• ६ जेठ २०८१, आइतबार

सेयर बजारमा उच्च सुधार

blog

काठमाडौँ, साउन ८ गते । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएसँगै सेयर बजारमा पनि उच्च अङ्कले सुधार आएको छ । नयाँ आर्थिक वर्षको पूर्वसन्ध्यादेखि सुधारतर्फ लम्केको सेयर बजार आइतबार उच्च अङ्कले सुधारिएको छ भने कारोबार रकममा पनि बढोत्तरी आएको छ ।

नेपाल राष्ट्र बैङ्कले आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितोकर्जाको जोखिमभार पुनरवलोकन गर्ने घोषणा गरेसँगै त्यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको हो । राष्ट्र बैङ्कले यसअघि सेयर कर्जाको जोखिम भार बढाएर १५० प्रतिशत पु-याएको थियो ।

आइतबार सेयर बजारमापक नेप्से परिसूचक ६३.२४ अङ्कले उकालो लागेर २२२७.१६ को बिन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि १४.४१ अङ्कले उकालो लागेर ४२४.९३ को बिन्दुमा पुगेर रोकिएको छ । समग्रमा पहिलो दिनको नेप्से २.९२ प्रतिशतले उकालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स ३.५१ प्रतिशतले उकालो लागेको छ ।

अघिल्लो साताको अन्तिम दिन बिहीबार भने नेप्से १.३१ अङ्कले ओरालो लागेर २१६३.९२ को बिन्दुमा पुगेर रोकिएको थियो ।

आइतबार दिनभर एक करोड २० लाख दुई हजार ३०८ कित्ता सेयर ७५ हजार ८६ पटक खरिदबिक्री हुँदा चार अर्ब ३७ करोड ५१ लाख ९६ हजार २३२ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ३२ करोड रुपियाँले बढी हो ।

बिहीबार दिनभर ८४ लाख २४ हजार १०८ कित्ता सेयर ५४ हजार ९५४ पटक खरिदबिक्री हुँदा तीन अर्ब पाँच करोड २४ लाख १० हजार ६५९ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

आइतबार १४ करोड ८१ लाख ५९ हजार ३७ रुपियाँ बराबरको सेयर कारोबार भएर शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर कारोबार भएको छ भने ज्योति विकास बैङ्कको १३ करोड ७७ लाख ४२ हजार ३६९ रुपियाँ, ग्लोबल आइएमई बैङ्कको १२ करोड ३४ लाख २२ हजार ८३५ रुपियाँ, एनआइसी एसिया बैङ्कको ११ करोड १२ लाख ८५ हजार ४५९ रुपियाँ र हिमालयन डिस्टिलरीको ११ करोड ११ लाख ७२ हजार ७७१ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।