• १३ मंसिर २०८१, बिहिबार

भलिबलका कप्तान थापा बर्खास्त

blog

काठमाडौं, असार ३१ गते । नेपाल भलिबल सङ्घले राष्ट्रिय पुरुष भलिबल टोलीका कप्तान हरिहजुर थापालाई कप्तानबाट बर्खास्त गरेको छ ।

सातौँ प्रधानमन्त्री एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको दौरानमा विभागी टोली त्रिभुवन आर्मी क्बलबाट खेल्नुभएका थापाले गण्डकी प्रदेशविरुद्धको खेलमा अनशासनहिन काम गरेको भन्दै कप्तानबाट बर्खास्त गरिएको सङ्घले जनाएको छ ।

गण्डकीविरुद्धको खेलमा आर्मीका खेलाडीले दर्शकलाई कुटपिट गरेका थिए । थापा एक महिनाअघि मात्र राष्ट्रिय टोलीको कप्तान बन्नुभएको थियो । कीर्गिस्तानमा भएको काभा नेसन्स लिगदेखि उहाँले नेपाली टोलीको नेतृत्व गर्नुभएको थियो । काभा नेसन्स लिगमा नेपालले खेलेको ६ वटै खेलमा हार खेपेको थियो । 

सोमबार गण्डकीविरुद्धको खेलमा आर्मीका खेलाडीले दर्शकलाई कुपिट गरेपछि सङ्घले रोशन श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति समेत गठन गरेको थियो । छानबिन समितिको सिफारिसको आधारमा भलिबल सङ्घले थापालाई कप्तानबाट हटाउनुका साथै दर्शक कुट्ने त्रिभुवन आर्मी क्लबका तीन खेलाडीहरु धनबहादुर भट्टलाई ६ महिना तथा राजेन्द्र विष्ट र धनपती कुँवरलाई तीन महिना प्रतिबन्धको कारबाही पनि गरेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद् (राखेप) कभर्डहल शनिबार सम्पन्न राष्ट्रिय क्लब लिगमा आर्मी तेस्रो भएको थियो । लिगको उपाधि टिप टप हेल्प नेपालले जितेको थियो । नेपाल पुलिस क्लब तेस्रो भएको थियो । महिलाततर्फको उपाधि भने नेपाल पुलिस क्लबले जितेको थियो ।