• १२ वैशाख २०८१, बुधबार

प्राविधिक शिक्षाप्रति आकर्षण बढ्दो

blog

मीना कँडेल

कावासोती, साउन ३ गते । पछिल्लो समय प्राविधिक शिक्षा विद्यार्थीको रोजाइमा पर्न थालेको छ । जीवनोपयोगी सीप हासिल हुने भएसँगै विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा परेको हो ।

पूर्वी नवलपरासीको हुप्सेकोट प्राविधिक शिक्षालयमा बालीविज्ञान (डिप्लोमा इन एग्रिकल्चर) र पशुविज्ञान(डिप्लोमा इन एनिमल साइन्स)का तीनवर्षे कक्षा सञ्चालनमा आएको छ । छोटो अवधिको पढाइबाट पनि रोजगार सुनिश्चित हुन थालेकाले प्राविधिक शिक्षाको आकर्षण बढ्दै गएकोे शिक्षालयका प्रमुख लालचन्द्र लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ देशका विभिन्न जिल्लाबाट शिक्षा लिन विद्यार्थी आउने गरेका छन् । विद्यार्थीहरूको आकर्षण बढी भएकाले हामीले भर्नाअघि प्रवेश परीक्षा गरेर विद्यार्थीहरूलाई छनोट गर्दै आएका छौँ, स्थानीय विद्यार्थीहरुका लागि हामीले विशेष व्यवस्था गरेका छौँ, यसबाट पनि विद्यार्थीलाई केही सहज भएको छ ।”

नेपालकै सस्तो प्राविधिक शिक्षा दिने शिक्षालयको रुपमा हुप्सेकोट प्राविधिक शिक्षालय रहेको विद्यालयको दाबी छ । प्रयोगात्मक अभ्यासका लागि शिक्षालयको आफ्नै कृषि फार्म र गुणस्तरीय ल्याबको पनि व्यवस्था रहेको जनाइएको छ ।

“ग्रामीण क्षेत्रका विद्यार्थीलाई प्राविधिक शिक्षा लिन शुल्कका कारण गारो भएको थियो, धेरै अभिभावकले आफूले खाइनखाई छोराछोरीलाई महँगाे शुल्क सहितको प्राविधिक शिक्षा दिन बाध्य थिए, त्यसैलाई ध्यानमा राखी हुप्सेकोट गाउँपालिकाले वार्षिक बजेट व्यवस्था गरि शिक्षालय सञ्चालन गरिरहेका छौं,”गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले भन्नुभयो ।

हुप्सेकोट गाउँपालिकाको सामुदायिक विद्यालयमा पढ्दै सिक्दै अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष पाण्डेले बताउनुभयो । स्वदेशमै उद्यम गर्न प्रेरित गर्न विद्यालयमा उक्त योजना सुरु गरिएको उहाँको भनाइ छ । हुप्सेकोट गाउँपालिकाभित्रका मात्र नभएर अन्य जिल्लाका विद्यार्थीहरुलाई प्राविधिक शिक्षा सहित दक्ष नागरिक बनाउन गाउँपालिकाकै लगानिमा प्राविधिक शिक्षालय सञ्चालन गरिएको हुप्सेकोट गाउँपालिका अध्यक्ष पाण्डेले बताउनुभयो ।

जेहेन्दार एवम् उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गरिएकाले रकम अभावका कारण पढ्न नपाउने अवस्था हटेको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टङ्कनाथ घिमिरेले बताउनुभयो । “यो शिक्षालय स्थापना हुँदा विद्यार्थीमा प्राविधिक शिक्षाप्रति कम मात्र रुचि देखिन्थ्यो, तर अहिले विद्यार्थीहरूमा मोह बढेको छ, शिक्षालाई थप गुणस्तरीय बनाउन प्रविधिमा पनि जोड दिएका छौँ”, प्रमुख प्रशासकीय अधिकृत घिमिरेले भन्नुभयो ।

“गाउँपालिकाले पनि प्राविधिक शिक्षालाई विशेष जोड दिएको छ, त्यहि अनुसार प्राविधिक शिक्षालयमा अहिले दुई वटा विषयमा अध्यापन गरिएको छ, विद्यार्थीहरूमा आकर्षण बढी छ” गाउँपालिकाका शिक्षा अधिकृत माधवराज गौतमले बताउनुभयो । अहिले एक सय ६५ जना विद्यार्थी अध्ययनरत रहेको अधिकृत गौतमले बताउनुभयो ।