• ११ मंसिर २०८१, मङ्गलबार

विद्यार्थीलाई राष्ट्रप्रेम भाव जागृत गराउन एनसीसी तालिम

blog

विद्यालयमा तालिमको सुरु गरिँदै । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, साउन ३ गते ।
म्याग्दीको एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि जुनियर डिभिजन तालिम सुरु गरिएको छ । जिल्लाको बेनी नगरपालिका–५, पुलाचौरको जनकल्याण माध्यमिक विद्यालयमा नेपाली सेनाले विद्यार्थीहरुलाई जुनियर डिभिजन तालिम(एनसीसी) दिन सुरु गरेको हो । ३६ जना विद्यार्थी सहभागि भएको तालिम ७९ दिनसम्म सञ्चालन हुने जनाइएको छ ।

नेपाली सेनाको राष्ट्रिय सेवा दलद्वारा सञ्चालित सि.सं. ४९ एनसीसी तालिम यसवर्ष बेनीको पुलाचौरस्थित जनकल्याण माविमा सञ्चालन गरेको  हो । शत्रुभञ्जन गुल्म अर्थुङ्गे व्यारेक म्याग्दीका सेनानी शशाङ्कराज अर्यालले विद्यार्थीको क्षमता विकास, आत्मविश्वास बढाउन, राष्ट्रप्रेम भाव जागृत गर्न तथा नेतृत्व क्षमता बढाउन तालिम उपयोगी हुने बताउनुभयो ।

तालिम अवधिभरमा सहभागी विद्यार्थीहरुलाई पाठ्यक्रम अनुसार प्रशिक्षण दिइने उहाँले जानकारी दिनुभयो । तालिमका लागि कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरु छनोट गरिएको छ ।

वडा अध्यक्ष गोविन्द बानियाँले तालिमलाई प्रभावकारी तवरले सञ्चालन गर्नुपर्ने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बानियाँले विद्यार्थीहरुलाई अनुशासित र सिर्जनशील बनाउन तालिम उपयोगी हुने जानकारी दिनुभयो । विद्यालयमा आधारभूत तहको तालिम दिएपछि नवलपरासीको हात्तीखोरमा लगेर थप २१ दिनको तालिम दिइनेछ ।