• १६ चैत २०८०, शुक्रबार

निगमद्वारा छानबिन समिति गठन

blog

काठमाडौँ, साउन ३ गते । मलेसियाको क्वालालम्पुरबाट भैरहवा हुँदै काठमाडौँ आउन लागेको नेपाल वायु सेवा निगमको जहाज उडान समयभन्दा १० घण्टा डिले भएको विषयमा नेपाल वायु सेवा निगमले छानबिन समिति गठन गरेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलले कलसाइन ९ एन एकेडब्लु न्यारोबडी (ए ३२०) जहाज मङ्गलबार बिहान उडान गर्नुअघि निरीक्षणका क्रममा ककपिटमा हुने सिलिन्डरमा अक्सिजनको (क्रु अक्सिजन) प्रेसर कम देखिएपछि के कस्तो कारणले यो समस्या आएको हो सो पत्ता लगाउन छानबिन समिति गठन गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जहाज उडाउनुअघि नियमित गरिने चेकजाँचका क्रममा ककपिटमा राखिएको अक्सिजन सिलिन्डरको प्रेसर कम भेटिएपछि भविष्यमा यस्तो समस्या दोहोरिन नदिन के गर्नुपर्छ भन्नेबारे सुझाव दिन दुई सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिले के कति कारणले समस्या भएको हो भन्नेबारे एक सातामा प्रतिवेदन बुझाउने छ ।” 

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी कार्यालयका निर्देशक महेश मरिताको संयोजकत्वमा छानबिन समिति गठन गरिएको उहाँले बताउनुभयो ।

स्थानीय समय अनुसार मङ्गलबार बिहान ५ बजे भैरहवा उड्नुपर्ने उक्त जहाज दिउँसो ३ बजे मात्रै १४६ यात्रु बोकेर भैरहवाका लागि उडान भरेको थियो । सोमबार राति १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भरिभराउ भएर क्वालालम्पुर पुगेको जहाज एक साता काठमाडौँमै उडान अयोग्य (ग्राउन्डेड) भएर सञ्चालनमा आएको थियो । 

गत मङ्गलबार बैङ्गलुरुबाट फर्केपछि नियमित जाँचका क्रममा इन्जिनभित्र समस्या देखिएपछि उक्त जहाज ग्राउन्डेड भएको थियो । एक साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको उक्त जहाज आइतबार भारतीय इन्जिनियर बोलाएर मर्मत गरी सोमबारदेखि उडानमा आएको थियो । पटक पटक जहाजको इन्जिनमा समस्या आए पनि निगमले इन्जिन भाडामा लिएर जहाज उडाउँदै आएको छ । मङ्गलबार अक्सिजन अभाव देखिएको सो जहाजमा पनि २०२२ को मार्चदेखि भाडामा लिएको इन्जिन नै प्रयोग भइरहेको छ । निगमको अर्को न्यारोबडी ९ एन–एकेएक्स जहाजको पनि बायाँ इन्जिनमा समस्या देखिएपछि ग्राउन्डेड अवस्थामा छ । प्रवक्ता पौडेलका अनुसार जहाजमा समस्या देखिएकाले एप्रुभ मेनुअल र निर्माता कम्पनीको सुझाव अनुसार उक्त जहाज चार साइकल उडान मात्र बाँकी रहेकाले ग्राउन्डेड गरिएको हो । 

यो प्रक्रिया पूरा गरेर इन्जिन मर्मत गर्न करिब दुई महिनाभन्दा बढी जहाज ग्राउन्डेड हुने देखिएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० गरी कुल चार वटा जहाज छन् ।