चित्र मिजार
सिन्धुपाल्चोक, साउन १ गते । भूकम्पले क्षति पुगेका सिन्धुपाल्चोकका दुर्गम गाउँका स्वास्थ्य चौकी आठ वर्षपछि निर्माण सम्पन्न हुन थालेका छन्। २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिको परकम्पले जिल्लाका स्वास्थ्य चौकी भवनहरूमा क्षति पुगेको थियो।
यस जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–१, घोर्थलीमा सघन सहरी तथा भवन निर्माण आयोजनाले एक करोड ४४ लाख रुपियाँको लागतमा बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी भवन निर्माण गरेको हो। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले केही दिनअघि उक्त स्वास्थ्य चौकीको उद्घाटन गर्नुभएको थियो।
गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले गाउँमै स्वास्थ्य चौकी बनेपछि घण्टौँ हिँडेर र खर्च गरेर उपचार लिन जानुपर्ने समस्या हटेको बताउनुभयो। सो गाउँपालिकाको चार वटा वडामा स्वास्थ्य चौकी निर्माण भइसकेको र दुईवटा वडामा भवन निर्माण भइरहेको अध्यक्ष बोहराले जानकारी दिनुभयो।
भूकम्पले सिन्धुपाल्चोकमा ७३ स्वास्थ्य चौकी र नौ सामुदायिक स्वास्थ्य एकाइ भवन पूर्ण रूपमा ध्वस्त बनाएको थियो। तीन नगरपालिका र नौ गाउँपालिका रहेका सिन्धुपाल्चोकका १०३ वटै वडामा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न हुने क्रममा छ।
कुनै वडामा स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य एकाइ, आधारभूत अस्पताल निर्माण गरी स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको स्वास्थ्य कार्यालय चौताराले जनाएको छ।
भूकम्प गएको आठ वर्षसम्म दुर्गमका स्थानीयले स्वास्थ्य सेवा र उपचार सहज रूपमा पाएका थिएनन् तर अहिले धमाधम स्वास्थ्य चौकी निर्माण सम्पन्न हुन थालेपछि दुर्गम भेगका स्थानीयले सहज रूपमा स्वास्थ्य सेवा पाउन थालेका छन्। दुर्गम गाउँमा सामान्य स्वास्थ्य सेवा लिन कुनै पनि सरकारी र निजी स्वास्थ्य संस्था नहँदा घण्टौँ लगाएर स्थानीय बजार, धुलिखेल अस्पताल र राजधानीका अस्पताल धाउनुपर्ने अवस्था थियो। दुर्गममा स्वास्थ्य संस्था निर्माणले गर्भवती महिला, ज्येष्ठ नागरिक, बालबालिकालगायतलाई उपचार लिन सहज भएको छ।