• १६ असार २०८१, आइतबार

मत्स्यनारायण मन्दिर चन्द्रागिरीमा पुरुषोत्तम मेला सुरु

blog

काठमाडाैँ , साउन २ गते । अतिरिक्त महिना मलमास आज (मङ्गलबार)बाट सुरु भई साउन ३१ मा समापन हुँदैछ । हरेक मलमासमा जस्तै चन्द्रागिरीको मच्छेगाउँको मत्स्यनारायण मन्दिरमा ‘पुरुषोत्तम मेला’ यस पटक पनि आज (मङ्गलबार) बाट सुरु भएको छ ।

राजधानी काठमाडौँबाट आठ किलोमिटर दक्षिण पश्चिममा रहेको चन्द्रागिरि नगरपालिका–९ स्थित मत्स्यनारायण मन्दिरमा मलमासको समयमा भगवान् विष्णुको पूजा–आराधना गर्न नेपाल तथा भारतबाट लाखौँ भक्तजन  आउने गर्दछन् ।

पोखरीले घेरिएको उक्त मन्दिरमा प्रत्येक तीन वर्षमा वा अतिरिक्त महिनामा विशेष मत्स्यनारायण मेला पनि लाग्ने गरेको छ । कीर्तिपुर, कलङ्कीको तीनथाना र थानकोटलगायतका नाका करिब ३, ४ किलोमिटर दूरीमा रहेको मन्दिर १७ सय वर्षअघि निर्माण भएको र ४ हजार वर्षअघि पोखरी स्थापना भएको रेकर्ड रहेको मन्दिर मेला व्यवस्थापन समितिले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्दिरका पुजारी शैलेश आचार्यले जानकारी दिनुभयो ।

मलमास अवधिभर कीर्तिपुरबाट चार किमी दक्षिणमा पर्ने मच्छेनारायण मन्दिरमा नारायणको पूजा- पुरुषोत्तम माहात्म्य वाचन गर्ने परम्परा छ । भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धर्मग्रन्थमा उल्लेख छ । यस महिनामा नारायणको पूजा गर्नाले पाप नाश हुने जनविश्वास रहेकोले भक्तजनले सो विश्वासका साथ नजिकैको पोखरीमा स्नान पनि गर्ने गरेको पुजारी आचार्यले बताउनुभयो ।

सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार भएको मन्दिरमा माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शङ्ख, चक्र, गदा र पद्म लिएको मूर्ति छ । 

विष्णुले दस अवतार लिँदा सबभन्दा पहिले मत्स्य शरीर धारण गरी प्रलय कालमा समुन्द्रमा डुङ्गाको काम गरी वेदलाई सुरक्षा गरेको पुराणमा उल्लेख छ । चार नारायणको दर्शन गर्ने उद्देश्य बोकेका भक्तजनले मत्स्यनारायण मन्दिरको दर्शन गर्न छुटाउँदैनन् । 

मन्दिर घण्टा आकारको पौराणिक तथा कलात्मक शिखर शैलीमा बनेको छ । मन्दिर वरिपरि १४ वटा कलात्मक धारा छन् । धाराको पछाडिपट्टि पर्खालमा प्रत्येकमा विष्णुको रूपका मूर्ति छन् । मन्दिर अगाडि शिलामा स्तुतिसहित गरुड हनुमान र दुवै छेउमा शिवको लिङ्ग छ ।


पोखरी अगाडि जलाशयमा मत्स्यकुण्ड अवस्थित शिवलिङ्ग छ । मन्दिरभित्र पाञ्चायन देवता र अन्य विष्णुका रूपहरू छन् । पौराणिक शङ्ख घण्टा छन् । दायाँ र बायाँ लक्ष्मी, सरस्वती, गणेश, राधा, कृष्ण, शिव, पार्वती, गरुड, हनुमान, सूर्य र प्रत्यक्ष शिलामा मत्स्यनारायणको ढुङ्गाको मूर्ति छन् ।

मेला व्यवस्थापन समितिका संयोजक एवम् चन्द्रागिरि नगरपालिका–९ का वडाध्यक्ष अच्युत अधिकारीले मेला अवधिभर भगवानको पूजा–आराधना गर्न र चन्द्रागिरि वन नजिकै विकास भएको पदमार्गको लाभ लिन सबै भक्तजनलाई अपिल गर्नुभयो । 

अधिकारीले मेला शान्तिपूर्ण रूपमा सञ्चालन गर्न सबै तयारी पूरा गरेको र एक महिनामा करिब २० लाख भक्तजनले मन्दिरमा दर्शन गर्ने अपेक्षा गरिएको बताउनुभयो ।