुरी वा तलब छ ।
त्यसले ऊ आफूलाई धान्न सक्दैन । त्यहीकारण भ्रष्टाचार संस्थागत हुँदैगएको छ” उहाँले भन्नुभयो । माथिदेखि तलसम्म, तलदेखि माथिसम्म भ्रष्टाचार रहेको उहाँको भनाइ छ । अध्यक्ष यादवले नेपालमा समाजवाद ल्याउने सपना देखेका कम्युनिष्ट पार्टीका नेताहरू नै नवधनाढ्य वर्गमा परिणत भएको उहाँले दाबी गर्नुभयो ।