• १५ मंसिर २०८१, शनिबार

विज्ञ समूहले बुझायो काउन्सिललाई प्रतिवेदन

blog

प्रेस काउन्सिल नेपालले गठन गरेको विज्ञ समूहले प्रतिवेदन बुझाउने क्रममा छलफल ।

गोरखापत्र अनलाइन

काठमाडौं, असार ३१ गते । पत्रकार आचारसंहिता अनुगमन तथा सुधार गर्न प्रेस काउन्सिल नेपालले गठन गरेको विज्ञ समूहले प्रतिवेदन बुझाएको छ । असार १९ गते गठित कार्यदलले १० दिनमा आइतबार सुझावसहितको प्रतिवेदन बुझाएको हो ।

समूहका सदस्य एवम् नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष डा. महेन्द्र विष्टले नेपाली पत्रकारिताका नयाँ आयाम, सामाजिक सञ्जाल, पुराना र नयाँ सञ्चार माध्यमको नियमनलगायतका विषयमा विस्तृत सुझाव दिइएको प्रष्ट पार्नुभयो । सूचीकृत भएर तथा नभइ सञ्चालनमा रहेका अनलाइनका विषयमा काउन्सिलले गरिरहेको अभ्यास, पत्रकार आचारसंहिता, हाल भइरहेको नियमनको कार्यालय लगायतमा कानुनी र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा सुझाव दिइएको बताउनुभयो । 

यस्तै, विज्ञ तारानाथ दाहालले प्रतिवेदनको सुझावका आधारमा काउन्सिलले तत्काल सुधारसहितको कार्य थाल्ने विश्वास व्यक्त गर्नुभयो । विज्ञ बबिता बस्नेतले चुनौतिका रूपमा रहेको अनलाइन र युट्युबका नयाँ विषयमा प्रतिवेदनमा समेटिएको चर्चा गर्नुभयो । 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले विज्ञको सुझाव काउन्सिल र नेपाल पत्रकार महासङ्घलगायत सबैखाले सञ्चारमाध्यम र नागरिकका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । प्रतिवेदन ग्रहण गर्दै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले आवश्यकता महशुस गरेरै विज्ञ समूहलाई जिम्मेवारी दिइएको उल्लेख गर्दै सुझावको अनुशरण र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सञ्चार क्षेत्रको नयाँ चुनौती र अभिव्यक्ति स्वतन्त्रतालाई कानुनअनुसार सुरक्षित गर्ने विषयमा प्रतिवेदनको सुझावलाई कार्यान्वयनमा लैजाने उहाँको भनाइ थियो । काउन्सिलको सभाहलमा भएको प्रतिवेदन हस्तान्तरण कार्यक्रमको सहजीकरण काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले गर्नुभयो । 

काउन्सिलले यही असार १९ गते वरिष्ठ पत्रकारहरू तारानाथ दाहाल, डा. महेन्द्र विष्ट र बबिता बस्नेतलाई सुझावसहितको प्रतिवेदन दिन जिम्मेवारी दिएको थियो । दाहाल र विष्ट नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष हुनुहुन्छ भने बस्नेत सञ्चारिका समूहकी पूर्व अध्यक्ष हुनुहुन्छ ।